Thursday, June 13
Shadow

माओवादी केन्द्रमा दास मानसिकताको बिकास हुदै आलोचनात्मक चेत मर्दै – महेश्वर दाहाल


  • -इ
  • इ+

– महेश्वर दाहाल

मुलुक कतिपय आर्थिक र सामाजिक समस्याहरूबाट गुज्रिरहेको परिस्थितिलाई भड्काएर ‘शोकको बेला भित्तो फोर्ने नीति’ बोकेकाहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने मात्र होइन राजनीतिक प्रणालीलाई नै सिध्याउने दाउमा लागिरहेका छन् । धार्मिक वा जुनकुनै आवरणमा सामाजिक सद्भाव भड्काउने र समुदायलाई आपसमा भिडाएर सिंगो मुलुकलाई अराजकतातिर धकेल्ने दिवास्वप्न देख्नेहरु उत्साहित रहेको पछिल्लो समयमा प्रचण्ड नेतृत्वको सरकारको जिम्मेवारी अरु बढेको छ र सँगै अग्निपरीक्षा समेत सुरु भएको छ ।

त्यसो त प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध अभियान सुरु गर्दै यसलाई निष्कर्षमा पुर्‍याउन इमानदार प्रयत्न गर्नुभएको छ । तर, अभियोजन पेस गर्ने चरणसम्म मुद्दा कमजोर भइसक्ने र अभियानलाई नै जबर्जस्त बदनाम बनाउने कतिपय भ्रष्ट आवरण भएकाहरूको सक्रियता जस्ता सन्दर्भहरूले उक्त अभियान विश्वसनीय बन्न सकिरहेको छैन । अभियान विश्वसनीय हुन नसक्दा त्यसले जनतामा उदासीनता पैदा गरेको छ । के विगतका सरकारहरुभन्दा यो सरकार भ्रष्ट हो त ? त्यो त कसैले मान्दैनन् । त्यसो भए यो अभियानमा खुलेर साथ र समर्थन किन भइरहेको छैन ? हो, सरकारका कतिपय मानिस भ्रष्ट पनि होलान् । तर, यसपटक भ्रष्टाचारको भण्डाफोर अभियान भने सशक्त भएको छ ।

प्रधानमन्त्रीको यो सकारात्मक अभियानले मात्रै सरकारको विश्वसनीयता जोगाउन कठिन भइरहेको छ । आफैं भ्रष्टाचार नगर्ने तर भ्रष्टको छत्रछायाप्रति निरीह बन्ने इमान्दार नेतालाई पनि मानिसले मान्न छाडिसकेका छन् । राजनीतिक भ्रष्टाचारविरुद्धको जनआक्रोसले व्यवस्थाप्रति नै अविश्वास बढाउदै लगेको छ । भ्रष्टाचारको मुद्दामा आन्दोलन गर्नसक्ने नैतिक बल स्थापित पुराना राजनीतिक शक्तिमा छैन । राजनीतिक परिवर्तनको सशक्त संघर्षबाट स्थापित राजनीतिक शक्ति नै समस्याको सम्पूर्ण जड हुन् भन्ने भाष्य निर्माण गरिएको छ । पुराना पार्टीका सबै राजनीतिक नेतालाई वेइमान भनेर बदनाम गरिएको छ । तर, भ्रष्ट र गलत क्रियाकलापमा उत्तिकै संलग्न सरकारी उच्च अधिकारी, व्यापारी र पेशागत क्षेत्रकाहरू पानीमाथिको ओभानो तथा सदाचारी देखिएका छन् ।

भ्रष्टाचारको विरुद्धको यस्तै अभियान यदि भर्खरै उदाएका राजनीतिक पार्टी वा गैरराजनीतिक शक्तिले चलाएका हुन्थे भने जनताको ठूलो सहानुभूति, समर्थन र सहभागिता हुन्थ्यो । तर, ठूलठूला संघर्ष र वलिदानबाट निर्माण भएका पार्टीहरुप्रति आमजनताको यति ठूलो अविश्वासले राम्रो संकेत गरेको छैन । यसले व्यवस्था र परिवर्तनकै विकल्पको आधार निर्माण भइरहेको दर्शाउँछ । सामाजिक सञ्जाल र अधिकांश परम्परागत मिडियाले पनि वैकल्पिक राजनीतिक शक्ति र व्यवस्थाका लागि मलजल गरिरहेका छन् । तर, संघर्ष र बलिदानबाट आएका दलहरूले आफ्ना भूमिकाको मिहिन समीक्षा गरेर र सच्चरित्रताको व्यवहारमै पुष्टि गरेर अगाडि बढ्नुको कुनै विकल्प छैन ।

सबैजसो पुराना पार्टीहरुले जनतामा विश्वास फर्काउने प्रयास गरिरहेकै छन् । यसै मेसोमा माओवादी केन्द्रले पनि भदौ १६ गतेदेखि ‘घरघरमा माओवादी विशेष रुपान्तरण अभियान’ चलाइरहेको छ । यसले जनतामा केही आशा त जगाएको छ । तर, जनतामा यस पार्टीप्रति पनि धेरै विश्वास टुटेको अवस्था छ । यद्यपि समकालीन राजनीतिमा ठूलो वलिदानीपूर्ण संघर्षबाट स्थापित माओवादी केन्द्र इमान्दार भएर लाग्दा मात्र जनताको अवस्था बदल्न सक्ने ल्याकत राख्न सक्छ ।

समाजवादका लागि आजको ठोस कार्यक्रम के हुनसक्छ ? कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, यातायात जस्ता जनताका दैनिक र दीर्घकालीन सरोकारका मुद्दाबारे कस्तो कार्यक्रम बनाउने ? विकराल बनेको वेरोजगारी समस्यालाई ती कार्यक्रममार्फत कसरी सम्बोधन गर्ने ? यो तीन महिने अभियानका क्रममा माओवादी केन्द्रले जनतालाई विश्वास दिलाउन सक्नुपर्छ । संघमा जस्तै प्रदेश र स्थानीय तहमा समेत भ्रष्टाचारविरुद्ध सुशासन एवम् सामाजिक न्यायको पक्षमा अभियान चलाउन सक्नुपर्छ । पार्टीका कतिपय प्रदेशका मन्त्री र स्थानीय तहका पदाधिकारीको गतिविधि र कामबारे समेत नकारात्मक प्रतिक्रिया आएका छन् ।

जनताको निकटको तख्ता मानिएको स्थानीय तहमा माओवादी केन्द्रको एक सय २० वटामा त प्रमुख नेतृत्व नै छन् । यो सानो संख्या होइन । तर, ती सबैजसो धागो छिनेका चङ्गा झैं स्वतन्त्र जस्तै छन् । अधिकांश ठाउँमा पार्टीको कमाण्डमा छैनन् । स्थानीय तहमा सिंहदरवार पुर्‍याउन माओवादी केन्द्रले मुख्य भूमिका त खेल्यो तर माओवादी केन्द्रकै धेरै जनप्रतिनिधिहरु जनसेवकभन्दा शासक बनेको अवस्था छ । जनताका प्राथमिकता र आधारभूत विषयमा भन्दा सिंहदरवारको देखासिकीमा भौतिक संरचना बनाउने तथा फजुल खर्च गर्ने होड नै चलेको छ, जुन खर्च अस्पताल, विद्यालय, कृषि, साना-मध्यम उद्योग लगायतमा लगानी गर्न सकिन्थ्यो । रोजगारी सिर्जना गर्न सकिन्थ्यो ।

माओवादी केन्द्रले जितेका धेरै ठाउँलाई मोडलको रुपमा लैजान नसक्दा आधारभूत जनतामा ठूलो असन्तुष्टि र आक्रोस बढेको छ । केही ठाउँमा भने जनतामा विश्वास जगाउने गरी काम पनि भएका छन् । त्यस्ता ठाउँको जनसमर्थन र लहर माओवादी केन्द्रको पक्षमा नै बढेको छ । जस्तो कि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको केही सिर्जनशील, रचनात्मक र जनमुखी कामको पहल गरेर माओवादी केन्द्र थप सुदृढ भएको उदाहरण पेश गरेको छ । गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवाले एमाले र काँग्रेस मिलेर आए पनि अब एक्लै चुनाव जित्ने विश्वास दिलाउनुभयो । अभियानकै क्रममा गत हप्ता भएको त्यहाँको जनसभामा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गर्नेको लहरले उहाँको भनाइलाई नै पुष्टि गर्दछ ।

त्यसक्रममा नेपाली कांग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गर्नुभएका बालकृष्ण नेपालले अहिलेको राजनीतिक प्रणालीलाई बचाउन र जनताको जीवनस्तर माथि उठाउन सबै परिवर्तनका पक्षधरहरु माओवादी केन्द्रमा गोलबद्ध हुनुपर्ने धारणा राख्नुभएको थियो । यहाँ जस्तै यो व्यवस्थाको पक्षमा लडेकाहरुसँग एकता वा मोर्चा बनाएर आवश्यक पर्दा सडकमा जाने वातावरण माओवादी केन्द्रले जितेका सबै स्थानीय तहमा बनाउने हो भने आधार कमजोर बन्ने छैन । बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले माओवादीले जितेका हरिहरपुरगढी र मरिणमा नमूनाका रुपमा काम गर्नुपर्ने धारणा राख्दा सहभागीहरुको ध्यानाकर्षण भएको थियो । निकै उत्साहपूर्ण माहौल रहेको सो कार्यक्रममा देशमा १८ घण्टे लोडसेडिङ हटाउने कार्यका पहलकर्ता तत्कालीन ऊर्जामन्त्री, माओवादी केन्द्रका बागमती प्रदेशका इञ्चार्ज जनार्दन शर्माले माओवादी केन्द्र बलियो बन्दामात्र यो प्रणाली बच्छ र जनताको अवस्थामा गुणात्मक परिवर्तन हुन्छ भन्नुभएको थियो । स्थानीय तहका सरकारलाई व्यवस्थित ढंगले चलाउनका लागि केन्द्रबाट नै पहल नपुगेको स्वीकारोक्ति उहाँको थियो ।

केन्द्रबाट नै योजनाबद्ध पहल गरी माओवादी केन्द्रले स्थानीय तहलाई जनताको कामका लागि प्रेरित गर्नुपर्छ । हरिहरपुरगढी गाउँपालिकाले आफ्नै सीमाबाट केही सुरु त गरेको छ, तर यसलाई योजनाबद्ध र व्यवस्थित बनाउन विज्ञसमेतलाई जोडेर कृषि, उद्योग, शिक्षा, स्वास्थ्यका नमुना कार्यक्रमहरुमा केन्द्र, प्रदेश पार्टीले पहल बढाउन सक्नुपर्छ । अधिकांश ठाउँका स्थानीय तहमा नेका र एमालेभन्दा माओवादी केन्द्र फरक नभएको जनगुनासो देखिन्छ । माथिबाटै योजना नदिएसम्म, नभनेसम्म धेरै प्रदेश र स्थानीय तहका नेताहरुले रचनात्मक, सिर्जनात्मक काम नगरेको देखियो ।

माओवादी केन्द्र जस्तो क्रान्तिकारी पार्टीका नेताकार्यकर्ताहरू अकबर र बीरबलको कथामा जस्तै बीरबलको भूमिकामा देखिनु विडम्बना हो । मातहतका सबैलाई आलोचनात्मक चेतका साथ रचनात्मक र सिर्जनशील बनाउन पार्टीले जोड दिनैपर्छ । अकबर र बीरबलको कथाको सन्दर्भ यस्तो छ- अकबरले स्वास्थ्यका लागि करेलाको तरकारी राम्रो भएकाले यो दिनहुँ खादा के होला? भनेर सुझाव माग्दा बीरबलले ठीक हो, म पनि अब दिनहुँ खान्छु भने । आफूले सुझावको अपेक्षा गर्ने तर सधैं समर्थन मात्र गर्ने भएपछि बीरबललाई चेक गर्न अकबरले भने- धेरै तीतो भएकाले अबदेखि करेला नखाने कि? बीरबलले तुरुन्तै जवाफ दिए- हो म पनि यो खान्न, यस्तो तीतो खाँदा अरु खानालाई नमीठो पार्छ । सुझाव दिनेभन्दा समर्थन मात्रै गर्नुको कारण सोध्दा बीरबलले अकबरलाई जवाफ दिए- करेला लाभदायक हुनु र नहुनुमा के लिनु, दिनु ? म त हजुरको सेवक हो, करेलाको त होइन नि !

तर, राज्य र पार्टीको शुद्धीकरण अभियान सँगसँगै चलाइरहेको माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुमा भने बीरबलको ठीक विपरीत आलोचनात्मक चेतको विकास गराउनै पर्छ । त्यसो गर्न सकिएमा नै उपलब्धिको रक्षा र विकास माओवादी आन्दोलन र पार्टीबाट नै हुन्छ । जनताका कुरालाई सुनेर पार्टी र सरकारका कामलाई सुधार्न बल गर्नुपर्छ । औपचारिक कार्यक्रम थोरै तर अनौपचारिक भेटघाट धेरै, माला, खादा, अबिरमा होइन जनता र कार्यकर्ताभन्दा विशिष्ट नदेखिने ढाँचालाई आत्मसात गर्नुपर्छ ।

थुप्रै जिल्ला र स्थानीय तहमा पद तथा आर्थिक उत्प्रेरणालाई केन्द्र बनाएर स्वार्थपरक गुटबन्दी गर्नेहरूले अभियानमा जाने नयाँ नेता तथा कार्यकर्ताहरुप्रति सहयोगी भावना देखाएका छैनन् । आफ्ना गलत क्रियाकलापको पोल खुल्ला भन्ने भय उनीहरूमा देखिन्छ । गडबड गर्ने नेता तथा कार्यकर्ताहरुलाई रुपान्तरण गर्न बल गरिएन भने त्यसले पार्टीलाई धेरै ठूलो क्षति गर्नेछ । माओवादी केन्द्रसँग जनता विश्वस्त बन्ने बातावरण नबन्दासम्म अभियान निरन्तर गरिरहनु पर्छ । भनाइ र गराइमा अब पनि फरक भइरहने हो भने माओवादी केन्द्र थप कमजोर बन्नेछ । तसर्थ यो अभियान पार्टी संगठनका लागि जीवनमरणको लडाईं हो । प्रायश्चित गर्ने अवसर हो । आमजनतासम्म विश्वास नजगाउँदासम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले जति नै बल गरे पनि भ्रष्टाचारविरुद्ध र सुशासन अभियानमा जनताको साथ हुने देखिँदैन ।
(लेखक माओवादी केन्द्रका प्रचार तथा प्रकाशन विभागका सहइञ्चार्ज तथा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’का सिन्धुली जिल्ला प्रमुख हुन्)

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares