काठमाडौं,३० असार।
कविता – बाँकी छ यो सम्झना
फुल्थ्यो फूल बगानमा रहरिलो बास्ना हवामा छरी ।
हाँस्थ्यौ पुष्पक प्रेमले वरिपरी आऊ भने झैँ गरी ।।
आत्माले प्रेम चुम्दथ्यो प्रकृतिमा स्वयं म बन्दा धरा ।
माया खोज्दथ्यो प्रेमीको हृदयले प्यूँदै सुधाको सुरा ।।
आँखाले मन त्यो चियाउन सधै पर्खी बसेको थियो ।
ब्यूँझ्यो प्रेम प्रभातबाट बलियो छाया लिई स्वर्गको ।
गर्थेँ पुष्प र पत्रले हृदयको प्रेमादी सम्बोधन ।
भन्दे प्यार उनीसितै यतिकुरा गर्दैछु आन्दोलन ।।
हेर्दै शौम्य गुलाफको वदनमा गरिरहेँ बन्दना ।
प्रेमै दिव्य सुवर्ण मेघ सरीको अहा! मीठो कल्पना ।।
चिन्ता छैन रङ्गाईदिन्छु सहजै खुशी मिलाईकन ।
नाता जोर्न म आउँनेछु दिलको आभा उज्यालोसँग ।।
टुट्यो सुन्दर जिन्दगी सुनहला सारा खरानी भयो ।
कस्ले बुझ्दछ वेदना हृदयको यो प्रेममा कष्ट भो ।।
आफ्नो हार्दिक देवता पर हुँदा रोईरहेको मन ।
जो सम्झी गह बन्छ नित्य रसिलो आत्मा रुँदा दिन्दिन ।।
हाम्रो भेट हुँदा दुबै तरफमा आँखा जुधेका थिए ।
आत्माभित्र बस्यौ तिमी बसिदियौ संकोच नै रित्तिए ।।
मीठो माद चढ्यो बढ्यो ढुकढुकी के के मलाई भयो ?
तिम्रो मात्र छ सम्झना मनभरी सम्हाल्न गाह्रो छ यो ।।
दोबाटो ढुकुँला म सम्झी बसुँला तिम्रै प्रतीक्षा गरी ।
आए हुन्छ तिमी यिनै पवनमा पर्खी यता बस्छु नी ।।
मेरो साथ रमाउँदै सँगसँगै हाँस्ने तिमी हैन र ?
बिर्सू बिर्सिन सक्दिन म त सखे भुल्नै कहाँ सक्छु र ?
काबुमा मन राख्न सिक्नु कसरी ती याद तिम्रो हुँदा ।
आँखाबाट बलिन्द्र भो बरबरी सम्झी यता म रूँदा ।।
भक्कानो मुटुमा नपारूँ कसरी दुखे मुटुका कुना ।
पीडा मात्र थपिन्छ झन् सकसले बाँकी छ यो सम्झना ।।
– सुमित्रा सुमी
नुवाकोट ।