रचना – टि .पि. तिमिल्सिना ( रसुवाली कवि )
बिग्रेका छैनन् महिलाहरु
पितृसत्ताको आडमा चेपिएर
महिलाहरूलाई गाली गरिरहेका छ्न कोही
महानताको आसनमा बसेर
कसैलाई तुच्छता लौरो प्रहार गरिरहेका छन कोही
समानतामुलक समाज बनाउनुपर्छ भन्ने
धिर गम्भीर बहसबाट फर्केको पुरुष बुद्धिजीवी
आफै मातिएको छ बियर नसामा
उ लेखिरहेछ
दरमा दारु खाएर महिलाहरूले बिगारे यो समाज
बर्षको एकपल्ट आउने तिजमा
केही घुडका बियर पिएकी हुन राममती भाउजूले
राममति भाउजु बियर पिउदा
बिग्रेको हाम्रो संस्कार
राममती भाउजूको श्रीमानले
टिल भएर रक्सी पिउदा किन बिग्रेन
राममती भाउजू बिग्रेको सत्य कि
हाम्रो सोच्ने तरिका बिग्रेको सत्य
महिलाहरूले
एक थाल खिर खादा
एक घुडका बियर पिउदा
एक झप्को पप गीतमा नाँच्दा
एक चोटि घर ढिला आउँदा
एकचोटि मात लाग्दा
एकचोटि उन्मुक्त हाँस्दा
कसरी बिग्रीन्छ हाम्रो समाज ?
कसरी फैलिन्छ यो समाजमा बिकृती
बोकेर दिमागभरीको पुरुषसत्ताको गीत
बिग्रीयो भनेर संस्कार , संस्कृति
आफै हवास गनाएर
तिमी यस्तो खेल नखेल साथी
तिमी यस्तो झेल नगर साथी
महिलाले हाँस्दा पनि बिग्रने समाज
महिलाले रुदा पनि बिग्रने समाज
बिग्रीयोस न बिग्रीयोस
फ़ेरि अर्को समाज बनाउला साथी
समानताको गीतमा रमाउला साथी