Monday, September 21
Shadow

राप्रपाबाट सांसद बनेका यादवको कांग्रेसले नवीकरण गर्‍यो सक्रिय सदस्यता, वडा अधिवेशन स्थगित गर्न माग


  • -इ
  • इ+

कृष्णनगर, ४ असोज ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ ले आसन्न १५औँ महाधिवेशनका लागि आज हुने भनिएको वडा अधिवेशन स्थगित गर्न माग गरेको छ । क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्यायले विज्ञप्ति जारी गर्दै कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका विभिन्न वडामा हुने वडा अधिवेशन स्थगित गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा क्षेत्र अन्तर्गतका दुबै पालिकाका विभिन्न वडाका वडा सभापति तथा क्षेत्रीय सभापतिसमेतको नेपाली कांग्रेस पोर्टल र पासवर्ड दुरुपयोग गरी धाँधलीपूर्ण तरिकाले विधान तथा पार्टीको सिद्धान्तलाई बेवास्ता गर्दै सक्रिय सदस्यता अध्यावधिक तथा नयाँ सक्रिय सदस्यता थप गरी पार्टी कब्जा गर्ने बदनियतपूर्ण कार्य भएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा यस्तो कार्यले केन्द्रबाट पार्टीको मूल्य, मान्यता र सिद्धान्तलाई समेत ख्याल नगरी विभिन्न वडामा मृत व्यक्तिको सक्रिय सदस्यता, पार्टी परित्याग गरेका व्यक्ति, स्थानीय तथा संसदीय निर्वाचनमा उम्मेदवार भएका व्यक्ति तथा राप्रपाबाट प्रदेशसभामा निर्वाचितसमेत भएका जानकी प्रसाद यादव लगायत सयौँ व्यक्तिको सक्रिय सदस्यता नवीकरण गरिएको दाबी गरिएको छ ।

त्यसैगरी संगठनमा आबद्ध धेरै पुराना तथा समर्पित पदाधिकारी र वरिष्ठ साथीहरूलाई समेत सक्रिय सदस्यताबाट वञ्चित गराइएको आरोप कांग्रेस क्षेत्र नं. ३ ले लगाएको छ । यस विषयमा नेपाली कांग्रेसको वडा अभियानदेखि नै पटक-पटक जिल्ला, प्रदेश र केन्द्रीय सभापति तथा महामन्त्रीसमेतलाई गुनासो तथा जानकारी गराउँदै आए पनि त्यसलाई बेवास्ता गर्दै सक्रिय सदस्यता वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सक्रिय सदस्यता वितरणमा देखिएको विवादका कारण आफूहरूमा गम्भीर आपत्ति उत्पन्न भएको क्षेत्रीय सभापति उपाध्यायले बताएका छन् । विज्ञप्तिमा नेपाली कांग्रेस क्षेत्र नं. ३ का पदाधिकारीहरूबाट आज २०८३ असोज ४ गते हुने वडा अधिवेशन गराउने अवस्था नरहेको उल्लेख गर्दै क्षेत्र नं. ३ अन्तर्गतका सम्पूर्ण वडाको वडा अधिवेशन स्थगित गर्न माग गरिएको छ ।

क्षेत्रीय सभापति उपाध्यायले पार्टीको वैधानिक प्रक्रिया, विधान तथा संगठनको मूल्य-मान्यताविपरीत भएको भनिएको सक्रिय सदस्यता सम्बन्धी विवाद समाधान नगरी अधिवेशन अघि बढाउन नसकिने जनाउँदै विज्ञप्ति जारी गरेका हुन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares