११ महिनापछि कोरोना संक्रमण दर ओरालो, दोस्रो ‘वेभ’को उच्च जोखिम
काठमाडौ , पुस १५ । । कोभिड– १९ को संक्रमणदर ११ महिनापछि ओरालो लागेको छ । परीक्षण कम भए पनि पजिटिभ देखिने दर र अस्पतालमा भर्ना हुने संख्या न्यून हुँदै गएपछि विज्ञहरूले नेपालमा कोभिडको पहिलो ‘वेभ’ सकिन थालेको बताएका छन् । तर, दोस्रो ‘वेभ’को उच्च जोखिम रहेको उनीहरूको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २६ मंसिरयता संक्रमण घटदै गएको छ । त्यसयता दैनिक एक हजारभन्दा बढी संक्रमित देखिएका छैनन् । मन्त्रालयका अनुसार विगतमा परीक्षणको ३३ प्रतिशतसम्म पुगेको संक्रमणदर अहिले ११ प्रतिशतमा झरेको छ । ६ कात्तिकमा ४७ हजार सात सय पुगेका सक्रिय संक्रमित घटेर मंगलबार ६ हजार तीन सय ९६ मात्रै छन् ।
संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । करिब ९८ प्रतिशत मृत्यु अस्पतालमा र दुई प्रतिशत मात्रै अस्पतालबाहिर भएको छ । संक्रमणबाट हालसम्म एक हजार आठ सय ४० जनाको अर्थात् कुल संक्रमितको ०।७ प्रतिश...









