काठमाडौँ , पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्षको चुनाव गराउने भए नेकपाको अध्यक्ष छोड्न तयार रहेको बताएका छन् । उनले अध्यक्षका लागि चुनाव गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल तयार हुनुपर्ने बताए ।
आफू निकटका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा बुधबार ओलीले पार्टीभित्र आफू जहिले पनि निर्वाचित भएर आएको तर दाहाल र नेपालमा भने पार्टीभित्र निर्वाचनमा जान आँट नभएको बताए ।
उहाँहरू चुनावमा आउन तयार हुनुहुन्न । उहाँहरू अध्यक्ष मागिरहनुभएको छ । अध्यक्ष छोडिदिने हो, ठीक छ । आउनुस् न त चुनाव गरौं । म छोडिदिन्छु, चुनाव गरौं । चुनाव गर्न आँट गर्नुहुन्न, ओलीले भने । दाहाल र नेपालले सोझै अध्यक्ष दिनुपर्ने माग गरेको ओलीको भनाइ थियो ।
अध्यक्ष दाहाल पार्टीभित्र कहिल्यै पनि चुनाव नगरी नेतृत्वमा रहेको भन्दै ओलीले आफू जहिल्यै प्रतिस्पर्धाबाट पार्टीको नेता भएको बताए । उनले आफू स्वास्थ्य स्थिति कठिन भएको बेलासमेत अध्यक्षमा लडेर निर्वाचित भएको भन्दै प्रतिस्पर्धाबाट नेतृत्वमा जाने भए आफू तयार रहेको बताए ।
आफूलाई धम्क्याएर प्रधानमन्त्री नपाइने भन्दै त्यसका लागि पनि निर्वाचनमा जानुपर्ने ओलीको भनाइ थियो । लोकतान्त्रिक अभ्यासमा गएर नै पद पाइने उनले बताए ।
प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनतर्फ उन्मुख भएको छ । ओली पक्षले दाहाललाई कारबाही गरेको छ भने दाहाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई मनोनित गरेको छ । त्यस्तै, संसद् विघटन गरेर जनतामा जाने घोषणा ओलीले गरेका छन् भने त्यसको विरुद्धमा दाहाल र नेपाल पक्ष सडक संघर्षमा लागेका छन् ।