Friday, April 26
Shadow

देशभक्त दीर्घराज प्रसाईंको नजरमा “भानुभक्त “


  • -इ
  • इ+

दीर्घराज प्रसाई/आदिकवि भानुभक्त नेपालीहरुको स्मरणीय विभूति हुन् । आज असार २९ गते आदिकवि भानुभक्तप्रति हामी नेपालीहरु जो जहाँ छौं, श्रद्धाञ्जली अर्पण गरौं !

२०७९ साल असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ती हो । आदिकवि भानुभक्त आचार्यको जन्म विक्रम संवत् १८७१ अषाड २९ गते तनहुँको रम्बामा आइतबार भएको थियो । उनको स्वर्गारोहण विक्रम संवत् १९२५ असोजमा भयो । नेपालमा भानुभक्तको नाम नेपालको राष्ट्रिय एकतातसँग आवद्ध छ । भाषीक हिसावले मात्र होइन विश्वभरमा छरिएर रहेका नेपालीहरुको लागि उनी एकताका प्रेरणा बनेका छन् ।

बाल्मिकि रामायणलाई भानुभक्तले नेपाली भाषामा छन्दमय पद्येमा अनुवाद गरेर नेपाली जनमानसलाई श्लोकमय बनाउन सकेका थिए । बाल्मिकि संस्कृत भाषाका आदिकवि हुन् । बाल्मिकि रामायण अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवि बन्न पुगे । बाल्मिकिले नेपालको चितौन जिल्लाको दक्षिणतर्फ नारायण नदीको किनारमा आश्रम कायम गरेका थिए । त्यही ठाउँमा रामले सीतालाई त्यागेपछि सीताले आश्रय लिएकी थिइन् । त्यही ठाउँमा लवकुशको जन्म भएको थियो ।

‘मानिसाद प्रतिष्ठात्गमय शास्वस्ती समा, यादकौंच मिथुनादेकः ममधि काम मोहितम् ।’ यो संस्कृत साहित्यको पहिलो कविता हो । बाल्मिकि आश्रमको किनारमा सोना र तमोसा नदीमा नुहाउन जादा एक ब्याधाले चलिरहेका एक जोडी बाजलाई काँडले हानेर घायल बनाएपछि त्यो विह्वल दृष्यबाट बिष्फोटित बनेर करुणरसमय श्लोक बाल्मिकिमा प्रस्फुटित हुन गयो र त्यही श्लोक प्रस्फुटित भएपछि बाल्मिकिले रामायण लेखे । बाल्मिकि ऋषि बने । बाल्मिकिले रामायणका केही भाग भक्तपुरको हनुमानघाटमा बसेर लेखेका थिए भन्ने प्रमाणहरु पनि धेरै जुटेका छन् । भक्तपुरको हनुमानघाट सानो छ, राम, सीता, लक्ष्मणको अखण्ड दीप प्रज्यलीत हुमानघाट एउटा पवित्र धाम नैं हो । यसको चियोचर्चा नभएकाले हनुमानघाट जस्तो पौराणिक स्थल अपरिचित हुन पुगेको हो ।

केहीबर्ष अगाडि मात्र हनुमानघाट अध्ययन–भ्रमणको मौका मिल्यो । तर २०३७ सालमा बाल्मिकि आश्रमको अध्ययन भ्रमण गर्दा मलाई अत्यन्त गौरव महसुस भयो । यी दुबै बाल्मिकिका कर्मक्षेत्र हुन् । बाल्मिकि आश्रम र हनुमानघाटलाई अन्तराष्ट्रिय धामको रुपमा सरकारले विकास गरेर विश्वब्यापी बनाउनु पर्छ ।

बाल्मिकि आश्रम र हनुमानघाटलाई अन्तराष्ट्रियकरण गर्न सकियो भने नेपालको ठूलो प्रतिष्ठा कायम हुन्छ । नेपालीभूमिमा रहेर रामायणलाई संस्कृत र नेपाली भाषामा यी दुई महारथी बालिमकि र भानुभक्तले लेखेर नेपालको प्रतिष्ठा बढेकोमा हामी नेपालीहरु गैरवान्वीत छौं । ‘चपला अवलाहरु एक सुरमा, गुनकेसरिको फूल ली शिरमा । रिस राग कपट् छल छैन जाहाँ, तव धर्म कति छ कति छ याहाँ । पशुका पति छन् रखवारि गरी, शिवकी पुरी कान्तिपुरी नगरी ।’ कान्तिपुर देखेर भानुभक्तले मोहीत भएर लेखिएको कविता हो यो ।

भानुभक्तका कविता प्राकृतिक सिर्जनात्मक नेपाली राष्ट्रवादसँग गाँसिएका छन् । भानुभक्तले दुर्गा कवच, रुद्री,अमरकोष, लघुकौमुदीको राम्रो अध्ययन गरेका थिए । उनलाई विद्याउपार्जन गराउनमा उनका पितामह श्रीकृष्ण आचार्यबाट प्राप्त भएको र ती गन्थहरु भनुभक्तले राम्ररी अध्ययन गर्न सकेकाले बाल्मिकि रामायण अध्ययन गर्नमा उनलाई सजिलो हुन गयो ।

अध्ययन नगरी कोही पनि स्रष्टा बन्न सक्तैन । उनको मिहेनतको प्रतिफल नेपालले भानुभक्तबाट रामायण पायो । भानुभक्तले नेपाली भाषामा रामगीता, बधु शिक्षा जस्ता कैयौं काव्यहरुको रचना गरेर नेपाली समाजलाई सिर्जनात्मक बाटो देखाएको थिए । भानुभक्त संझदा मोतीराम भट्टको नाम पनि सँघसघै आउछ । भानुभक्तका कीर्तिहरुलाई ब्यापक प्रचार गर्नमा उनको ठूलो देन छ । भानुभक्त कवितात्मक सिर्जनाका धनी थिए ।

भानुभक्तलाई कसैले ‘तपाई को हो भनेर सोध्दा भानुभक्तले कविताबाटै जवाफ दिएका थिए– ‘पहाडको अति बेस देश तनहुँमा श्रीकृष्ण आचार्य थिया । खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन्दिया ।। विद्यामा पनि जो धुन्धर भई शिक्षा मलाई दिया । इन्को नाति म भानुभक्त भनि यो जानी चिन्ही लिया ।।’ यसबाट थाहा हुन्छ भानुभक्त एक सहज कवि थिए ।

मोतीराम भट्टले भानुभक्त बारेमा लेखेका थिए–‘धेरै नामका कवि भानुभक्त भन्दा पहिले भए तर कविताको मर्म जानी भाषा पद्ये लेख्ने कविहरुमा आधिकवि भानुभक्त नैं हुन् । इनको जन्मस्थल तनहुँ देशका चुँदीबेसीको रम्घा ना गरेको गाउँ हो । कवि भानुभक्ताचार्य सहज कवि थिए । अर्काका करमा कहिल्यै पनि बसेनन् । जस्ता भानुभक्तका सरल कविता छन् उस्तै इनको नाम पनि प्यारो छ । संसारमा जन्म लिइकन आफ्नो नाम राखेन भने त्यस पुरुषले जन्मेको के सार ?’ त्यसैले भानुभक्तको नामसँग कवि मोतीराम भट्टको नाम जाडिन्छ । मोतीराम भट्ट पनि नेपाली साहित्यको जग हुन् । उनले लेखेका थिए– ‘न्याय गर्नमा निसाफ नपाए गोर्खा जानु भन्ने उखानैं छ । यसै औसरमा म पनि श्री ५ गोर्खा सरकारको यश कीर्तिलाई धन्य भनी एक श्लोक लेख्दछु– ‘अचल झण्डा फर्रोस् फरफर गरी कान्तिपुरीमा । रिपुको मन थकोस् थरथर गरी छीन घरिमा ।। यमनले राज् गर्दा कति पतीत हिन्दुस्थल भयो । फगत यो नेपालको मुलुक कञ्चन रहिगयो ।’

भानुभक्तको सम्माथार्थ प्रवासी नेपालीहरुले दार्जिलिङ्गको चौरास्तामा भानुभक्तको शालीक बडो सम्मानकासाथ राखिएको थियो । गोर्खाल्याण्ड आन्दोलनको बेला नेपाल बिरोधी उछृड्कल तत्वले भानुभक्तको शालीक ढालेका थिए । शालीक ढालिएको केहीबर्षपछि म, मेरी श्रीमती सानुबाबा, भाइ भरत र मेरी छोरी टीष्टा दार्जिलिङ्ग घूम्न गयौं । छोरीको नाम टीष्टा नदीसँग जोडिएकाले टीष्टालाइृ टीष्टा नदी पुग्न रहर थियो । टीष्टा नदीको दर्शन र सिक्किमको अध्ययन भ्रमणको लागि २०५२ साल असोज महीनामा हिड्यौं । दार्जिलिङ्ग पुगेर वरिष्ट लेखक राजनारायण प्रधान र कवि तथा साहित्यकार गुमानसिंह चाम्लिडसँग भेट्ने इच्छा थियौं, भेटयौं ।

राजनारायण प्रधानले मलाई आठराई, चुहान्डाडाको वीरेन्द्र इन्टर कलेजमा आई.ए. पढाउनु भएको र त्यसको अलवा उहाँले मलाई धेरै ज्ञान दिलाउनु भएकाले मेरा गुरुहरु मध्येमा म उहाँ अत्यन्त सम्मानीत हुनुहुन्छ । त्यस्तै गुमाडसिंह चाम्लिडसँग मेरो पहिलादेखिको राम्रो सवन्ध थियो । उहाँलाई मैले मेरो डेरा काठमाण्डौंको क्षेत्रपाटीमा २०२४ सालतिर खाना खुवाएको छु । उहाँलाई मैले आठराईको राम्रो खुकुरी उपहार वीर गोर्खाको स्मरण गराएको थियो । चाम्लिडजी नेपाली साहित्यका अगुवा स्रष्टाको रुपमा परिचित एक व्यक्तित्व हुन् । उहाँसँग पनि भेट भयो । उहाँहरुलाई भेटेपछि अरु केही पुराना साथीहरुको पनि खोजी भयो तर भेट्न सकिएन ।

तर दुःखको कुरा चाम्लिडज्यूको केही बर्षपछि देहान्त भएछ । त्यसपछि हामीहरु दार्जिलिङ्ग धुम्नमा लाग्यौं । चौरस्तामा पुगेपछि भानुभक्तको शालीक ढालेको देख्दा हामी सबैको मन रोयो । थाहा थिएन त्यसरी भत्काएको कुरा ।

केहीबर्षपछि दार्जिलिङ्गको चौरास्तामा नैं भानुभक्तको पूर्णकदको शालीक निर्माण भएको कुरा प्रत्रपत्रिकामा छापिएपछि खुसियाली मनाइयो । धन्य छन् दार्जिलिङ्गका नेपालीभाषी स्रष्टाहरु जस्ले नेपाली भाषाको प्रतिष्ठाका लागि सगौरव भानुभक्तको शालीक उभ्याएर देखाएका थिए । चारबर्ष अगाडि भारतका राष्ट्रपति प्रणव मुखर्जी, पश्चिम बंगालका गभर्नर केंएन.त्रिपाठी, पश्चिम बंगालका मूख्य मंत्री ममता बनर्जीले आदिकवि भानुभक्तको दार्जिलिङ्क चोकमा आदिकवि भानुभक्तको शालीकमा पुष्पमाला अर्पण गरी भानुभक्तलाई ठूलो मान्यता गरेका थिए । यो दार्जिलिङ्क, आसाम लगायत भारतीय नेपाली भाषीहरुको मात्र खुसीको कुरा नभएर सम्पूर्ण नेपालीहरुको लागि पनि गौरवको कुरा हो ।

त्यस्तै सिक्किमका मुख्यमंत्री प्रेमसिंह तामाङले नेपाली भाषामा सपथ लिएर नेपाली भाषाको सम्मान गरका थिए । पहिचानको लडाईमा सिक्किमकी एक बिरङ्गना नरबहादुर भण्डारकी श्रीमती दीलकुमारी भण्डारीले भारतको संसदबाट नेपाली भाषालाई भारतको सरकारी लेखापढीको भाषाको रुपमा राख्ने अभियानमा सफलता हासिल गरेकी थिएन् । त्यस्तै सिक्किममा नेपाली भाषालाई सिक्किम राज्यको सम्पर्क भाषाको रुपमा अनिर्वार्य पाठयक्र्र्रमकोरुपमा घोषित गरिएको छ ।

नेपाल अधिराज्यभरी नेपाली भाषा सबै भाषाभाषीहरुकाबीचमा सम्पर्क कायम गर्न सजिलो र लोकप्रिय हुनसकेकाले राष्ट्रभाषाको रुपमा सबै जातका नेपालीहरुको प्रतिष्ठा र पहिचानको स्रोत बनिरहेको अवस्थामा भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपालका जातीय तथा स्थानीय भाषाभाषीहरुका पनि प्रिय बन्न सके । विशाल नेपालको एकीकरण हुनुभन्दा धेरैबर्ष अगाडिदेखि नेपाली भाषा पूर्वमा ब्रम्हपुत्र र पश्चिममा काश्मिरसम्म प्रचलित भइसकेको थियो । वि.सं.१३८२सम्ममा किरातक्षेत्रमा पनि नेपाली भाषाको चल्ती थियो भन्ने संकेत सिमरौनगढका राजा हरिसिंह देवका पण्डितज्योतिरीश्वरको मैथिति कृति ‘वर्णरत्नाकर’ बाट जाहेर हुन्छ भन्दै भाषाविद् बालकृष्ण पोखरेलले लेखेका छन् । त्यस्तै भानुभक्त पोखरेल लेख्छन्–‘नेपाल एकीकरण हुनुभन्दा पाँच–सातसय बर्ष अघिदेखि नै यसभूभागका राजा–रजौटाहरुकाले परम्परा पत्राचार,संधि संझौता गर्ने तत्कालीन अन्तर्राज्यीय भाषा नेपाली नै थियो ।

नेपाल एकीकरण अभियानमा-
पृथ्वीनारायण शाहले बाइसी, चौबिसे,लिम्बुवान,खम्बुहाङ,आदिका अपुङ्गी टुक्रे राजाहरुसित व्यवहार गर्ने भाषा पनि नेपालीनै थियो ।’ पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि कान्तिपुका राजा लक्ष्मीनरसिंह मल्ल र उनका छोरा प्रतापमल्लको समयमा नेपाली भाषा प्रयोग भएका प्रसस्त अभिलेखहरु पाइन्छन् । जगतप्रकाश मल्ल, भूपतेन्द्र मल्ल, भास्कर मल्ल र जयप्रकाश मल्ल्ले पनि पनि नेपाली भाषामा लेखापढी गरेका थुपै प्रमाणहरु छन् । यसरी नेपाली भाषा हिमवतखण्डका स–साना राज्यहरुमा केही मात्रामा चलनचल्तीमा आइसकेकाले र हिमवतखण्डमा सबै हिन्दु राज्यहरु भएकाले नेपालको राष्ट्रिय एकीकरणमा धेरै सजिलो हुन सकेको थियो ।

नेपाल विभिन्न जाति, भेषभूषा, भाषभाषीहरुको थलो हो । यहाँ जम्माजम्मी १२४ भाषाहरु छन् । ती मध्ये ४०।५० भाषाहरु विकसित अवस्थामा छन् । मैथिली, भोजपुरी,अवधि, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, थारु, राजबेशी, लिम्बु, राई, नेवार, थकाली, सुनुवार, सतार, उर्दू भाषा आदि भाषा आआफ्नो समुदायमा लोकप्रिय छ । भाषाको हिसाबले नेपाल धेरै धनी छ । खुल्ला सीमानाको कारणले हिन्दी भाषा कही कतै बोल्ने गरिन्छ । तर तराईका मूलबासीको भाषा हिन्दी होइन । यसोभन्दैमा सबै स्थानीय भाषाहरुलाई सरकारी भाषामा स्थापित गर्नखोज्नु द्वन्द निम्त्याउनु सरह्र हुन्छ । नेपाली भाषा र साहित्यलाई विश्वब्यापी बनाउनमा दार्जेलिङ्ग तथा सिक्किमको ठूलो देन छ । दार्जेलिङ्गको चौरास्तामा पारसमणि प्रधानको प्यत्नमा आदिकवि भानुभक्त आचार्यको शालकि उभ्याइउको थियो ।

नेपाली भाषा बारेमा दार्जेलिङ्गका विद्वान पारसमणि प्रधानले भनेका थिए– ‘नेपाली भाषा कुनै निश्चित जात वा जातिको भाषा होइन । यसलाई बाहुन, क्षेत्री लगायत गरुङ,मगर, राई, लिम्बु, नेवार, तामाङ’ आदि जातले आआफ्नो बोली छँदाछँदै पनि नेपाली भाषालाई मात्रृभाषा भनी अपनाएका छन् । यसो गर्नाले एउटा विशाल नेपाली जातिको सृष्टि भएको छ । कुनै जातका मानिसले आफ्नो जातीय बोली बिर्सनैं पर्छ भन्ने केही छैन । तर, नेपाली भाषा हाम्रो होइन भनेर बिभिन्न नेपाली जातिले संघर्षका निम्ति संघर्ष गर्न थाले भने न उनीहरु आफै उभिन सक्छन् न अरुलाई उभिन दिन्छन् । पहिलेको खस बोली खसभाषामा परिणत भएर गोर्खा वा गोर्खाली भाषा हुन पुगेको र अहिले तमाम नेपाली जातिको भाषा हुनपुगेकोछ ।’ भानुभक्त नेपाल र विश्वभरका नेपाली भाषीहरुको लागि प्रेरक हुन् । आदिकवि भानुभक्त नेपाली समाजमा अजर अमर छन् ।
‘चपला अवलाहरु एक सुरमा,
गुकेसरिको फूल ली शिरमा ।
रिस राग कपट् छल छैन जाहाँ,
तव धर्म कति छ कति छ याहाँ ।
पशुका पति छन् रखवारि गरी,
शिवकी पुरी कान्तिपुरी नगरी ।’–आदिकवि भानुभक्त

सायद 1 व्यक्ति तथा  घरबाहिर को तस्बिर हुनसक्छ

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares