Sunday, April 28
Shadow

भारतकाे त्याे चर्चित कम्युन र नेपाली कम्युनिष्टकाे धनार्जन दाैड – केदार सिटौला


  • -इ
  • इ+

लेखक – केदार सिटौला

भारतमा अनेकौं कम्युनिस्ट पार्टी छन्। तीमध्ये एउटा कम्युनिस्ट पार्टी हो सोसलिस्ट युनिटी सेन्टर अफ इन्डिया, जसलाई छोटकरीमा एसयुसिआई पनि भन्ने गरिन्छ। यो पार्टीको स्थापना शिवदास घोसले सन् १९४८ मा गरेका थिए । एसयुसिआइले मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओ र शिवदास घोसको विचारलाई आफ्नो पार्टीको मार्गनिर्देशक सिद्धान्त मान्छ ।

भारतका अन्य कम्युनिस्ट पार्टीको तुलनामा यो पार्टी के अर्थमा फरक छ भने यसले भारतको राष्ट्रिय चरित्रलाई विश्लेषण गर्दै यसलाई एकाधिकारवादी र साम्राज्यवादी झुकाव भएको पुँजीवादी देश मान्छ र भारतमा सिधै समाजवादी क्रान्ति गर्नुपर्ने प्रस्ताव गर्छ । त्यसअनुसार यस पार्टीले सामाजवादी क्रान्तिको तयारीलाई आफ्नो प्रमुख कार्यनीति बनाएको छ । अर्कोतिर भारतका अन्य कम्युनिस्ट पार्टीहरु अझै पनि भारतलाई अर्ध सामन्ती र अर्ध औपनिवेशिक देश नै मान्छन्। अझै पनि भारतमा सिपिआईले राष्ट्रिय प्रजातान्त्रिक क्रान्ति, सिपिएमले जन प्रजातान्त्रिक क्रान्ति र नक्सलवादीहरुले नव जनवादी क्रान्तिको वकालत गर्छन् ।

एसयुसिआईको अर्को विशेषता भनेको आफूले अपनाएका सिद्धान्तलाई व्यवहारमा लागू गर्ने अभ्यासको थालनी गर्नु पनि हो । सामान्यतया अरु कम्युनिस्ट पार्टीले क्रान्ति सम्पन्न भएपछि समाजवादको अभ्यास गर्ने कुरा गर्छन् तर एसयुसिआईले क्रान्तिलाई नपर्खी क्रान्ति हुनुभन्दा अगाडि नै समाजवादको अभ्यास गर्नुपर्छ भन्ने मान्यता राख्छ। एसयुसिआईले केही वर्ष यता आफ्ना पार्टीका नेताहरुलाई कम्युन बनाएर सामूहिक आवासमा राख्ने अभ्याश गरिरहेकाे छ । एसयुसिआईले पश्चिम बङ्गालमा चारवटा कम्युन बनाएको छ, जहाँ ४५ जना नेता-कार्यकर्ता बस्ने गर्छन् । पार्टीका प्रमुख १० नेता यिनै कम्युनमा बस्ने गर्छन् । उनीहरुले त्यहाँ अरु कार्यकर्ताहरुलाई बस्न प्रेरित गरुन् र समाजवादी अभ्यासमा भिजेका नेतृत्वको नयाँ पिढी तयार होस् भन्ने आशा गरिएको छ।

एसयुसिआईले अभ्यास गरेको कम्युन जीवन शैली एकदमै साधारण खालको छ । त्यहाँ कसैको पनि व्यक्तिगत सम्पत्ति हुँदैन । जे जति छ, सबै सामूहिक सम्पत्ति हुने गर्छ । पार्टीले नै सबै कम्युन सदस्यको दैनिक आवश्यकता पूरा गर्छ । कम्युनका कुनै सदस्यको जागिर वा नियमित पेसा व्यवसाय छ भने उसले आफ्नो सबै आम्दानी पार्टीलाई बुझाउनु पर्छ । कम्युनका सबै सदस्यले नियमित तालिका अनुसार खाना पकाउने, लुगा धुने, दैनिक सरसफाई गर्ने काम गर्दछन् । कम्युनभित्र रहेका पार्टी सदस्यका सन्तान हुर्काउने र रेखदेख गर्ने काम साझा दायित्वको रुपमा हुने गर्दछ। कम्युन भित्र रक्सी सेवन गर्न प्रतिबन्धित छ। कम्युन भित्र सुत्नको लागि पलंग होइन, काठको कडा तख्ता प्रयोग गरिन्छ । कम्युन भित्र मनोरञ्जन गर्न प्रतिबन्ध लगाइएको छ । टेलिभिजनलाई केवल खबर हेर्नको लागि मात्र प्रयोग गरिन्छ ।

हरेक दिन कम्युनको जीवन बिहान सात बजे सुरु हुन्छ । त्यसबेला पार्टी कार्यकर्ताहरु आफ्ना नेतालाई भेट्न आइपुग्छन् । यो क्रममा मिटिङ्ग र रिपोर्टिंग जस्ता काम हुन्छन् । बिहानको खानामा केवल रोटि र सब्जी मात्र हुन्छ । त्यसपछि नेताहरु पार्टी अफिसतिर जान्छन् । त्यस्तै अरु पेसा र ब्यबस्या गर्ने कम्युन सदस्यहरु श्रमविभाजन अनुसार आआफ्ना कामतिर लाग्छन् ।

हाम्रो नेपालमा पनि आफूलाई कम्युनिस्ट भन्ने पार्टीहरु थुप्रै छन् । नेपालका कम्युनिस्ट नेताहरुले एसयुसिआईले जस्तै कम्युन बनाएर सामूहिक रुपमा बस्न मिल्दैन ? यसरी सामूहिक रुपमा बसे नेताहरुको सुरक्षा पनि हुने थियो । कम्युनमा बसेदेिख नेताहरुको भ्रस्टीकरण हुने सम्भवाना पनि न्यून हुने थियो । त्यसो भएको खण्डमा आम जनतामा कम्युनिस्टप्रतिको आस्था पनि झनै बढ्ने थियो होला । सबैभन्दा मुख्य कुरा त नेपालमा कम्युनिस्ट नेताहरु त्यसरी सामूहिक जीवनशैली अपनाएर कम्युनमा बस्ने हो भने उनीहरु कुनै बदनाम घरबेटीको ‘पाहुना’ बन्नुपर्ने पनि थिएन ।

त्यसो त पूर्व एकताकेन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेलहरुले पनि बर्दिवासतिर एउटा ‘कम्युन’ चलाएका छन् तर ती मूल नेताहरु एसयुसीआईका नेताहरु जस्तो त्यही कम्युनमा बस्दैनन् । उनीहरु पाहुनाका रुपमा बेलाबखत कम्युनमा पुग्छन् । उनीहरुको अधिकांश समय शहरको ‘राजकीय जीवनशैली’ मै बित्ने गर्छ ! अर्कोतिर नेपालमा जनयुद्धकालमा माओवादीले पनि आफ्नाे बलियो पकड भएको रोल्पा, जाजरकोट, रुकुमलगायतका ठाउँमा केही कम्युन चलाएका थिए, त्यसको अभ्यास गर्ने कोशिस गरेका थिए । समाजवादको व्यवहारिक अभ्यास गर्ने माओवादीको त्यो कोशिस जनयुद्धको शान्तिपूर्ण अवतरणपछि एलिट वर्गसँगको सङ्गतको असरले हो कि शहरको हावापानीको छोएर हो, अहिले एकादेशका कथा जस्तै बनिसकेको छ । हिजो निजी सम्पत्तिलाई पार्टीकरण घोषणा गरेका माओवादीका मुख्य नेताहरु यतिखेर नेपालका कथित बुर्जुवा धनीवर्गलाई समेत पछार्ने गरी धनार्जनकाे दौडमा अग्रणी देखिएका छन् भन्ने चर्चा व्यापक छ ।
निजी सम्पत्ति जोहोको लिप्साले उनीहरुलाई कतिसम्म लपेटिसकेको छ भने सारा जगतले छिछि, दुरदुर गरिरहँदा पनि हाम्रा ‘क्रान्तिकारी’ नेताहरु बदनाम ठेकेदार, शैक्षिक माफियाहरुको निगाहामा प्राप्त ‘बङ्गला’हरुमा डेरावाल बन्न बढी रुचि राख्ने गर्छन् भन्ने यतिखेर ओपन सेक्रेट कुरा भइसकेको छ ।

अरु पार्टीका कम्युनिस्ट नेताहरुको हालत पनि यो भन्दा थोरबहुत तलमाथि होला तर खासै फरक भने छैन ।

यस्तो अवस्थामा नेपालका कम्युनिस्टहरुले पनि एसयुसिआईले जस्तै कम्युनमा बस्लान्, सामूहिक जीवनपद्दति अपनाउलान् र त्यसलाई बढावा देलान् भन्ने कुरा शायद आकाशको फल, आँखा तरी मर मात्रै हुन्छ होला।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares