Friday, March 29
Shadow

शैक्षिक वित्त


  • -इ
  • इ+

सरोज पोखरेल/काठमाण्डौँ, मंसिर २६

शिक्षाका लागि आवश्यक आम्दानीका स्रोतहरु संकलन गर्ने र त्यसको उपयुक्त वांडफांड नै शैक्षिक वित्त हो | यसले शिक्षा खर्च कसरी जुटाउने , कस्तो शिक्षा दिने , क-कसलाई शिक्षा दिने , समाजबाट के- कस्तो अपेक्षा राख्ने ,सामाजिक संरचना , भौगोलिक अवस्था र प्राकृतिक सम्पदाका आधारमा शिक्षा क्षेत्रमा भएको लगानीलाई के-कसरी न्यायोचित र प्रभावकारी बनाउने , सामाजिक लाभ र सामाजिक न्यायको सिद्धान्त अनुरुप शिक्षा खर्चमा सवैको समान पहुँच र अवसरलाई कसरी सुनिश्चित गर्ने ? वित्तीय स्रोतहरुलाई सिधै लक्षित वर्गमा पुर्याउन के-कस्तो प्रकारको नीति अनुशरण गर्ने, शिक्षामा गरिने खर्चलाई कसरी परिणाममुखी बनाउने तथा वित्तीय स्रोतहरुलाई के-कस्ता विधि अवलम्वन गरी उदेश्यमूलक बनाउन सकिन्छ भन्ने लगायतका विषयवस्तुहरुको अध्ययन गर्दछ |

शैक्षिक वित्तका क्षेत्रहरुमा शिक्षामा के-कति लगानी गर्ने , कुल राष्ट्रिय उत्पादनबाट शिक्षा क्षेत्रमा कति लगानी गर्दा मुलुकको अर्थतन्त्रमा कस्तो प्रभाव पर्दछ , शिक्षामा गरेको लगानीले समाजमा कस्तो प्रभाव पर्दछ ? अपेक्षा अनुरुप लगानी र लगानी अनुरुप प्रतिफल प्राप्त भयो कि भएन इत्यादि पर्दछन् | शिक्षाको वित्तीय व्यवस्थापनका लागि विभिन्न विधिहरु अवलम्वन गर्न सकिन्छ | शिक्षामा अनुदान सहायता, ऋण सहायता लगायत जुनसुकै पनि हुन सक्छ | दातृ संस्था वा रास्ट्र , अन्तरास्ट्रिय सहयोग नियोग, विश्व बैंक लगायतका विभिन्न संघ संस्थाहरुबाट शिक्षा क्षेत्रको लागि l4पक्षीय तथा बहुपक्षीय ऋण तथा अनुदान दुवै उपलब्ध भै नै रहेको हुन्छ | नेपाल जस्तो विकासोन्मुख रास्ट्रहरुका लागि यस प्रकारको अनुदान तथा ऋण अत्यन्तै महत्वपूर्ण मानिन्छ | शैक्षिक वित्तका प्रचलित केही विधिहरुको संक्षेपमा परिचय र फाइदा /वेफाइदाहरुको वर्णन गरिन्छ |

• अनुदान सहायता(Grant इन Aid) : नेपालमा शिक्षाको स्वरूप तीन तहको रहेको छ | आधारभूत तह , माध्यमिक तह र उच्च तह | आधारभूत तह अनिवार्य हो माध्यमिक तह स्वेच्छिक हो | उच्च तहको शिक्षा भने अन्य तहको शैक्षिक संस्थाहरु भन्दा पूर्ण स्वतन्त र स्वायत्त रहेका हुन्छन् | यस तहको शिक्षा प्रदान गर्ने विश्वव्यापी एवं प्रचलित विधि अनुदान सहायता हो | शिक्षामा सवैलाई समान अवसर र पहुँच प्रदान गर्नको लागि अनुदान सहायताको व्यवस्था गरिएको हुन्छ | सरकारले जनताबाट उठाएको करबाट गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नको लागि विश्वविद्यालयलाई अनुदान रकम उपलव्ध गराउने गर्दछ | यसरि उपलव्ध गराएको रकमलाई विश्वविद्यालयले पुन : फिर्ता गर्नु पर्दैन | शिक्षाको अवसरवाट कोही पनि बन्चित हुन नपरोस भनेर यसलाई प्रभावकारी रुपमा अगाडी बढाउदै आएको पाइन्छ | विश्वका विकसित र विकासोन्मुख हरेक रास्ट्रमा शैक्षिक वित्तको महत्त्वपूर्ण विधिका रुपमा अनुदान सहायतालाई लिएको पाइन्छ |

फाइदाहरु :
o गुणस्तरीय शिक्षा प्रदान गर्ने सर्वस्वीकार्य विश्वव्यापी पद्धति
o उच्च शिक्षा संचालन गर्न आवश्यक खर्च का लागि सरकार बाट प्राप्त अनुदान नै खर्च हुने हुदा शैक्षिक संस्थालाई पर्ने आर्थिक भार न्युन हुने
o उच्च शिक्षामा सवैलाई समान रुपले सहभागी गराउन सकिने
o कमजोर आर्थिक हैसियत भएका वर्गलाई समेट्न सहयोग पुग्ने
o देशको सामाजिक ,आर्थिक , प्राविधिक सांस्कृतिक लगायतका समग्र क्षेत्रमा विकाशको आधार खडा हुने

वेफाइदाहरु :
o अनुदान सहायताको प्रमुख स्रोत कर भएको हुदा शिक्षा आर्जन नगर्नेले समेत अनावश्यक करको भार बहन गर्नुपर्ने
o अनुदान सहायता प्रदान गर्नुको खास उदेश्य शिक्षामा सवैको समान पहुँच र सहभागिताको सुनिश्चितता गर्न भए तापनि अवसर माथिल्लो तथा उपल्लो वर्गले बढी प्राप्त गर्ने हुदा समानता कायम हुन नसक्ने
o आर्थिक सहायता सगै सरकारी हस्तक्षेप पनि हुने हुदा स्वायत्त र स्वतन्त्र अस्तित्व गुम्ने र परनिर्भर हुदै जाने प्रवल सम्भावना
o करदाता र कर संकलन (सरकार र जनता) दुवैलाई दिर्घकालिन समयसम्म आर्थिक बोझ बढ्दै जाने

• शैक्षिक ऋण(Education Loan): तेश्रो तहको शिक्षाको लागि अनुदान सहायताको विकल्पको रुपमा शैक्षिक ऋण लाई लिइएको छ | अनुदान सहायता भन्दा पनि शैक्षिक ऋण बढी उपयुक्त छ भन्ने मतहरु पनि प्रस्तुत भएका छन् | अनुदान सहायता लिंदा शिक्षा आर्जन नगर्ने व्यक्तिले पनि करको भार बहन गर्नुपर्ने हुदा शिक्षा ऋणको नीति अनुशरण गर्नु पर्दछ | विद्यार्थीलाई ऋण दिदा उसको केही वर्षको अध्ययन पश्चात उक्त विद्यार्थीले आय-आर्जन गर्न सक्ने र ऋण चुक्ता गर्न सक्ने भएको हुदा सो ऋणलाई अन्य ऋणमा सार्न सकिन्छ | अनुदान सहायता लागु गर्दा तेश्रो तहको शिक्षा लिन नचाहनेले पनि करको भार बहन गर्नुपर्ने देखिन्छ भने शैक्षिक ऋण लागु गर्दा तेश्रो तहको शिक्षा नलिनेलाई केही भार पर्दैन | वर्तमान समयमा मूलत: विकशित राष्ट्रहरुमा अनुदान सहायता को सट्टामा शिक्षा ऋणको प्रयोग बढिरहेको देखिन्छ | शिक्षामा ऋण पद्दति लागु गर्ने देशहरुमा USA. Germany, Canada, Denmark, England लगायतका मुलुक पर्दछन् | वर्तमानमाकेही विकासोन्मुख देशहरुले समेत ऋण पद्दति लागु गरेका छन् |

फाइदाहरु :
o अनुदान सहायता भन्दा बढी समतामूलक र न्यायोचित छ किनकि यसले तेश्रो तहको शिक्षा लिंदा जसले ऋण लिन्छ उसैलाई मात्र भार पर्छ , ऋण नलिनेलाई यसले कुनै आर्थिक भार पर्दैन | तथापि अनुदान सहायताले तेश्रो तहको शिक्षा नलिनेलाई पनि असर गर्दछ |
o सरकारले एकपटक व्यवस्था गरेको ऋण रकम विभिन्न व्यक्तिमा लगानी भइरहने हुदा वर्सेनी ऋण रकम व्यवस्था गर्न नपर्ने
o अनुदान सहायताले गर्दा विश्वविद्यालय लाई बनाएको परनिर्भरता हटाउन सकिने
o विश्वविद्यालय लाई आर्थिक रुपले आत्मनिर्भर गराउने पद्धति
o विश्वका विकसित र विकासोन्मुख हरेक राष्ट्रका लागि उपयोगी पद्धति

वेफाइदाहरु :
o ऋण पद्दतिले शिक्षामा असमानता ल्याउँदछ किनकि तल्लो , गरिब एवम् असहाय वर्ग वा मजदूर वर्गले जोखिम मोलेर आफ्ना सन्ततिलाई ऋण लिएर पढाउन सक्दैनन् |
o यो असुली नहुने पनि सम्भावना रहन्छ किनभने ऋण लिएर पढेको व्यक्ति विदेश गयो र त्यतै स्थायी बसोबास गर्ने प्रक्रियामा लाग्यो भने ऋण असुल्ली नहुन सक्छ | ऋणका लागि पुन: रकम व्यवस्था गर्नु पर्दा सकारलाई आर्थिक बोझ थपिदै जान्छ |
o शैक्षिक कार्यक्रम संचालन गर्नका लागि वास्तविक खर्च लाग्ने गर्छ | यसलाई परोक्ष तवरले जनाताले नै वहन गर्ने हो तसर्थ यो कस्टकर नहोला भन्न सकिन्न |
o विकासोन्मुख राष्ट्रका लागि अनुपयोगी पद्धति

• भौचर पद्धति( Voucher System) : शिक्षा क्षेत्रमा लगानी गर्ने आधुनिक एवं वैज्ञानिक तरिका भौचर पद्धति हो | यसका प्रणेताका रुपमा वरिष्ठ अर्थशास्त्री Friedman लाई मानिन्छ | Grant in Aid र Loan System का कमि-कमजोरीहरुलाई हटाउनका लागि विकल्पको रुपमा एउटा नयां पद्धतिको विकाश गरियो त्यसलाई नै voucher system भनिन्छ | वास्तवमा भौचर भनेको तोकिएको क्रयशक्ति भएको एउता कुपन हो जसलाई निर्दिष्ट सेवा प्राप्त गर्नका लागि प्रयोग गरिन्छ | तर यस किसिमको भौचरको प्रयोगबाट उपभोग्य वस्तु खरिद गर्न सकिदैन | यसले त केवल शिक्षा सेवा मात्र खरिद गर्न सकिन्छ | यसका माध्यमबाट आफ्ना सन्तानको लागि पढ्दा लागेको खर्च तिर्न सकिन्छ | यस किसिमको भौचर ले शिक्षाको एउटा निश्चित तहको खर्चलाई समेटेको हुन्छ |

केन्द्रीय वा स्थानीय सरकारले शिक्षाका विभिन्न तहको प्रत्यक्ष खर्च अनुमान गरि फरक-फरक मूल्यका भौचरहरु निष्कासन गर्दछ र निष्कासित भौचरहरुलाई शिक्षासंग सम्वन्धित कर्मचारहरुलाई घर-घरमा वितरणको लागि पठाउने गर्दछ | भौचर प्राप्त गरे पश्चात अभिभावकहरुले भौचर मार्फत आफ्ना सन्तानलाइ शिक्षाको विभिन्न तहको विद्यालयमा भर्ना गर्ने गर्दछन् | विद्यालयमा भर्ना गर्दा भौचरबाहेक अतिरिक्त रकम बुझाउनु पर्दैन | विद्यालयले पनि विद्यार्थी भर्ना हुदा प्राप्त हुन आएका भौचरहरुलाई संकलन गरि त्यसको भुक्तानी सम्वन्धित शिक्षा शाखाबाट प्राप्त गर्ने गर्दछन् | भौचरलाई अभिभावकहरुले आफ्ना सन्ततिको शिक्षा आर्जन बाहेक अन्यत्र प्रयोग गर्न पाउदैनन् | भौचर बराबरको रकम सरकारलाई पुन : फिर्ता गर्नु नपर्ने हुन्छ |

समाजमा पछाडी परेका वर्गहरुलाई शिक्षा आर्जन गर्न यसले प्रोत्साहित गर्दछ | यसबाट सवैले शिक्षामा समान र न्यायोचित अवसर प्राप्त गर्दछन् | यसमा प्रत्यक्ष खर्च मात्र समावेश हुने भए तापनि कहिलेकाहीँ गरिब बर्गको हितलाई मध्यनजर गरी अप्रत्यक्ष खर्च समेत समावेश गर्न सक्छ तर यो दुर्लभ मात्रामा हुने गर्दछ | यस्तो अवस्थामा प्रत्यक्ष खर्च भन्दा बढी भएको रकम स्कुलले जहाँ गरिबका छोराछोरीहरु भर्ना भएका छन् त्यहाँ फिर्ता दिन्छ | त्यस्तै सरकारले जारी गरेको भौचर सरकारी र निजी दुवै विद्यालयमा स्वीकार गर्न सक्ने गरि व्यवस्था गरिएको हुन्छ | अभिभावकहरु आफ्ना सन्तानलाई निजी वा सरकारी विद्यालय जहाँ भर्ना गर्न पनि स्वतन्त्र हुन्छन् | सरकारी विद्यालय भर्ना गर्ने हो भने भौचर मार्फत सवै खर्च बेहोरिन्छ | निजीमा भर्ना गर्ने हो भने भौचरको मूल्य भन्दा बढी रकम अभिभावक स्वयम्ले भुक्तानी गर्नु पर्ने हुन्छ |

फाइदाहरु :
o यो प्रजातान्त्रिक पद्धतिमा आधारित छ किनकि अभिभावकहरु आफ्ना सन्तानलाई सरकारी वा निजी विद्यालय जुनासुकैमा भर्ना गर्न स्वतन्त्र हुन्छन् |
o सरकारले जारी गरेको भौचर पद्धति सरकारी र निजी दुवै विद्यालयमा स्वीकार्य हुन्छ | यसो हुदा स्वस्थ्य प्रतिस्पर्धा भइ शिक्षाको गुणस्तरमा बढोत्तरी हुन पुग्दछ |
o जनताको आर्थिक अवस्थालाइ मध्यनजर गर्दै बढी मूल्यको भौचर समेत प्रदान गर्न सकिने भएको हुदा शिक्षामा व्यापक जनसहभागिता बढ्न सक्छ |
o भौचर पद्धतिले दोहोरो खर्चमा कटौती गर्दछ | अनुदान सहायतामा एकातिर र अर्कोतिर शैक्षिक शुल्क बुझाउनु पर्दैन | कर मात्र बुझाए पुग्छ |
o नेपालजस्ता विकासोन्मुख रास्ट्रहरु जहाँ गरिब एवं बेरोजगारीको संख्या अधिक छ , त्यस्ता मुलुकहरुमा शिक्षाको समान अवसर प्रदान गरिदिने प्रभावकारी पद्धति

बेफाइदाहरु : 
o भौचर पद्धतिले धनि र गरिब बीच सामाजिक विभेद सिर्जना गरेको छ किनकि महँगो र गुणस्तरीय शिक्षा केवल धनीमा मात्र सीमित गरेको छ |
o भौचर पद्धति गरिब वर्ग भन्दा धनी वर्गका लागि फाइदाजनक छ किनकि भौचर ले नखामेको रकम मात्र तिर्नु पर्ने भएको हुदा चाहे जस्तो शिक्षा प्राप्त गर्न गरिबले सक्दैन | सो अवसर धनीका लागि मात्र हुन्छ |
o भौचर पद्धति निजी र सरकारी दुवैका लागि स्वीकार्य हुने हुदा निजी स्तरमा धेरै विद्यालय खुल्न पुग्दछन् र अस्वस्थ प्रतिस्पर्धा भइ शैक्षिक गुणस्तर खस्किन सक्छ |

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares