अजय वर्मा,कपिलवस्तु, मंसिर १२
विश्व एड्स दिवस २०२६ को अवसरमा कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित भिल्मीमा समुदायस्तरीय एचआईभी परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
एएचएफ (AHF) नेपालको आयोजना, स्वास्थ्य कार्यालय कपिलवस्तुको समन्वय तथा कृष्णनगर नगरपालिका र नमुना एकीकृत विकास परिषद्को सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। समुदायस्तरमै सहज रूपमा स्वास्थ्य सेवा पुर्याउने र एचआईभी तथा एड्ससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूलाई एचआईभी संक्रमण सर्ने माध्यम, यसबाट बच्ने उपाय, समयमै परीक्षण गर्नुको महत्त्व तथा राज्यबाट उपलब्ध निःशुल्क उपचार सेवाबारे विस्तृत जानकारी गराइएको थियो। सोही अवसरमा समुदायस्तरमै निःशुल्क एचआईभी परीक्षण सेवा प्रदान गर्नुका साथै संक्रमणको जोखिम न्यूनीकरण र सुरक्षित यौन व्यवहारलाई प्रोत्साहन गर्न निःशुल्क कन्डमसमेत वितरण गरिएको थियो।
स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले समुदायमै पुगेर दिइने यस्ता परीक्षण, परामर्श र सचेतनामूलक सेवाले एचआईभी परीक्षणमा आम नागरिकको पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, समाजमा अझै पनि विद्यमान एचआईभीप्रतिको भ्रम, डर, लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताइएको छ।
एचआईभी रोकथाम, परीक्षण र उपचार सेवामा सबैको समान पहुँच सुनिश्चित गर्न आगामी दिनमा पनि स्थानीय तह, स्वास्थ्य कार्यालय र सरोकारवाला निकायहरूबीचको समन्वय र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्।
