Friday, May 3
Shadow

कर्मचारी संगठन खारेज गर्नुपर्छ – महेश्वर दाहाल


  • -इ
  • इ+

नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य तथा माओवादी केन्द्र का प्रचारप्रसार बिभागको सह- इन्चार्ज ले केन्द्रिय समितिमा आफ्नो तर्फबाट बैठकमा राख्नुभएको धारणा –

मूल कार्यदिशा मूलतः सही छ तर यो क्रमशः प्रतिरक्षात्मक बन्दै आएको छ । कार्यक्रममा यो अभिव्यक्त हुँदा आत्मसुरक्षावादमा अभिव्यक्त हुन्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने, समावेशीता जोगाउने मात्रै भन्नुको अर्थ चालू अर्थराजनीतिलाई जोगाउने हो । यो संविधान, अहिलेको उत्पादन सम्बन्ध, अहिलेको श्रम विभाजनको व्यवस्थालाई अनन्तकालसम्म बचाउने हो ।
हजारौं वर्ष नेपालमा अपराधपूर्ण ढंगले शासन चलाएको राजतन्त्रवादीहरु यतिबेला आक्रामक छन्, पूरै रगतको आहालमा डुबुल्की मार्दै, परिवारको विघटन गर्दै, जेलनेल भोगेर आएकाहरु आत्मसुरक्षावादी हुने अवस्था किन आयो रु आत्मसुरक्षावादी हुनुमा नेतृत्वको नैतिक आचरण पनि केही हदसम्म मिसिएको छ ।
माओवादी निश्चितकालसम्म यो व्यवस्थालाई सम्पूर्ण रुपमा भत्काएर नयाँ व्यवस्था स्थापना गर्ने जोखिमपूर्ण संघर्षमा थियो । परिवर्तित सन्दर्भमा यही व्यवस्थाको सीमाभित्र रहेर पनि गर्न सकिने अधिकतम “Retrofitting” को काम गर्न सकिन्थ्यो । केरला, भेनेजुयला, ब्राजिल मोडललाई ”reference” को रुपमा लिन सकिन्थ्यो ।
समावेशी, समानुपातिक गणतन्त्रको संविधानको मूल मर्मलाई लागू गराउनका लागि सरकार, सदन र सडकबाट दवावमूलक अभियान चलाउँदै अगाडिको यात्रा तय गर्नुपर्छ । समाजको रुपान्तरणका लागि सचेत पहलकदमी, एकीकृत योजना बनाएर निरन्तर सक्रिय हुनुपर्छ ।
रुपान्तरणको महत्वपूर्ण आधार चाहिँ नेता–कार्यकर्ता स्वयं कम्युनिष्ट वा समाजवादी आचरणमा आफैं उदाहरणीय बन्ने हो । गैरउत्पादनशील आर्थिक अभिलाषा दिमागबाट हटाउने अनि फजुल खर्च नियन्त्रण गर्ने तर आफूलाई उत्पादनमूलक, संगठनात्मक र सैद्धान्तिक कसीमा जाँच्ने विधिको आजैदेखि शुरूवात गरौं !
वर्गविहीन साम्यवादसम्म पुग्ने हाम्रो लक्ष्यको तगारो आज हामी आफैं हौं, मुलतः निजी पद र सम्पत्तिप्रतिको असीम लगाव र आकर्षण हो । दलाल पुँजीवाद खास परिस्थितिका कारणले हामीबीच सम्झौतामा आयो भन्दैमा हामीले जितेका होइनौं । जेजति उपलब्धि स्थापित गरेका छौं, त्यो अगाडि बढ्ने आधार हो । तर, यसैमा रुमल्लिने र सीमित उपलब्धिमा रमाउने अनि यही दलाल पुँजीवादमा टेकेर आफ्नो व्यक्तिगत आर्थिक आधार मजबुत गर्ने प्रवृत्ति, रोग हामीमा सल्किएको छ ।
हामीले नेतृत्व पाएको सरकारको काम भ्रष्टाचारको विरोध गर्दै सुशासन आधार तयार पार्ने त हुँदै हो, त्यो भन्दा अझ अगाडि बढेर सामाजिक न्याय आधारित गुणात्मक सामाजिक आर्थिक विकास हाम्रो मूल लक्ष्य हुनुपर्छ ।
हामीले सर्वाङ्गिण जुझारु सुधारात्मक कार्यदिशा तत्काल अपनाउनु पर्छ । आत्मसुरक्षावादी कार्यक्रम त्यागेर आक्रामक र क्रान्तिकारी कार्यक्रम अगाडि बढाउनु पर्छ । त्यो कार्यदिशा र कार्यक्रमले माग गरेको आचरणमा आजदेखि नै सुधार गर्नुपर्छ ।
जस्तै हामीले जितेका, नेतृत्व गरेका कुनै पनि तहमा कृषि, स्वास्थ्य र शिक्षामा अधिकतम बजेट प्रत्यायोजन गर्नुपर्छ । कार्यकर्ताहरुले आवधिक रुपमा विद्यालयको अनुगमन गर्नुपर्छ । शिक्षक र अभिभावकहरुले आवधिक, नियमित छलफल गर्ने वातावरण तय गर्नुपर्छ ।
राष्ट्रिय स्तरमा शैक्षिक प्रवद्र्धन कोष खडा गर्ने, निम्न आय भएका गाउँपालिका, जसले विद्यालयमा लगानी गर्न सक्तैनन्, त्यो कोषबाट तिनलाई सहयोग गर्नुपर्छ ।
तीनै तहमा प्राकृतिक सम्पदा संरक्षण समिति निर्माण गर्नुपर्छ । सामुदायिक वन, पिउने पानी, जनस्वास्थ्य आदिलाई उपभोक्ता समितिको आवरणमा पार्टीले कब्जा गर्ने परिपाटी बन्द गरी समुदायलाई हस्तान्तरण गर्नुपर्छ ।
कर्मचारी, शिक्षक आदि जनताको करबाट तलब, सुविधा लिनेहरुको ट्रेड युनियनलाई खारेज गर्नुपर्छ ।
पेन्सन र उपदानका रुपमा जनताको करबाट प्राप्त सरकारी कोषबाट सुविधा लिनेहरुले पूर्णकालीन राजनीतिमा आउँदा त्यो सुविधा छाड्नुपर्छ । दोहोरो सुविधा लिने सबै परिपाटी पनि खारेज गर्नुपर्छ ।
अर्थवाद, ट्रेड युनियनवाद, पेशागत संकीर्णतावाद जस्तो गैरसर्वहारावादी प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ । माक्र्सवादसँग नजोडिएको पहिचानवाद सही होइन ।
हामी के कुरामा स्पष्ट हुनुपर्छ भने सर्वहारा वर्गको राजनीति, विचारधारा स्वतःस्फूर्त जन्मदैन, सचेत रुपमा श्रमिक वर्गको आन्दोलनमा प्रवेश गराउनुपर्छ ।
माओवादी केन्द्रलाई वर्ग आधारित, जनआधारित एउटा सच्चा क्रान्तिकारी पार्टीका रुपमा विकास गर्दै, वैचारिक, राजनीति स्पष्ट पार्दै लैजान जरुरी छ । नेपाली समाजको वर्गीय संरचनाको प्रष्ट चित्र अगाडि सार्नुपर्छ । यसो गर्न सकिएमा नै नेपाली जनताको प्रधान शत्रुका विरुद्ध अन्य शक्तिलाई एकताबद्ध र मोर्चा बनाएर जान सहज हुन्छ ।
आज हामी समाजवादी क्रान्तिको युगमा प्रवेश गरेकाले हाम्रो कार्यक्रम समाजवादी कार्यक्रम हो, हुनुपर्छ । नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ भन्ने कुराका बारेमा आमजनतालाई प्रष्ट पार्दै लैजानुपर्छ ।
विडम्बनाको कुरा नेपाली कम्युनिष्ट आन्दोलन धेरै समूहमा विभाजित छ । क्रान्तिकारी कार्यदिशाका आधारमा एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्नु क्रान्तिकारी कार्यकर्ता र आमजनताको यतिबेलाको चाहना हो ।
कम्युनिष्ट आन्दोलनमा वैचारिक बहस गर्दै नयाँ आधारमा एकता गरेर एउटा बलियो कम्युनिष्ट पार्टी निर्माण गरेर समाजवादी आन्दोलनको दिशातिर जान पहल बढाउनुपर्छ ।
के हामी त्यसो गर्न सक्दैनौ रु सक्नुपर्छ । यदि हामीले सक्दैनौ भने विद्यमान पार्टीहरू अरू कसैले तत्काल त्यसो गर्न सक्दैनन् । यसका लागि के त्याग गर्नुपर्छ, हामीले त्याग गरेर, साहस गरेर अगाडि बढ्नु पर्छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा हामीले नयाँ सशक्त नयाँ ढंगको क्रान्तिकारी पार्टीको निर्माण र समाजवादी आन्दोलनका लागि उहाँको हातगोडा नबाँधी निर्धक्कका साथ अगाडि जान सहयोग गर्नुपर्छ । विचार र राजनीतिलाई उपेक्षा गरेर युवा र पुस्तान्तरणको कुरालाई जोड दिनु भनेको साम्राज्यवादी अजेण्डाको भरिया बन्नु हो । मेरो कुरा भन्नुहुन्छ भने आफ्नो तर्फबाट सबै ढंगले त्याग गर्न तयार छु । राजनीतिलाई जनसेवा हो, धन्दा होइन भन्ने कुरालाई हामी सबैले फेरि एकपटक स्थापित गर्नैपर्छ । त्यागका साथ नयाँ ढंगको संघर्ष अगाडि बढाउन सकेमा नै वहुसंख्यक उत्पीडित वर्ग र समुदायलाई हामीले फेरि जीवन्त नेतृत्व दिन सक्छौं ।

लेखक – केन्द्रिय सदस्य महेश्वर दाहाल , उहाँ माओवादी केन्द्रको प्रचार प्रसार बिभागको सह-इन्चार्ज हुनुहुन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares