Tuesday, March 19
Shadow

राप्रपाका सांसदहरू लाइ पार्टी अनुमति बिना बिदेशी दूतावास नजान निर्देशन !

काठमाण्डौं, ४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् ।

आज सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् । उनले आफूहरूले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आउँदा दिनमा के गर्दा आफ्नो मान्यताहरू स्थापित हुन्छन् त्यही गर्ने बताए । आफूहरू मन्त्री खानका लागि कसैको घर नधाउने उनको भनाइ छ ।

अध्यक्ष लिङ्देनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए । उहाँले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गरे । उनले भने, ‘सरकार निर्माणको प्रक्रिया सुरु भएको छ । हामी बैठक बसेर आधिकारिक धारणा पनि बनाउँछौँ । नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि भन्ने चिन्ता लिनुपर्दैन । अहिले न हामीलाई सरकारमा जान हतारो छ, न सरकारमा नजाने भनेर कसम खाएका छौँ । हामी मन्त्री खानका लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ ।’

अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा सुरु भएको बताए । उनले आउँदा दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने उल्लेख गरे। पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणामबाट आफू सन्तुष्ट नभएको उनले बताए । राप्रपा सुध्रिएको हो कि होइन भनेर नागरिकले परीक्षण गर्नका लागि यस पटक यति मत दिएको उनको भनाइ छ ।

अध्यक्ष लिङ्देनले नवनिर्वाचित सांसदलाई विदेशी दूतावासले कार्यक्रममा बोलाएमा पार्टीको अनुमतिविना नजान निर्देशन दिए । दूतावासले बोलाएर रक्सी–मासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न आग्रह गरे । उनले सांसदलाई अनुशासन र मर्यादामा बस्न दिर्नेशन दिए ।

उनले पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिलाई सांसद बनाइएको बताए । पार्टीमा नयाँ मानिसलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उनको भनाइ छ ।