
कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दरखास्त
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदैछ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको हो ।
कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ । यस निर्वाचनका मतदाता भनेका पार्टीका प्रतिनिधिसभाका सदस्य हुन् । यस निर्वाचनको मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।
समितिले उम्मेदवारको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको छ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ । मतदान समाप्त भएपश्चात मतगणना र निर्वाचन परिणामको घोषणा हुनेछ । ...