कपिलवस्तु–मागभन्दा ढिलो वितरण भइरहेको रासायनिक मल पनि अपुग भएपछि किसान चिन्तित बनेका छन् । पर्याप्त मल नपाउँदा पाएको परिणाम पनि ‘निल्नु न ओकल्नु’ जस्तो भएको किसानको गुनासो छ ।‘पहिला निकै भनसुन गरें,’ कपिलवस्तु–६ बर्मेलीका रामगोविन्द चौधरीले भने, ‘बल्लबल्ल दुई बोरा युरिया र एक बोरा डीएपी पाएँ ।’ उनलाई १० बोरा युरिया र चार बोरा डीएपी चाहिन्थ्यो ।
‘सरकारले छर्न नभई हेर्नलाई मात्रै मल बाँडेजस्तो लाग्यो,’ उनले दुखेसो पोखे । ‘जोखना हेर्ने गरी मल वितरण गरियो,’ उनले भने, ‘त्यो निल्नु न ओकल्नु भएको छ ।’ ढिलो रोपाइँ गरेका किसान मल अभावले समस्या र चिन्तामा छन् । जिल्लालाई धान खेतीका लागि १५ हजार मेट्रिक टन युरिया र १२ हजार मेट्रिक टन डीएपी आवश्यक रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष भदौमा ७ सय ९२ मेट्रिक टन युरिया र ६३ मेट्रिक टन डीएपी मात्र वितरण गरिएको छ ।
जिल्लालाई अहिले आएको ७ सय ९२ मेट्रिक टन युरिया मल १० स्थानीय तहलाई बाँडिएको छ । खेतीयोग्य जमिनका आधारमा कृषि ज्ञान केन्द्रको रोहवरमा वितरण गरिएको हो । तौलिहवा र बहादुरगन्जमा रहेको कृषि सामग्री लिमिटेड कम्पनीले सहकारीमार्फत किसानलाई मल दिइरहेको छ । खासमा बीउ छर्ने बेला डीएपी चाहिन्छ तर त्यतिबेला उपलब्ध भएन । अहिले धानले गाँज हाल्ने बेला हो । यसबेला युरिया मल राख्नुपर्छ । ‘त्यो पनि आवश्यकताअनुसार वितरण भएन,’ अगुवा किसानले भने, ‘वर्षा पनि राम्रो भएको छैन । किसानले मल पनि पाएनन् । खेतमा धाँजा फाटेको छ । अब कसरी घरगर्जो गर्ने चिन्ताले थलिएका छौं ।’
सरकार किसानमैत्री नभएकाले खेतीपाती गर्न जाँगर नचलेको किसानले सुनाए । ‘अब विदेशिनुको विकल्प देखेको छैन,’ उनी निराश सुनिए । जिल्लामा यस वर्ष ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । मल अभावसँगै पर्याप्त वर्षा नहुँदा उत्पादनमा कमी आउने ज्ञान केन्द्रका प्रमुख रवीन्द्रचौबेले बताए ।