Friday, March 29
Shadow

आदिवासि जनजातिका सवालमा भाषा र भाषा कक्षा माधव छन्त्याल


  • -इ
  • इ+

केहि दिन अगाडि पश्चिम बाग्लुङको तमानखोला गा.पा. ले स्थानीय पाठ्यक्रममा मगर र छन्त्याल भाषाको केहि अंश समेट्ने भनेर समाचार बाहिरियो ! समाचार बाहिरिए संगै ६४% दलित बाहुल्यता रहेको तमानखोलामा किन ३७% जनजातीको भाषा पढिदिनु पर्ने जस्ता सवालले सामाजिक संजाल रनक्कै तातियो यहीँ विषय माथि सरस्वती आधारभूत बिद्यालयका शिक्षक माधव छन्त्याल यस्तो लेख्नुहुन्छ ।

आदिवासि जनजातिको भाषा सँगको सम्बन्ध र त्यस्को अवस्था
नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुजातिय सार्वभौमसत्तासम्पन्न संघिय गणतान्त्रिक राज्य हो भन्ने कुरा नेपालको संविधान २०७२ ले स्विकार गरिसकेको छ । सोहि अन्र्तगतको बहुराष्ट्रिय समुह हो आदिवासि जनजाति । अहिलेको सन्दर्भमा आदिवासि जनजाति भनेको कुनै खास भुमिमा सबैभन्दा पहिले आवाद गरेको, आफ्नै फरक संस्कृति, रितिरिवाज, चालचलन, भाषा, धर्म, भुगोल आदि भएको, स्वायत्त रहने चरित्र भएको तर राज्यको मुल प्रवाहमा नरहेको समुदाय बुझिन्छ । अर्थात् नेपालमा रहेका सबै आदिवासि जनजातिका फरक फरक भाषाहरु रहेका छन् !
हामिले सामान्यत बुझ्दा भाषा भन्नाले विचार व्यक्त गरिने माध्यमका रुपमा बुझ्ने गर्दछौ । तर भाषा त्यति मात्र भने होइन । भाषा खासमा मानिसले आफ्नो विचार व्यक्त गर्न होइन बरु सोच्न वा चिन्तनका निमित्त नभइनहुने चिजमा पर्दछ । कुनै पनि कुराको बारेमा नसोचि उस्ले विचार व्यक्त गर्नै सक्दैन । त्यो सोच्ने कार्य कुनै निश्चित भाषामा गर्ने गर्दछ । त्यस पश्चात नै मानिसले विचारलाई आवाजका रुपमा वा लिपिका रुपमा व्यक्त गर्ने गर्दछ । उस्को जिवनयात्राको निर्माण पनि फेरी सोहि विचारले निर्धारण गर्ने गर्दछ । साथै भाषा, विचार निर्माण गर्ने आधारभूत चिज भएको हुनाले उनिहरुको सस्कृतिसँग पनि अभिन्न रुपमा जोडिएको हुन्छ । किनभने संस्कृति फेरी विचारद्वारा निर्मित हुने गर्दछ । फलस्वरुप यदि मानिस रहनु छ भने विचार अनिवार्य छ । विचारका लागि भाषा अनिवार्य छ । तसर्थ मानिसका लागि नभइ नहुने चिज हो भाषा । भाषा सबै ठाउमा एकै प्रकारका हुदैनन् । बरु यो कुनै खास समुदायको जिवन यात्राको लामो कालखण्डमा विभिन्न परिस्थितिसँगको संघर्षसँगै आर्जित ज्ञानद्वारा निर्मित भएका हुन्छन् । तसर्थ फरक परिस्थिति, कालखण्ड र भुगोलमा सिर्जित भाषा फरक फरक नै हुने गर्दछन् । र आज भाषामा विश्वभर विविधता रहेको छ ।
सोहि अनुरुप आदिवासि जनजातिका पनि आफ्नै फरक फरक खास भाषा रहेका हुन्छन् । आफ्ना भाषा उनिहरुका अभिन्न अंग हुन् । किनभने आदिवासि जनजातिका पहिले देखि निर्मित संस्कृति उनिहरुकै भाषामा निर्मित हुन्छन् । उनिहरुले सोहि भाषाका आधारमा सोच्ने गर्दछन् । उनिहरुको आफ्नो जिवनयात्रा भर प्राप्त ज्ञानका आयामहरु पनि सोहि भाषा भित्र लिखित वा अलिखित रुपमा भण्डारन भएर रहेका हुन्छन् । सोहि ज्ञान र संस्कृतिको संयोजनबाट नै उनिहरुको सबैसबै जिवनप्रक्रिया सञ्चालन हुने गर्दछ । उनिहरुले सोहि ज्ञान र संस्कृतिकै माध्यमबाट आफ्नो भुमि माथि खास आस्थाको निर्माण गरेका पनि हुन्छन् । सो भुमिमा खास जिवनप्रक्रियाको पहिचान निर्माण गरेका हुन्छन् । जस्ले गर्दा उनिहरुको संस्कृति, ज्ञान र भुमि सँगको सम्बन्धमा अरुको भन्दा भिन्नता रहने गर्दछ । उनीहरुको यदि भाषा मर्दछ भने उनिहरुको जिवनयात्राका समग्र आयामलाई जोगाउन कठिन हुन्छ । तसर्थ आदिवासिको आफ्नो भाषा भनेको उनिहरुको आत्मा हो । जस्लाई आदिवासि जनजातिहरुको पहिचान भनेर पनि भनिन्छ ।
तर नेपाल एकिकरणको नाममा जब असलि हिन्दुस्थाना बनाउने कार्य पृथ्वीनारायण शाहले गरे । सोहि असलि हिन्दुस्थानाको सपनालाई पूर्णता दिन प्रयत्न गर्ने कार्य राणाकाल, शाहकाल, पञ्चायतमा भयो । सोहि एकिकरणको समय देखि बिस्तारै हिन्दु धर्म, हिन्दु संस्कृति, हिन्दु धर्ममा आधारित समाज व्यवस्था आदिले नेपालका आदिवासि जनजातिका धर्म, संस्कृति, समाज व्यवस्थामा हस्तक्षेप सुरु गर्यो । जुन कार्य निरन्तर लामो समय सम्म चलिरह्यो । जसले गर्दा हिन्दु संस्कृति, भाषा, धर्म आदिको वर्चस्व कायम हुने स्थिति बन्न पुग्यो । नेपालि भाषा सबैले पढ्नैपर्ने र आफ्नो भाषा बिस्तारै छोड्दै जाने स्थिति बन्न पुग्यो । फलस्वरुप आदिवासि जनजातिले आफ्नो पहिचानका अनेक आयामहरु गुमाउन पुगे । सङ्ग सङ्गै आफ्नो भाषा पनि गुमाउन पुगे । यो बाट के प्रष्ट हुन्छ भने भाषालाई जब सत्ताले अँगालोमा लिन्छ तब त्यो हस्तक्षेप गर्ने हतियारको रुपमा वा शक्तिको रुपमा प्रयोग हुन्छ । अझ त्यो भन्दा सत्य त भाषा माथि हस्तक्षेप गर्नु भनेको हस्तक्षेप गरिएको भाषा बोल्ने समुदायको मृत्युको चरण नै हो । जुन कार्य इतिहास देखि अहिले सम्म नेपालको एकल राज्य सत्ताले गरिरह्यो । जस्ले गर्दा आदिवासि जनजातिका भाषा हराउदै जाने अहिलेको अवस्थासम्म आइपुगेको हो ।
आदिवासि जनजातिलाई भाषा कक्षाको औचित्य
भाषाकक्षा भनेको कुनै खास भाषामा पढाउने कक्षा भन्ने बुझिन्छ । भाषाकक्षा सामान्यतः दुईप्रकारको हुने गर्दछन् । एक : खास भाषाको माध्यमद्वारा अन्य ज्ञानका स्रोतहरुको बारेमा पढाउने । दुई : खास भाषा भित्रका आधारभूत संरचनाको बारेमा सिकाउने । नेपालमा यि दुवै कार्यहरु भएका छन् । क्रमशः नेपालि भाषामा अनिवार्य कक्षा र कोरियन भाषा कक्षा यस्का उदाहरण हुन् । भाषा कक्षा निर्माणको खास उद्धेश्य हुन्छन् । सामान्यतः खास भाषा बोल्ने समुदायलाई सोहि भाषामा विभिन्न ज्ञान दिन वा खास भाषामा अवसरका ढोका खुले वा त्यो भाषा भित्रका अथाह ज्ञानका सिमा खोतल्नु पर्यो वा लोप हुन लागेका भाषाको जगेर्ना र संरक्षण गर्नुपर्यो भने भाषा कक्षा सञ्चालन हुने गर्दछ । अहिले तमानखोला गा.पा.मा भाषा कक्षा सञ्चालन फेरी आज सम्म राज्य सत्ताबाट उत्पिडनमा परेर लोप हुदै गएका भाषाहरुको संरक्षणका निमित्त जोडिन आइपुगेको हो भन्ने लाग्दछ । किनभने अहिले तमानखोला गा.पा.मा रहेका मगर र छन्त्याल समुदायले मुख्यतः सोहि ऐतिहासिक निषेधका कारणले आफ्नो भाषा बोल्न सक्दैनन् । भाषा फेरी समग्रमा हेर्दा राष्ट्रको विविधतामा आधारित सौन्दर्य हो । भाषा ज्ञानको माध्यम पनि भएको हुनाले जति धेरै भाषाको ज्ञान भयो त्यति नै हाम्रो ज्ञानको आयाम फराकिलो हुँदै जाने गर्दछ । जसकारण फरक फरक भाषालाई संरक्षण गर्नु अति आवश्यक छ । जस्लाई नेपालको संविधान २०७२ को भाग ३ (मौलिक हक र कर्तव्य) अन्र्तगत धारा ३१ (५) र धारा ३२ (३) मा तथा नेपाल पक्ष राष्ट्र भएको आदिवासिका अधिकार सम्बन्धि महासन्धिहरु आईएलओ महासन्धि १६९ को धारा २८ (३) र युएनड्रिपको धारा १३ (१), धारा १४ (१) र (३), धारा १५ (१) मा पनि आदिवासि जनजातिले आफ्नो भाषामा पढ्न लेख्न पाउने तथा आफ्नो भाषाको पर्वद्धन गर्न पाउने अधिकारको सुनिश्चितता गरेको छ । जुन नेपालको राज्य सत्ताले मान्नैपर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरु हुन् ।
आज यो भेगमा आदिवासिका लागि भाषा कक्षा सञ्चालनले विभिन्न स्वप्न क्षितिजहरु पनि देखाएको छ । जस्तैः नेपालमा अझै पनि एकल भाषा, धर्म र सँस्कृतिमा आधारित राज्य प्रणाली भएको हुनाले इतिहास देखि एउटै भाषालाई मात्र राज्यसत्ताले पर्वद्धन गर्यो । यहि एकल राज्यसँगको संघर्षको एक चरण हो भाषा कक्षा । अर्थात एकल राज्य प्रणालीको अन्त्यको चरण हो । त्यस्तै आदिवासिहरुको आफ्नो भाषा मासिदै गएको अवस्थामा छ यो समय । सोहि प्रक्रिया अनुरुप संस्कृति मासिदै गएको अवस्था हो । आफ्नो मासिदै गएको संस्कृतिको संरक्षणको एउटा प्रयत्न हो भाषा कक्षा । साथै आफ्नो मातृभाषामा पढ्न पाउने नैसर्गिक अधिकारको प्रयोग हो भाषा कक्षा । किनकि जन्मिसके पश्चात उस्ले ज्ञानको प्रारम्भ आफ्नै मातृभाषाबाट स्वतन्त्र रुपमा प्राप्त गर्न पाउदछ । यसरी हेर्दा आदिवासि जनजातिका आफ्नै मातृभाषा रहेका हुन्छन् । र, मुल कुरा आदिवासि जनजाति स्वायत्त नरहेको अहिलेको परिवेशमा स्वायत्तताको मार्गनिर्देशन हो भाषा कक्षा । किनकि आदिवासि जनजातिका आफ्नै भाषा, संस्कृति, धर्म, रितिरिवाज, चालचलन, भुगोल आदि रहने हुनाले तिनिहरु छुट्टै राष्ट्र हुन् । जस्लाई बाहिरि हस्तक्षेप गर्न पाइदैन, स्वायत्त हुन दिनु पर्दछ ।
स्थानिय स्तरमा आदिवासि जनजातिका भाषा कक्षा सञ्चालनमा चुनौति र व्यवस्थापन
तमानखोला गा.पा.मा आदिवासिका रुपमा मगर र छन्त्याल जाति रहेका छन् । तिनिहरुको भाषा संरक्षणको प्रयास स्वरुप भाषा कक्षा सञ्चालनका लागि स्थानिय पाठ्यक्रम निर्माणको चरणमा रहेको छ तमानखोला गाउँपालिका । उक्त पाठ्यक्रम अनुरुप आगामि आर्थिक वर्षमा विद्यार्थीले लगभग ५ प्रतिशत शब्दहरु आफ्ना भाषाबाट पढ्न पाउनेछन् । यो सन्दर्भको सार्वजनिक पश्चात मिश्रित खालका प्रतिक्रिया आएका छन्, आउने नै भए । साथै सोहि सन्दर्भमा विभिन्न प्रश्नहरु उठिरहेका छन् । विभिन्न सवालहरु उठिरहेका छन् । अहिलेको सन्दर्भमा ति सवालहरु सहायक चुनौति त पक्कै हुन् । तसर्थ ति सवालहरुको बारेमा व्यापक छलफल भने गर्नैपर्दछ ।
प्रतिक्रिया आउने क्रममा मगर र छन्त्याल भाषा आफ्नो भाषा नभएको हुनाले आफुहरुलाई लाड्न खोजेको भन्ने यहाँका दलितहरुको धारणा छ । यो आजको सन्दर्भमा ऐतिहासिक पक्षलाई अलग्याउने हो भने सत्य हो । तर ऐतिहासिक पक्षलाई अनदेखा गर्नु भुल हुनेछ । किनभने ऐतिहासिक रुपमा नेपालको कथित एकिकरण पश्चात बिस्तारै आदिवासि जनजातिका सबै आयामलाई नष्ट गर्ने प्रक्रिया सुरु भयो । भाषा पनि नष्ट हुने प्रक्रिया सुरु भयो । जस्ले गर्दा अहिले छन्त्याल तथा मगरले आफ्नो भाषामा बोल्न नसक्ने अवस्थामा आइपुगे । बिस्तारै जनताको स्तरमा पठनपाठन आउदा त आदिवासि जनजातिलाई नेपालि भाषा (यहाँका दलितहरुको मातृभाषा)मा पठनपाठन गराइयो । जुन उनिहरुको भाषा थिएन । तर यो प्रक्रियामा यहाँका दलितहरुको त आफ्नो भाषा नेपालि नै थियो । जस्ले गर्दा यहाँका दलितहरुले त्यो समयमा भाषाका सन्दर्भमा विशेषाधिकार पाए । त्यसको क्षतिपुर्ति आजका जनजातिका सन्दर्भमा तिनिहरुले दिनैपर्दछ । अर्थात् आजको सन्दर्भमा आदिवासि जनजातिका भाषा संरक्षणको पक्षमा दलित सकारात्मक, दृढ र आत्मालोचित हुनै पर्दछ । जसरी दलितका उत्पिडनको विरुद्धका सवालमा आदिवासि जनजाति सकारात्मक, दृढ र आत्माआलोचित हुनै पर्दछ । साथै अहिले अंगे्रजि विषयमा पाठ्यपुस्तक दुई दुई वटा रहेको कुरालाई पनि अनदेखा गर्न मिल्दैन । जुन न दलितको मातृभाषा हो न आदिवासि जनजातिको ।
कतिपयले फेरी सबै जातजातिले बनाएको सत्ताले यसरी खास जातजातिलाई प्राथमिकतामा राखेकोमा रौष पनि प्रकट गरेका छन् । अर्थात जातिय कुरा जस्तो सम्झेका छन् । तर यो एउटा सामाजिक प्रक्रिया हो भनेर बुझ्नु पर्दछ । जो कमजोर छ उस्लाई विशेषाधिकार दिएर माथि उठाउनै पर्दछ । आदिवासि जनजातिको भाषा मुख्यतः राज्यको चरित्रका कारण संकटमा परेको अवस्थामा त्यसलाई जोगाउने प्रयत्न राज्यसत्ताले गर्नै पर्दछ । आदिवासि जनजातिको भाषाका लागि विशेषाधिकार तोक्नै पर्दछ । सोहि प्रक्रिया हो यो ।
कोहि कोहि ले फेरि यि भाषाहरुलाई काम नलाग्ने भाषा जस्तो व्याख्या पनि गरेका छन् । साथै मृत भाषा हो जस्तो गरेर पनि व्याख्या भएका छन् । तर काम लाग्ने भाषा भनेको के हो ? यो प्रश्नको अहिलेको बनिबनाउ उत्तर हुन्छ, जसबाट पैसा आर्जन होस् । के भाषा भनेको कमाउको साधन मात्र हो त ? होइन बरु सबै समुदायका लागि आआफ्नो भाषा विशिष्ट हुन्छ । किनकि उनिहरुको जिवनप्रक्रिया हजारौ वर्षदेखि सोहि भाषासँग जोडिएको हुन्छ । साथै भाषासँगको विशेष साँस्कृतिक सम्बन्ध तत्काल निर्माण हुने कुरा पनि होइन । तसर्थ भाषा कुनै काम लाग्ने कुनै काम नलाग्ने भन्ने नै हुदैन । बरु जति धेरै भाषामा विविधता भयो त्यति नै समाज सुन्दर देखिने वा बन्ने गर्दछ । साथै छन्त्याल तथा मगर मृत भाषा पनि होइनन् । यो भाषा कतिपय स्थानमा सामान्य जनजिवनमा पनि प्रयोग हुदै आइरहेको भाषा हो ।
यसरी हेर्दा ति सबै प्रतिक्रियाहरु राज्यद्वारा निर्धारीत राजनितिले अहिलेको समाजमा गरेको शुन्य तथा गलत प्रशिक्षणको परिणाम हो भन्ने कुरा छर्लङ्ग देखिन्छ । यि विचार बोकेका व्यक्तिहरुलाई न्यायसम्मत स्थानमा आउने बनाउनु तत्कालिन चुनौति नै हो ।
तर यो भन्दा मुख्य चुनौति भने राज्यको चरित्र नै हो । राज्यले आदिवासिलाई कुन ढंगले हेर्दछ भन्ने कुरा नै मुख्य हुन आउदछ । अहिले राज्यले सामान्यत व्यक्तिलाई हेर्ने गर्दछ । व्यक्तिगत पहिचानलाई आधार बनाउने गर्दछ । आदिवासि जनजातिका सामुदायिक पहिचानका सवाललाई भने पाखा लगाउने कार्यमा लागिरहेको छ निरन्तर । तर खास समुदायको पहिचानको रक्षामा पनि निरन्तर लाग्ने नै गर्दछ । यस्तो परिस्थितिमा के अब समानता र न्यायसम्मत तवरले आदिवासिका सामुदायिक पहिचानका आयाम, स्वायत्तता, आत्मनिर्णयको अधिकार प्रदान गर्दछ राज्यले भन्ने प्रश्न मुल प्रश्न वा सवाल भएर आएको छ भाषा, भाषा कक्षा तथा समग्र आदिवासिको सन्दर्भमा । यदि ऐतिहासिक उत्पिडन, नकारात्मक तथा सकारात्मक विशेषाधिकार, स्वायत्तता र आत्मनिर्णयका सवाललाई यो राज्यले बुझ्न सकेन भने भाषा तथा भाषा कक्षा मात्र होइन आदिवासिका समग्र अधिकारको पक्षमा पनि सहि अर्थले न त राज्यले बुझ्न सक्छ न त हामिले । अन्ततः वेवास्तामा पर्दछ यि सबै सबै । तसर्थ आजै देखि यो मुद्दालाई भुईतह सम्म बुझाउने एवम् राज्य सत्ता सँग प्रतिरोध गर्ने प्रयत्न गर्नुपर्ने नै देखिन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares