काठमाण्डौँ, पुष ९
मुक्तक
# बलेकै ताप्ने यो ठाउँमा के गुनासो गर्नु
कोट्याए दुख्छ घाउमा के गुनासो गर्नु
आफ्नै भाइ दशैँमा टीका थाप्न आएन
दाइकै झुपडी गाउँमा के गुनासो गर्नु
# तिरस्कारको गोलीबाट खत प्राप्त गरेको छ
जिन्दगीमा खुसीले अपगत प्राप्त गरेको छ
मेरो दिललाई पनि सहिद घोषणा गरियोस्
प्रेमयुद्धमा यसले सहादत प्राप्त गरेको छ
# यता काँडा बिझ्दा उता चाहिँ ऊ नाचिरहेछ
म भारत दिल्ली ऊ पाकिस्तान कराँची रहेछ
व्याकरणले विपरीतार्थक शब्द हो भनेपनि
मेरो पीडा दुस्मनको खुशीु पर्यायवाची रहेछ
# नछोपीकन हिँड्दा झन् थिएन भर गलामा पनि
अपराधीहरूले लाउँथे गिद्दे नजर गलामा पनि
बरु छोटो लाएको भए बलात्कार मात्र गर्थे होला
लामो भइदिनाले कस्दिए मफलर, गलामा पनि
# सेवा गरेजस्तै गरी गालामा झापड हान्नेहरू छन्
कसैको भर नपर्नुस् आमा झापड हान्नेहरू छन्
तपाईंलाई कसैले चश्मा दिएको सुनेर चिन्तित छु
यहाँ लामखुट्टे मार्ने बहानामा झापड हान्नेहरू छन्
गजल
स्वयं सजाएको हो तर पनि बस्दैन हृदयमा आफैं हट्छ
नवजोडीको प्रोफाइल फोटो केही समयमा आफैं हट्छ
गुणलाई भन्दा सङ्ख्यालाई मान्यता दिनेले यो जानुन्
सिङ्गो तारामण्डल पनि यौटा सूर्योदयमा आफैं हट्छ
किनारमा छ सुकुम्बासी बस्ती व्यर्थैमा डोजर चलाउँछौ
वर्षा आओस् बाढी आओस् सरकार, प्रलयमा आफैं हट्छ
घर बिग्रिएपछि मन टुटेपछि हाँस्यकलाकार भएको हुँ हजुर
देखावटी भएपनि सारा पीडा अभिनयमा आफैं हट्छ
उसको विवाह गर्ने रहर छ , विहेपछिको अनुभव नसुनाइदेऊ
अगाडि पहरा छ सुनेपछि यात्री लड्ने भयमा आफैं हट्छ
खगेन्द्र समरस