राजेन्द्र गजुरेल/काठमाडौं- स्थानीय तहको उपनिर्वाचनको नतिजाले हौसिएको नेकपा माओवादी केन्द्र आफ्नै नेताहरुको अभिव्यक्ति र प्रचण्ड चालका कारण समर्थन गुमाउन पुगेको छ । नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टर्राइ नेतृत्वको नेसपाबिच पार्टी एकता गर्ने दाउँमा रहेको माओवादी अन्तिममा तीदलको समर्थन गुमाउन पुगेको छ ।
विप्लव नेतृत्वको नेकपासँग माओवादीको एकता प्रक्रिया अन्तिम चरणमा थियो । तर विप्लव पक्षले एकता नगर्ने निर्णय नै गरेको छ । विगत लामो समय देखि एकता प्रक्रियालाई मूर्तरुप दिन प्रयास गरे पनि अन्तिम समयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रणनीति बुझेपछि विप्लव टाढिएका छन् ।
मंगलबार केन्द्रीय कार्यालय कपिलबस्तुमा सम्पन्न विप्लव नेकपाको केन्द्रीय समितिको बैठकले माओवादी एकताका लागि उदासिन रहेको भन्दै तत्काल एकता नगर्ने निष्कर्षमा पुगेको छ । माओवादी अध्यक्ष प्रचण्डले एकताका लागि केही समय अघि देखि नै विप्लवलाई फकाउँदै आएका थिए । उनले पार्टीभित्र आफ्नो नेतृत्व माथिको संकट टार्न विप्लव भित्र्याउने योजनामा निकै जोडतोडका साथ लागेका थिए ।
यसैबीच माओवादीले केही दिन अघि पार्टी एकताका लागि अन्यत्रबाट आउनेलाई पूर्ववत् पार्टीकै जिम्मेवारी दिने निर्णय समेत गरेको थियो । यसले अन्य दलसँगको एकता प्रक्रिया अघि बढाउन थप सहजहुने आँकलन गरिए पनि एकताको सन्निकट रहेको विप्लव बाहिरिनुको रहस्य भने अर्कै रहेको माओवादी वृत्तमा चर्चा छ । प्रचण्डको पार्टीमा समाहित हुनेलाई पुरानै पार्टीको जिम्मेवारी दिने निर्णय विप्लव लक्षित नभएर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सहज हुने गरी ल्याइएको माओवादी स्रोत बताउँछ ।
पूर्व माओवादीको एकतामा जोड दिँदै प्रचण्डले विप्लवलाई भित्र्याउने सार्वजनिक उद्घोष गरे पनि आन्तरिक रुपमा भने माधव नेपाललाई मात्रै एकतामा सहभागी गराउने रणनीति तय गरेपछि विप्लव बिच्किएको स्रोतको दाबी छ ।
माओवादी नेतृत्वदेखि नेतासम्मले दिने अभिव्यक्तिहरुका कारण पनि एकता प्रक्रियालाई तत्काल अगाडी बढाउन नसकिने नेकपाका नेता खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड) बताउँछन् । उनका अनुसार, माओवादीका केही नेताहरु एकता र सहमती भाड्ने खालका तुच्छ अभिव्यक्ति व्यक्त गरेका कारण इमान्दार क्रान्तिकारी माओवादीको एकतावद्ध हुने चाहना र माओवादीहरु एक हुनभन्ने जनताको चाहनामा तुसारापात भएको प्रकाण्डको भनाई छ ।
माओवादीभित्रका केही नेताहरु एकताका लागि जिम्मेवार छैनन् भन्ने देखिएपछी हामिले एकता प्रक्रियालाई रोकेका हौँ । ताथापि पनि कम्युनिष्ट एकताको बाटो भने खुल्ला राखेको उनले बताएका छन् । आफूसँग एकताको आश्वासन दिएर प्रचण्डको माधव नेपाल च्याप्ने रणनीतिक योजना बुझेपछि विप्लव एकताबाट टाढिएको उच्च स्रोतको दाबी छ ।
अर्को तर्फ एकीकृत समाजवादीले कुनै पनि पार्टीसँग एकता नगर्ने निर्णय हालै सम्पन्न स्थायी कमिटी बैठकले गरेको छ । विप्लवलाई आश्वासन दिएर माधव नेपाल भित्र्याउने प्रचण्डको उपयोगको रणनीति फेरि एकपटक असफल भएको छ ।
पार्टी एकताका लागि माओवादीको नेतृत्वमा तयार भएको समाजवादी मोर्चा पनि अब विगठन हुने निश्चित भएको छ । समाजवादी मोर्चामा अब नेकपा एकीकृत समाजवादी सामेल हुन नसक्ने नेकपा एसका स्थायी कमिटि सदस्य साध्यबहादुर भण्डारीले बताएका छन् । उनका अनुसार, प्रचण्ड नेतृत्वको माओवादी पार्टी समाजवादी नै नभएकाले हामि त्यसमा रहन नसक्ने निष्कर्ष पार्टीले गरेको हो । प्रचण्डको नीतिमा लाग्नु भन्दा वाम एकताको नेतृत्व एमाले गर्यो भने त्यसमा समाजवादी पनि सामेल हुने संकेत भण्डारीले दिएका छन् ।
यसो त नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टीबिच भएको एकता गर्ने सहमति पनि अन्योल बनेको छ ।