Wednesday, April 24
Shadow

राष्ट्र बैंकले सार्वजनिक गर्यो पाँच महिनाको प्रतिवेदन


  • -इ
  • इ+

काठमाडौं, पुस २९ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको देशको बर्तमान आर्थिक अवस्था सम्वन्धी पाँच महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आज बुधबार सार्वनिक गरेको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात पाँच दसमलव एक प्रतिशतले वृद्धि भई ५० अर्ब छ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः आठ दसमलव छ प्रतिशत र शुन्य दसमलव आठ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५५ दसमलव दुई प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान,धागो ९पोलिष्टर तथा अन्य०, चाउचाउ, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आवको पाँच महिनामा कुल वस्तु आयात नौ दसमलव छ प्रतिशतले घटेर पाँच खर्ब २५ अर्ब ५० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात चार दसमलव दुई प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः एक दसमलव एक प्रतिशत, २४ दसमलव चार प्रतिशत र २० दसमलव आठ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा कच्चा सोयाविन तेल, चामल, एमएस बिलेट, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा,कच्चा पाम तेल,अन्य मेसिनरी तथा पार्टपुर्जा,यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

निनर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

चालु आवको पाँच महिनामा कुल वस्तु व्यापार घाटा १० दसमलव नौ प्रतिशतले घटेर चार खर्ब ७५ अर्ब ४४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा छ दसमलव तीन प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दसमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दसमलव दुई प्रतिशत रहेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares