Thursday, June 20
Shadow

अब घरेलु रक्सीलाई ‘ब्रान्डेड’ गर्नुपर्छ – रजमान तामाङ


  • -इ
  • इ+

रजमान तामाङ 

नेपालमा परम्परागत जाँडरक्सी उत्पादनको सुरुवात कहिले भयो, यकिन छैन । नेपालीले अन्न, मौवा, फलफुल आदिको जाँडरक्सी युगौंदेखि बनाउँदै आएका छन् । तर यसलाई देशको ’ब्रान्डेड’कै रूपमा स्थापित गर्नुपर्ने बहस यस क्षेत्रका अध्येता र पोषणविद्हरूले सुरु गरेका छन् ।

जाँडरक्सीका लागि विशेष किसिमका झार र जडिबुटी प्रयोग गरेर मर्चा बनाउने गरिन्छ र कतिपय अवस्थामा त त्यो
घरायसी औषधिका रुपमा समेत प्रयोग हुन्छ । तथापी परम्परागत जाँडरक्सीको गुणस्तरबारे धेरैतिर प्रश्न छ ।

पुरानो अन्न कोदोबाट बन्ने जाँडरक्सी नेपालको प्रमुख र परम्परागत पेय मानिएकोले समुदाय तहमा यही नै बढी प्रयोग हुने यस क्षेत्रका अध्ययता एवम् ‘बलियो नेपाल पोषण अभियान’का सिईओ डा. अतुल उपाध्याय बताउँछन् ।

बियर बनाउन पनि जौपछि कोदोबाटै उत्तम माल्ट तयार हुन्छ । उपाध्यायका अनुसार कोदोमा ’ग्लुटेन’ नभएकाले ’ग्लुटेन एलर्जी’ हुनेहरुका लागि यो अनुकूल पेय हो ।

विभिन्न देशले आफ्ना परम्परागत जाँडरक्सीको उत्पादनलाई बढावा दिने र बजारीकरण गर्नेमा भरपुर ध्यान दिएका छन् । जस्तो कि, कोरियामा म्याकगियोली (छ्यांग), अफ्रिकामा सोरगम बियर, जापानमा साके, भारतमा फेनी र मेक्सीकोमा तकिला जस्ता परम्परागत उत्पादनलाई बजारीकरण गरिएको छ । र, लोकप्रिय समेत बनाइएको छ ।

नेपालमा पनि, जाँडरक्सीको गुणस्तरीय सामुदायिक एवम् ‘ब्रान्डेड’ उत्पादनलाई प्रोत्साहन गर्ने हो भने अर्थतन्त्रमा यसले विशेष टेवा दिनसक्छ । उत्पादनको संगठित प्रणाली बनाएर, यसमा महिला श्रमलाई अझ प्राथमिकता दिन सके मर्चा संकलन र जाँडरक्सी उत्पादन एवम् आत्मनिर्भरता ह्वात्तै बढ्नेछ । आयातित मादकपदार्थ सेवनमा धेरै अंकुस लाग्नेछ । पेयका नाममा वार्षिक अर्बौं विदेश पलायन हुने रकमको संचितीमा बढोत्तरी हुनेछ ।

परम्परागत जाँडरक्सीको गुणस्तर परीक्षण, ’टाइमिङ’, प्याकेजिङ र वितरणको प्रबन्धलाई संस्थागत गर्नसके
उत्पादन तरिकाको समेत बैज्ञानिकीकरण हुनेछ र उत्पादनले स्वतः बजारीकरण हुन पाउनेछ । यसलाई ’हेरिटेज’ र ’कल्चरल ड्रिंक’को रुपमा लैजान सकिनेछ ।

डा. उपाध्याय सामाजिक संजाल र सबै प्रसार साधन प्रयोग गरेर आफ्नै पेयको महत्व स्थापित गर्नसक्दा राष्ट्रिय÷सामुदायिक आत्मनिर्भर अर्थतन्त्रमा यो कोशेढुंगा हुनसक्ने बताउँछन् । हिमाली क्षेत्रको उत्पादनलाई अझ प्राथमिकता दिनसके यसले देशव्यापी र अन्तराष्ट्रमा समेत गुणात्मक अर्थ राख्ने अर्का पोषणविद् प्रद्युम्न दाहाल बताउँछन् ।

भारतमा मौवाको रक्सीलाई ’ब्रान्डेड’ गरिएको छ । विशेषगरी भारतको मध्यक्षेत्रमा हेरिटेज पेय पदार्थका रुपमा यो बेचिन्छ । भारत सरकारले यसको मापदण्डबारे कानुनी प्रावधान लिष्टमा राखेको छ ।

कानुनी प्रावधानमा ४० प्रतिशत ‘अल्कोहल’ भएको पेयलाई रक्सी(ह्वीस्की) मानिएको छ । तर, परम्परागत रक्सीमा २० प्रतिशतभन्दा बढी ’अल्कोहल’ हुनै सक्तैन ।

त्यसैले परम्परागत पेयलाई विदेशी ब्राण्डको नियममा राखिनु हुँदैन भन्ने मान्यता पोषणविद् दाहाल राक्छन् ।
कोदो, अन्न, फलफुल वा मौवाको उत्पादन बढाउँदा र यसबाट खपतयोग्य जाँडरक्सी निर्माण गर्दा अन्ततः किसानलाई नै फाइदा हुन्छ ।

तर, उक्त पेयको उत्पादन अधिकार, उत्पादनको दायरा र गुणस्तर मापन गर्ने प्रयोगशाला भने प्रदेश र स्थानीय तह अन्तर्गत नै हुनुपर्छ ।

गण्डकी प्रदेशको पोखरामा केही महिना अगाडि सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्रीस्तरीय वैठकले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्रमा पनि यो सन्दर्भ आएको छ । यसको १६ नम्बर बुँदामा भनिएको छ,
‘स्थानीय कच्चा पदार्थमा आधारित मदिरा उत्पादन र ब्राण्डिङ गर्ने अधिकार प्रदेशलाई दिइयोस् ।’

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares