एच.के.धितालको पाँच मुक्तक
मुक्तक:-१
अहिले अधिकांश जनता कुनै न कुनै मारमा छ्न
देशको चौतर्फी बिकास गर्न कोहि सरकारमा छन
देशको बिकास गर्न ल्याउन त ल्यायौ रेल योजना
त्यही रेल चढ्नु पर्ने कतिपय साउदी कतारमा छन
मुक्तक:-२
बेईमानलाई पनि अन्तमा ईमान्दार चाहिदो रैछ
यो पक्कै मरेको हो भन्न कुनै आधार चाहिदो रैछ
यहाँ आफन्त छ्न भनेर कसरी भन्न सकियो र खै
लास भै सकेपछी पनि गाड्न सरकार चाहिदो रैछ
मुक्तक:-३
ठाउँको ठाउँ मै पेट्रोल आउँछ तेल आउँछ
आए आउँछ नआए कमिशन्को खेल आउँछ
एउटा मान्छे हतारमा थियो मैले भनी दिए
केही बर्ष पर्ख बाबू नेपालमा रेल आउँछ
मुक्तक:-४
ओकलेर समृद्धिको आधार अर्थ न बर्थ
बोकाएर बिदेशि ऋणको भार अर्थ न बर्थ
शुक्रवारको काम नै सकिएको हुदैन यहाँ
आईतबार बिदा दिन्छ सरकार अर्थ न बर्थ
मुक्तक:-५
जनता प्रती सरकारको आधार कस्तो लाग्छ ?
घर घरमा दिएको त्यो उपहार कस्तो लाग्छ ?
जनताले जनताको लागि चुनेको यो सरकार
जनताकै काँधमा महङ्गिको भार कस्तो लाग्छ?
टोखा न.पा.वार्ड नं १,झोर
एच.के.धितालको पाँच मुक्तक
- -इ
- इ
- इ+