Saturday, April 27
Shadow

पराजित अवस्थामा निरास बनेका कार्यकर्ता अनि आशा देखाउन नसक्ने नेतृत्व ! अबको हाम्रो रोडम्याप !!


  • -इ
  • इ+

काठमाडौं – श्रावण १३ गते क्षेत्र नम्बर ६ ले आफ्नो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनमा बोल्ने अधिकांश प्रतिनिधिले गुटगत आधारमै धारणा राखेपनि टकरावपूर्ण संघर्षका कारण वक्ताहरु नीति र नियतिलाई छोडेर व्यक्तिकै पछि लागेको जस्तो भान हुन्थ्यो । जे जसरी सुझाव र आलोचना भएपनी अधिवेशनमा संगठन सुधारका लागि धेरै सुझाव आएको र ति सुझावलाई आफुले अपनत्व गर्ने क्षेत्रिय सभापति श्यामकृष्णी खड्कीले बताए ।
यो अधिवेशनमा बोलेका सबै प्रतिनिधिले मौखिक धारणा राखेपनि लक्ष्मीराज भण्डारीले भने आफ्नो राय सुझावसहितको लिखित प्रस्ताव नै बैठकमा प्रस्तुत गरेका थिए ।

प्रस्तावमा रुखले टिकट ल्याउँदा मुख हेरेर अन्तर्घात गर्नेदेखि पार्टीको टिकट ल्याउन देखिएको रस्साकस्सीसम्मलाई नियालिएको छ । हिजो चुनावमा झण्डा नबोक्नेहरुलाई अब पार्टीमा कुन र कस्तो स्थान दिने भन्ने विषयमा पनि गम्भीर समीक्षा हुनुपर्ने आवश्यकता प्रस्तावमा महसुस गरिएको छ । बढ्तो रास्वपाको क्रेजबाट अत्तालिएका कार्यकर्तालाई सम्बोधन गर्दै हिजो भट्टीमा उधारो खाने र कुखुरा चोरको अभियोग लाग्नेबाट कांग्रेस अत्तालिनु नपर्ने तर्कसमेत भण्डारीले प्रस्तुत गरेका छन् ।
विगतको गर्विलो इतिहास, चुनाव हारेको वर्तमान र निराशा बन्दै गएका कार्यकर्ता पंक्तिमा कसरी उर्जा भर्न सकिन्छ भन्दै पार्टी सुदृढीकरणका लागि भण्डारीले पेश गरेको प्रश्न सहितका प्रस्ताव तल प्रस्तुत गरिएको छ ।

मितिः २०८० साउन १३ गते
आदरणीय क्षेत्रिय सभापति ज्यू,

नेपाली कांग्रेसको विधान र केन्द्रीय कार्य समितिको परिपत्र अनुसार आज हामी हाम्रो क्षेत्रिय अधिवेशनमा जुटेका छौँ । उपस्थित सम्पूर्ण क्षेत्रिय प्रतिनिधिहरु र सिंगो यो सभामा पछिल्लो समय पार्टीभित्र देखिएका केहि चुनौती र केहि अवसरसहित भोलीको आशाका बाटोलाई लक्षित गरि केहि सुझावहरु यस क्षेत्रिय सम्मलेनमार्फत लिखित रुपमै प्रस्तुत गर्दछु । अब म क्षेत्रिय प्रतिनिधिका हैसियतमा मैले देखेका र महशुस गरेका केहि सुझावहरु प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
देशैभरी कांग्रेस ठुलो दल बन्दा पनि सधै जित्ने हाम्रो संगठन र उर्जावान नेता कार्यकर्ता हुँदाहुदै चुनाव हार्न परेको तितो यथार्थ हामी माझ विवितै छ । तर हार्नेले पार्टीकै असहयोग महशुस गरिरहेका वेला हराउन लागेका आरोप खेप्नेहरु उपेक्षामा परेको गुनासो गरिरहेका छन । मेरो अनुरोध छ आजको भेलाबाट यी दुईबीचको मिलनविन्दु खोजौँ ।
हामी उपस्थित क्षेत्रिय प्रतिनिधिहरु बलियो कांग्रेसको अपेक्षा गर्ने तर त्यसका लागि आफू वद्लिन तयार नहुने रोगबाट ग्रसित छौँ । तर प्रश्न छ टोल सभापतिदेखि क्षेत्रिय सभापतिसम्म नबदलिएको बलियो कांग्रेस कसरी बन्छ ?
हामीले नै निर्वाचित गरेका चार जना महाधिवेशन प्रतिनिधिले पार्टीलाई नै असहयोग गरी किनारा लाग्दा हामीले कस्तालाई प्रतिनिधि बनाएछौ भन्ने प्रश्न हामीमाथि पनि छ । यसलाई अहिले पार्टी छोड्ने बढ्दो लहर र नेतृत्वमा देखिएको अलोकतान्त्रिक चरित्र नयाँ पुस्तामा जोगाउन नसकिएको अवस्थालाई समेत चित्रण गरेको छ । अबपनि हामी गुटगत राजनीतिमै रमाउने, विधान भन्दा नेता मान्ने र पार्टीभीत्रको समस्याका बारेमा निकास नखोज्ने हो भने हाम्रा नेता कार्यकर्ताको नै विश्वास गुमाउने पक्का छ भने यसले जनताको विश्वास कसरी जितिन्छ ?

१. स्थानीय सरकार कांग्रेसकै भएपनि आज जनतालाई कांग्रेसको सरकार भएको महशुस नहुन र पार्टीसंगको संस्थागत आवाज नसुनि केहि व्यक्ति नेता बोक्नुले हाम्रो नेतृत्वको स्थानीय सरकारमाथि प्रश्न छ । नेतृत्वले यसमा पुर्नविचार गरोस ।

२. हिजो पार्टीमा अन्र्तघात गर्नेहरु अहिले पार्टीमा फर्किएको देख्न पाँउदा खुसि लाग्दा चुनावको बेला झण्डा नबोक्ने, आफ्नै पार्टीको उम्मेद्वारको आलोचना गर्नेहरु सुध्रिएर फर्केका हुन या फेरि अर्को निर्वाचनमा बिथोल्न आएका हुन ? प्रमाणिकता जाच्ने र पर्खने काम नेतृत्वको हो । जसमा आम कार्यकर्ता समेत विश्वस्त हुने आधार तयार गर्नुपर्छ ।

३. क्रियाशिल वितरण गर्ने क्रममा छौ । अवपनि श्रीमती र छोराछोरीलाई नै सदस्य दिएर संख्या बढाँउछौ कि ? नत्र यहि भेलामा त्यस्ता प्रतिनिधिहरु किन उपस्थित हुन सकेनन् ? अबको संगठन विस्तार यो परम्पराभन्दा माथि उठाउन जरुरी छ । नेतृत्वले यतातर्फ ध्यान दिओस ।

४. सामाजिक सञ्जालको बढ्दो लोकप्रियता र आम नागरिकताको व्यस्तता पनि त्यतै छ । तर त्यसको उचित प्रयोगमा हाम्रा नेता र कार्यकर्ता कति सचेत छन ? जहाँ प्रशंसाकै पुलिन्दा बाधेका पोष्टहरु बद्नामीका आधार बनेका छन । यस्ता सञ्जालको सहि प्रयोगका लागि नेतृत्वले कार्यक्रम किन नल्याउने ?

५. विधान पालना, विधिको र अनुशासनको कमीले पार्टीभित्र अन्तरद्वन्द्व निम्त्याउदै छ । नेताकै अनुशासनमाथि कार्यकर्ताले प्रश्न गरिरहेका बेला अब हामी कसरी यसलाई सम्बोधन गर्छौै ?

६. पद लिनका लागि नेताको दैलो चहार्ने तर पाएपछि निस्कृय देखिने र पार्टीको पृष्ठभूमिलाई गलत कामका लागि प्रयोग गर्ने प्रवृतिले हामीमाथि नै प्रश्न उठाएको छ । नैतिक आचारको पाठ कसले पढाउने ?

७. भातृ संगठनहरुलाई पार्टीका कार्यक्रममा स्थान नदिने, छलफल र निर्णय प्रक्रियामा सहभागी नगराउने तर संगठनका गलत कामका भारी बोकाउने र भूमिकामाथि प्रश्न गर्ने परिपाटीले युवा पार्टीमा आर्कषित हुन्छन ?

७. पार्टीको नेतृत्वमा उम्मेद्वार बन्ने महत्वकांक्षा मौलाँउदै गएकाले पार्टीका पदाधिकारीलाई स्थानीय निर्वाचनमा सहभागी हुन नपाउने व्यवस्था कम्तीमा हाम्रो क्षेत्रबाट सुरुवात गरौ ।

८. वडातहदेखि सांसदसम्म महिलाको उम्मेदवारीमा प्रतिनिधित्व कमजोर बनाउँदा उनीहरुले अपनत्व गर्न असहज भइरहेको छ । हामीले कम्तिमा ३३ प्रतिशत प्रत्यक्षमै महिला उम्मेदवार उठाएर महिलाको राजनीतिक अधिकारलाई सुरक्षित गर्न सक्नुपर्छ ।
९. चुनाव हराउन लागेको प्रमाण नभेटि कसैको राजनीतिक चरित्र हत्या गर्ने र पार्टीकै योगदानबाट बनेकाहरु पार्टी नै हराउन लाग्ने दुवै दोषी भएकाले यसको सत्यतथ्य अध्ययन गर्न समिति नै बन्न जरुरी छ ।

यी यावत प्रश्नहरुकाबीच पनि इतिहासको गौरवसहित वर्तमान समिक्षा गरेर भोलीको भविष्य खोज्ने बाध्यतामा हामी छौ । निर्वाचन हारेकै भरमा भाग्ने छुट कांग्रेसीजनलाई छैन भने एकलौटी गर्ने अधिकार नेतृत्वमाथि पनि छैन । पार्टीको नेतृत्वमा पुग्ने र बहुमतको दम्भमा आफ्नो नाम मात्रै सिफारिस गर्ने र नामै सिफारिस गर्नका लागि पार्टीको आचरणलाई समेत बेवास्ता गर्ने र आफू अनुकुललाई टिकट नआएपछि वागी उठाँउदै पैसा खर्च गरेर हराउन लाग्ने नेतृत्वलाई कांग्रेसले स्वीकार्न सक्दैन । स्मरण रहोस नेताको कारबाही फुकुवा हुनसक्छ तर जतिबेला कार्यकर्ता र जनताले कारबाही गर्छन त्यो बेला फुकुवाको सम्भावना हुँदैन ।

लक्ष्मीराज भण्डारी
क्षेत्रिय प्रतिनिधि
क्षेत्र नं ६ काठमाडौ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares