महेन्द्र अधिकारी
काठमाडौं,१५ असार । दही चिउरा खानु एउटा पुरानो परम्परा भए पनि यो संस्कृतिकै रूपमा विकास भइसकेको छ ।
भनाई नै छ, ‘असार १५ दही चिउरा १५ साउन १५ खिर’ यतिमात्रै होइन, जनैपूर्णिमामा क्वाटी, माघे संक्रान्तिमा तरुल, घिउ ,चाकु आदी खाने परम्परा छ ।
यी सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो भने यी सबै विशेष अवसरको आफ्नै महत्वको रहेको छ ।
अरू अवसरको महत्त्व जे जस्तो भए पनि असार १५ को दिन दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ ।
गर्मीयाममा शरिरमा पानीको मात्रा कम हुन्छ । त्यसमा दही चिउरा खाँदा शीतलता निश्चयनै पक्कै प्रदान गर्छ नै । दहीमा कार्बोहाइड्रेट , चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै अलस्य गराउँदैन् । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ, जसले शरीरलाई फाइदा गर्छ । असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरीरलाई सन्तुलित राख्ने र दहीमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ति र जोस जाँगर पनि प्रदान गर्छ ।
हाम्रो संस्कृतिमा पनि दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । एउटा मिथ्या छ – गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए ।
आयुर्वेदमा भोजन खाइसकेपछि दही मथेर बनाइएको मोही पिएमा शरीर निरोगी र तन्दुरुस्त हुने बताएको छ । मोहीको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । पखाला लागेको बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ ।
यस्तो छ दहि चिउरा खानुको फाइदा
. रोग प्रतिरोधात्म क्षेमता बढाउँछ,
. दहीमा चिउरा मिसाएर खाँदा सोडियम,कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ,
. दही चिउराले मांशपेसी बलियो बनाउँछ,
. दही चिउराले शक्ति प्रदान गर्छ,
. पखाला लागेको समयमा दही खानु उपयुक्त हुन्छ ।
(विभिन्न स्रोतहरूको सहयोगमा तयार पारिएको सामग्री)