प्रचण्डको चेतावनी-पार्टीको नाम र सूर्य चिन्ह हाम्रो नभए देशमा आँधीहुरी आउँछ
काठमाडौं, पुस २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नाम र सूर्य चिन्ह कानूनी रुपमै आफूहरुको हुने दाबी गरेका छन् ।
काठमाडौं जिल्ला कमिटीले प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोग विधिसम्मत निर्णय गर्ने र पार्टीको नाम र सूर्य चिन्ह आफूहरुको हुने दाबी गरेका हुन् । उनले आफूहरुको पार्टीले आधिकारिता नपाएमा ‘आँधी हुरी आउने’ समेत चेतावनी दिए।
‘निर्वाचन आयोगले संविधान, नीति नियम, विधि र विधानभन्दा बाहिर गएर निर्णय गर्ने छैन । हाम्रो पार्टीको नाम र सूर्य चुनाव चिन्ह हाम्रै हुनेछ । यदि त्यसो भएन भने यहाँ आँधीहुरी बतास आउँछ,’ अध्यक्ष प्रचण्डले भने, ‘केपी ओलीले संविधान मिचे जस्तै गरेर यदि अरु संवैधानिक निकायले पनि त्यही गरे भने यो देश, यी नेपाली जनता हेरेर बस्दैननन् । आँधी, हुरी आउँछ ।’
...









