Monday, December 9
Shadow

अखण्डित मान्छे – “चेतनपथ” माधव बिडारि


  • -इ
  • इ+

कथा                                                                            सग्लो मान्छे                                                                        ========                                                                लेखक – “चेतनपथ” माधव बिडारि                                                                                                                                    म बरन्डामा बसेर पुषे घाम ताप्दै असन बजारको चहलपहल हेर्दैछु।बाटोमा जिन्दगीसंग प्रतिस्पर्धा गर्नेहरुको भिड्ले भरीएको छ।मान्छेको लम्काइ देख्दा लाग्छ कोशौ टाढा जानको लागि एकाअर्कामा प्रतियोगिता चल्दैछ।म गजबले नियाल्दैछु; असन आफैमा अशक्त छ,ढुङ्गाको चेपबाट बनेको सुरुङ्ग जस्तै बाटो ,त्यसमा सलहका ताती जस्तै सामान किन्ने र बेच्नेको भिड अनि ईटाको चाङ जस्तै अवेवस्थित रुपले आकाशिएका घरहरू ।बाटोको छेउमा लम्पसार परेका फुटपाथे पसल र ग्राहकको ध्यान आफूतिर खिच्ने चिच्याहट ।साच्चै यी सब मेरो जिन्दगी जस्तै भद्दा र असभ्य छन्।देख्दैछु चौबाटोको मन्दिर छेवैबाट परिचित लम्काई मेरो घर भए तिरै लम्कदै गरेको छ।अहो! सुधीर ,मेरो प्रिय मित्र अनि स्कुले जिवनको मेरो निकट प्रतियोगी,म मा स्फुर्ती जाग्यो ।
दस कक्षासम्म सधै म पहिला अनि ऊ दोस्रा हुन्थ्यो ।शैक्षिकसत्रको बीचमा मेरो दुर्घटना भयो अनि ऊ पहिला भयो। मतलब मलाई जित्ने उसको ठूलो सपना पूरा भयो।सायद कसैको दुर्भाग्य कसैको भाग्य बन्दोरहेछ। अहिले ऊ नाम चलेको बैंकको मेनेजर छ।
हप्तामा एकपटक ऊ मलाई भेट्न आउँछ।खबर बुझ्छ र आवश्यक सामाग्री ल्याईदिन्छ।बदलामा कहिले काहीँ उसका जीवन दर्शनका कुरा सुनेर मैले सहनु पर्छ। अघिल्लो भेटमा त “तिम्रो पो जीवन छ त्यसैले दर्शन छ,मेरो न जीवन न दर्शन” भनेर उसलाई निराश बनाईदिएँ।
सोच्दै थिएँ ,आज यसले कुनचाहिँ दर्शन छाट्ने भयो।
“आर्यन के गर्दै?” मन्दमुस्कानमा धाप मार्दै प्रश्न गर्यो।

“म जीवन र जगत हेर्दैछु मित्र”, जवाफ दिएँ।
“आज यो घाम ताप्दै हामी सुन्तला खाने” प्लास्टिकको झोलाबाट सुन्तला निकालेर सुधीर सुन्तला छोड्याउन सुरु गर्यो।केही दाना सुन्तला दुबैले खायौं ।
आज ऊ अलि फरक अवस्थामा छ। कुनै दर्शन छाट्छ कि भनेर उस्को मुख नियाले ,मैले आज उसलाई फगत शून्य पाएँ।
“बुझिस् आज मैले तेरो लागि एउटा कविता लेखेको छु।”

म केही बोलिन ।मैले बिगतलाई सम्झे अनि मेरो सपनालाई सम्झे।मेरो स्कुले जीवन देखि नै मेरो सपना लेखक बन्ने थियो ।नेपाली विषयका हरेक प्रश्नको उत्तर म सकेसम्म साहित्यिक पारामा लेख्थे।कहिलेकाही कविता पनि लेख्थेँ ।अब म यी सब कुराबाट टाढा छु,मैले बाच्ने आश मारेर आफ्नो जिन्दगीलाई नै अस्थब्यस्त पारेको छु।

“के सोचेको सुन्ने हैन?” सुधीर बोल्यो ।
म झस्किएँ।
“सुना न” मैले रुचि नभएको स्वाङ पार्दै भनेँ।
सुधीर आफ्नै सुरमा एकोहोरो कविता वाचन गर्दै छ।म आँखा चिम्लेर सुन्दैछु र महसुस गर्दैछु।
सुधीरले आफै कविता लेख्यो वा अरुकै कविता सुनायो।तर कविताले मेरो सोचाईमा तरंग ल्यायो।म शब्द शब्दमा डुबेँ।मेरै भोगाइ टपक्क टिपेर कविता बनेको थियो।
केही समय पछि सुधीर गयो ,म एक्लो भएँ।एक्लो हुनुको मतलब नै विगतमा फर्केर आफैलाई दुखी बनाउनु हो।
पर्खाइमा मीठो सपना हुन्छ तर पर्खनु आफैमा सकसपूर्ण कार्य हो।प्रत्येक सेकेण्ड वर्षको गतिमा हिडेको हुन्छ,पर्खाइको समय।दश वर्ष भो म पर्खिरहेछु,ऊ आउँछ पक्का छ तर कहिले आउँछ ,कताबाट आउँछ र कस्तो रुपमा आउँछ, म अनभिज्ञ छु ।साच्चै ,मैले कुरेको मृत्युु कहिले आउँछ होला? आफैसंग प्रश्न गरेँ।
यो बरण्डा मेरो संसार भएको छ।मेरो अंसमा परेको यो तीनतले घरको माथिल्लो तलामा मेरो गुँड र बाकी भाडाले नुन तेलको गुजारा हुन्छ।म रुदा,हास्दा र विभिन्न कल्पनामा डुब्दा यहीँ बरन्डा साक्षी बनेको छ।यो सानो संसारबाट म आखाँले भ्याएसम्मको विशाल संसार नियाल्ने प्रयत्न गर्छु तर भेउ पाउदिन यो विशाल संसार मैले देखे जस्तो छ या बम भित्रको बारुद जस्तै रहस्य बनेर लुकेको छ।जे होस् विगत पन्ध्र वर्ष देखि मेरो दिनचर्या मेरो बरण्डाबाट देखिने गल्ली ,त्यहाँ हिड्ने यात्रु,बेलाबेलामा घट्ने अप्रत्याशित घटना र संरचनामा भएको परिवर्तनलाई नियाल्नु भएको छ।
यो अवधिमा हेर्दा हेर्दै आमाको हात समाएर बिधालयजाने बालक लक्का जवन भएर सुनकेसरी जस्तै टलक्क टल्कने र स्फट्टिक जस्तै स्निग्ध प्रियसीको हात समाएर हिड्ने भयो।आधा बक्षस्थल देखाएर गल्लीमा हिड्ने सुन्दर युवतीलाई नियालेर घुटुक्क थुक निल्ने अधबैंसे वेद प्रसादलाई एकोहोरो सङ्ख फुक्दै काधमा राखेर घाट लगे।चोकको सटरमा आधा दर्जन साहुजी फेरिए ,पसलका सामाग्री दैनिक फेरिन्छन्।म मेरो काया नफेरिएर दिक्क छु,नाम्लो बोकेर भारी बोक्न बसेको भरीयाले आफ्नो मैलो र फाटेको कमिज फेर्न नसकेर मुन्टो निहुराए जस्तै हिनताबोधले थलिएको छु।
सोच्दा सोच्दै साझ परेको पत्तै भएन। आज सुधीरले कविता मात्र भनेन, म भित्रको रहरलाई कोट्याएर आलो पार्यो।म भित्रको कविता फलामको पर्खाल भत्काएर निस्कने प्रयत्नमा छ।
**********
बिहान सूर्यका नयाँ किरण मेरा बरण्डामा परे,म दिपाको सहाराले घामलाई अनुभुति गर्न सधैं झै बरन्डामा बसेँ,फरक आज मेरो हातमा कपि र कलम छ।
दीपा मेरी अर्धाङ्गिनी पढेकी छैनन् तर पनि उनलाई आफ्नो कर्तब्यबोध छ,मान्छेलाई चेतना किताबका अक्षरले दिने हैन रहेछ ।गरिब कुलमा जन्मिईन उनको यो पाप प्राश्चितको लागि म संग जीवन बिताउदै छिन् तर उनको अनुहारमा मैले आज सम्म निरासा र असंतोषको संकेत देखिन।न कुनै रहर पोखेकी छन्,न कुनै चाहना राखेकी छिन्।बस यो खहरे माथिको डुङ्गालाई खियाउदै यात्रामा संगै छिन्। महिना बिते पछि आउने घरभाडा मेरो हातमा थमाउछिन् र आवश्यक हुँदा लान्छिन्।खै उनको सोचाइले यो दिनचर्यालाई कसारी सम्झाउछ म अनभिज्ञ छु र चाहेर पनि उनिसंग यस्ता प्रश्न तेर्स्याउन सक्दिन।
म साच्चै कविता लेख्ने सुरमा छु।हातमा कलम छ,टेबुलमा खाली पाना।आँखा बन्द गरेर मगजका पाना खोलेँ।असंख्य भावका लहरहरु उर्लिएर आए,लाग्यो एक दुई ठेली काव्य लेखुँ।आँखा खोलेरे लेख्न खोजे ती सब लहरहरु तलाउको तरंग किनारा पुगि अलप भए जस्तै हराए र मैले फगत शून्य म मात्र पाएँ। लुलो-लङ्गडो एक बबुरो मान्छे म।
*************
बजार बनिसके पछि बिक्नु पर्छ,चाहे सस्तोमा होस् या महंगोमा।चार पाँच दिनमा जोड गरेरै एउटा कविता कोरेँ।

सोध्यौ,
तिमी को हौ?
म एक महारोगी हुँ,
मेरो जीवन भरी,आत्मा भरी,
सोच र बिचार भरी,
पीपले टिलपिल गरेका,
कुनै फुटेर बाडिएको रगत बगिरहेका,
असंख्य घाउ छन्।
कुनै खाटा बसेका छन्,
कुनै भर्खर सुरु भएका जलजलाउदा छन् ।
देख्दा तिमिले म,
आल्चाका दाना जस्तै
सग्ला र चिल्ला देख्छौ तर,
म एक बिचारको महारोगी हुँ।

म यन्त्र मानवले जस्तै हिड्छु,
चलमलाउछु,र तिम्रा उस्का अनि
तिम्रा र उस्का संबंधितहरुका
आलोचना गर्छु।

बस म,
चोलामा सीमित,
आवरणमा सीमित,
विलासमा सीमित,
यस्तै यस्तै एक सीमित मानव हुँ।

बीस बाईस दिनमा यस्तै यस्तै आँसु पोखिएका पाँच कवितामा एकोहोरो मनका कुण्ठालाई पोखेँ।कसैले मेरा सुन्दियोस र भावनामा डुबोस भन्ने बडो हुटहुटी जाग्यो त्यसैले सुधीरलाई बारम्बार सम्झिरहेँ। लेख्दा एउटा कुरो बहुत खड्किएको छ,मैले पीडा र आँसु बाहेक अन्य केही लेख्न सकिन।यि तीन सातामा मनमा भने आत्मसन्तुष्टि भयो।
*******
निक्कै दिन पछि सुधिरका पाइला मेरो अगाडी मोडिए।मेरा कविता हेर्दै ऊ मुस्कुराई रहेको छ।मलाई लेख्दा भन्दा उसलाई पढ्दा अझै सन्तुष्टि मिलेको आभास भयो।
“यो कविता तेरो मुखबाट सुन्ने रहर पलायो।” डायरीको कविता देखाउदै सुधीर बोल्यो।
म कविता पाठ गर्न लागेँ।

रुख ……..!

रुख!
हो म रुख हुँ ,
बुउउडो रुख,
बिगतमा पनि म रुख थिए,
झपक्क पात,
हरिया बोक्रा ,
म भित्र बलियो चुरो थियो,
धमिरा लुक्ने प्वाल थिएन,
मेरा जराले बलियोसंग जमिन समातेका थिए,
मेरो काखमा अनेक चराहरु घर मानेर बस्थे,
बलिया हाँगामा कोइलीको ध्वनि गुन्जिन्थ्यो,
मेरो छायामा भरियाहरु शितल मान्थे,
यो ठाउँको म सजावट थिए,
एकदिन मसंग साँपले आश्रय माग्यो,
लौ भने,
उसले मेरो शरीरभरी विष ओकल्यो,
त्यसको असरले म दुखे,
मेरो मुख्य जरोमा उसले घर खन्यो,
म सुके ,उ अर्को रुख खोज्न गयो।

रुख!
हो म रुख हुँ ,
बुउउडो रुख,
हेर आज,
मेरा पात छैनन् ,हरिया बाहिरी आवरण पनि छैनन् ,
जराहरु मक्खिएका छ्न्,हाँगा जिर्ण छन्,
म यो रुखो र निश्प्राण बन्जरमा उभिएको छु,
एक झोक्का हावाले उडाउनु पर्ने म,
माली यी धमिराहरु भित्रभित्रै कता लुक्छन्,
यी भित्र पसेपछी मेरो मुटु जोडले चर्कन्छ,
म मुर्छा पर्छु ,
पछि यी बाहिर निस्कदा मोटा र चिल्ला भएर निस्कन्छन्,
मेरो आँसु पुछ्दै मुस्कुराउछ्न् र भन्छन् रुख बाच्नु पर्छ ,
हाम्रा लागि हाम्रा सन्ततिको लागि अनि सन्ततिका ..,
म यिनकै लागि बाचिरहेछु।

रुख!
हो म रुख हुँ,
बुउउडो रुख,
भोलि,
म ढल्नेछु,
यी धमिरा अर्को रुख खोज्नेछ्न्,
म सडेको काठमा रुपान्तरण हुनेछु,
मेरो छातिमा बन्चरो बझ्रीने छ,
र ,
म कसैको चुलोमा बल्नेछु,
ओहो! म बलिरहेको हुनेछु।

  • पुलुक्क सुधीरको मुखमा हेरेँ,उ एकाग्र भै सुनिरहेको थियो,लाग्यो उसले सास फेरेको छैन।
    “म यतिको कविता लेख्न सक्ने भए ,उ त्यो खाली भित्ता प्रमाणपत्र पत्रले भरिएको हुन्थ्यो।”सुधीरले कोठाको खाली भित्ता देखाउदै भन्यो।
    म बोल्ने कुनै शब्द नपाएर मौन बसेँ।
    “हेर संसारमा कोहि कम्जोर हुन्न,आफूले अरुसंग तुलना गर्दा आफै कम्जोर देख्ने हो। प्रकृतिले एक चिजको अभाव भए अर्को चिज दिएर सन्तुलन मिलाएको हुन्छ,लेख्न नछोड।” यति भनेर सुधीर बिदा भयो।
    **************
    सुधीर मेरो मरुभूमि भएको मनमा अलिकति पानी पोखेर गयो।म अझै प्यासले छट्पटाए। निकैबेर खाली भित्ता हेरें। एकाएक खाली भित्ता भरी प्रमाणपत्र,तक्मा र सम्मानका फोटाहरुले भरीए। प्रमाण पत्र र तक्मा लिदै गरेका फोटाहरुमा म सग्लो छु,स्वस्थ छु र फुर्तिलो छु।
    *******
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares