Tuesday, March 19
Shadow

बैठक निष्कर्ष बिहिन , देउवा र प्रचण्डको पहिलो प्रधानमन्त्री आफै हुनुपर्ने

काठमाडौं । सत्ता गठबन्धनबीच नयाँ सरकार गठनको विषयमा अझै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको छलफलमा पनि नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न नसकेको हो।

गठबन्धन दलहरुबीच आज फेरि छलफल गर्ने तयारी छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिएका छन् भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।

गठबन्धनको बैठकबाट प्रधानमन्त्रीको टुङ्गो लाग्ने नेताहरुको भनाइ छ । प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो पक्षमा रहेको भन्दै पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने अडान राख्दै आएका छन् । गठबन्धनबाट नभए एमालेसँग मिलेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रचण्डको तयारी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न भोलिसम्मको समय दिएकी छिन् । बहुमत पुर्याउने दलले भोलि बेलुकी ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ । धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६ को २ बमोजिम राष्ट्रपतिले आह्वान गरेकी हुन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याउन १ सय ३८ सिट चाहिन्छ । कांग्रेस र एमालेबाहेक कुनै पनि दुई दल मिल्दा बहुमत पुग्ने अवस्था छैन । कांग्रेसले ८९, एमालेले ७८ सिट जितेका छन् भने माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, लोसपाको ४, नागरिक उन्मुक्तिको ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाको १, १ सिट छ । स्वतन्त्रले ५ सिट जितेका छन् ।