बुधबार, बैशाख ९ २०८३
काठमाडौं ।
उदयपुरकी मालावती काफ्लेलाई …दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानÚ अर्पण गरिएको छ । नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मान बुधबार काठमाडौँमा आयोजित एक भव्य समारोहकाबीच काफ्लेलाई अर्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कथाकार तथा साहित्यकार भागिरथी श्रेष्ठ, पुरस्कार संस्थापककातर्फबाट प्रतिनिधित्व गर्ने इन्द्रकुमारी खनाल, समाजका पूर्वअध्यक्ष विधान आचार्य, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली लगायतले काफ्लेलाई सम्मान अर्पण गर्नुभयो ।
ओझेलमा परेका नारी स्रष्टालाई प्रदान गरिँदै आएको यस सम्मानका साथ नगद राशि २० हजार १११ रुपैयाँ रहेको छ । सामाजिक अन्यायविरुद्ध आवाज उठाउँदै आउनु भएकी काफ्लेले झ्याउरे गीत सिर्जना गर्नुहुन्छ । उहाँले संगिनीका माध्यमबाट सामाजिक रुपान्तरणको आवाज अभिव्यक्त गर्दै आउनु भएको छ ।
सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै मालावती काफ्लेले महिलाहरुलाई दुःख नहोस्, आफूले पढ्न नपाए पनि अरुले पढ्न पाउन, समाजमा कुनै समस्या नहोस् भनेर अहिले पनि आफू समाजसेवामै सक्रिय रहने गरेको सुनाउनु भयो । महिला समूह बनाएर उनीहरुलाई शिक्षित र जागरुक बनाउँदै आएको उहाँले बताउनु भयो । विगत ३०–३२ वर्षमा महिलाहरुको ठूलो उन्नती भएको स्वीकार गर्नुपर्ने पनि उहाँको भनाइ छ । पितृप्रसादको रुपमा यो सम्मान पाएको भन्दै नेपाल स्रष्टा समाज र पुरस्कार संस्थापकलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।
सम्मानीत स्रष्टा काफ्लेका बारेमा साहित्यकार विधान आचार्यले विस्तृतमा चर्चा गर्नुभयो । उदयपुरको चुहाडेकी मालावती काफ्ले नारी सशक्तिकरण र महिला उत्थानका लागि पहल गर्ने नारी स्रष्टा भएको उहाँले चर्चा गर्नुभयो । जो आफू पनि बाहिर प्रकाशित हुन सकेको छैन र भित्रभित्र रचना पनि गरिरहेको छ त्यस्ता व्यक्तिहरुलाई सम्मान गर्ने भनेर यो पुरस्कार स्थापना गरिएको उहाँले बताउनु भयो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले उपर्युक्त पात्रलाई छनौट गरेको भनेर समाजलाई धन्यवाद तथा सम्मानीत व्यक्तित्व मालावती काफ्लेलाई बधाई दिनुभयो ।
समाजकी पूर्वमहासचिव तथा गीतकार पुष्पा खनालले यो सम्मान २०७५ सालमा आफ्नी आमा दमन्ता खनालको स्मृतिमा स्थापना गर्नु भएको हो । स्वर्गीय माताको जन्मदिन पारेर बुधबार यो सम्मान अर्पण गरियो ।
कार्यक्रममा गीतकार पुष्पा खनालले रचना गरेको नयाँ गजल ‘पिरतीको गीत’ को लिरिकल भिडियो पनि लोकार्पण गरियो । कार्यक्रममा सहभागी सोही गजलकी गायिका गंगा सोनामले एक टुक्क्रा गाएर पनि सुनाउनु भयो । यो गजललाई नरेन्द्र प्यासीले संगीतबद्ध गर्नु भएको हो ।
परदेशमा रहुनभएकी पुष्पा खनालले भिडियो सन्देशमार्फत सम्मानीत स्रष्टा, अतिथि र सहभागीहरुलाई धन्यवाद दिनुभयो ।
कार्यक्रम समापन गर्दै समाजका महासचिव तथा सभाध्यक्ष प्रकाश घायलले आफूसहित पुरस्कार संस्थापक पुष्पा खनाल र रञ्जना निरौला सदस्य रहेको समितिले काफ्लेलाई छनौट गरेको जानकारी दिनुभयो । उहाँलाई सम्मान गर्न पाउँदा समाज पनि सम्मानीत भएको उहाँले बताउनु भयो ।
यो पुरस्कार २०७५ सालबाट नेपाल स्रष्टा समाजको व्यवस्थापनमा सुरुवात भएको हो । यो पुरस्कारबाट हालसम्म सिर्जना शर्मा, इन्द्रा गहतराज, डिक्रा वादी, प्रतिमा पोख्रेल, निर्मला मुरारी, लता गिरी, यमुना पराजुली, लक्ष्मी तिवारी -तिवारी आमा) र यसपटक मालावती काफ्ले सम्मानीत भइसक्नु भएको छ ।
समाजका सदस्य शंकर भारतीले अतिथि र सहभागीहरुलाई स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण समाजका सदस्य माधव विडारी चेतनपथले गर्नुभएको थियो ।
