Friday, March 29
Shadow

साम्राज्यवादीको रणनीति “घण्टी ” !


  • -इ
  • इ+

लेखक – रामप्रकाश पुरी

यो कुरा प्रायशः उठ्ने गरेको छ कि रवि लामिछाने एउटा रहस्यमय पात्र हुन् । सबभन्दा पहिले नयाँ पार्टीको गठन गरेर चुनावमा त्यसको उल्लेखनीय सफलता पनि एउटा रहस्यमय नै कुरा हो । उनी वा उनले नेतृत्व गरेको पार्टी र त्यसको सफलताको रहस्य के हो ? यी प्रश्नहरु प्रायशः उठ्ने गरेकोे पाइन्छ । विभिन्न पत्र–पत्रिका वा अनलाइनहरूमा प्रकाशित समाचार वा टिका–टिप्पणीहरूले त्यो रहस्य के हो ? त्यसबारे केही सङ्केत दिन्छन् । तर त्यो कुराको तहमा पुग्न सायद अरू थप छानबिन वा तथ्यहरुको आवश्यकता पर्नेछ ।

“रातो पाटी”मा प्रकाशित एउटा वक्तव्यमा ओलीले अमेरिकामा “फ्रिडम पार्टी” (स्वतन्त्र पार्टी) भन्ने एउटा राजनीतिक पार्टी भएको र त्यसको चुनावचिन्ह “घण्टी” भएको बताएका छन् ।

अमेरिकाको (स्वतन्त्र पार्टी) र त्यसको चुनावचिन्ह घण्टीसित रवि लामिछानेको पनि नाम मिल्नु खालि संयोग मात्र हो वा त्यसका पछाडि पनि कुनै रहस्य छ ? यो पनि विचारणीय प्रश्न बन्न जान्छ ।

आजै प्रकाशित “जनआस्था”(मिति २०७९।८।१४)मा प्रकाशित समाचार वा टिकाटिप्पणीहरुले पनि रवि लामिछानेको रहस्यमाथि रहस्यलाई केही उद्घाटन गर्ने काम गरेका छन् । त्यसमा प्रकाशित मनोजकुमार कर्ण (उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस)ले “मंसिर ४ गतेको यो निर्वाचनमा चितवनमा देशैभरका ईसाईहरुले घण्टी छापमा मत हाल्न गरेको सर्कुलरले अमेरिकीहरू अति सक्रिय” भएको बताएका छन् । त्यसरी देशैभरका ईशाईहरुले घण्टी चुनाव चिन्हको प्रचार गर्नु र त्यो कार्यमा सक्रिय हुनु अत्यन्तै गम्भीर कुरा हो । जनआस्थाले त्यसबारे अरू पनि गम्भीर तथ्यहरु अगाडि ल्याएको छ । त्यस सिलसिलामा यो पनि लेखिएको छ : “पहाडतिर काँग्रेस र माओवादीका मत घण्टीतिर सारिएका छन् ।”

कुरा त्यति मात्र होइन, विश्वका विभिन्न भागमा छरिएका प्रवासी नेपालीहरूले पनि फोन गरेर नेपालमा भएका आफ्ना नातेदारहरूलाई घण्टीमा भोट हाल्न भन्ने गरेका छन् । स्वयं मैले चिनेका जापानमा नोकरी गर्ने एक जना भाइले काठमाण्डौँकी आफ्नी एउटी दिदीलाई घण्टीमा भोट हाल्न भनेका थिए । त्यो एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो ।

संसारभरमा छरिएका धेरै प्रवासी नेपालीहरूले त्यसरी घण्टीमा भोट हाल्ने स्थिति ईशाईहरुको सर्कुलरका कारणले नेपालमा कैयौँ मतदाताहरूले त्यसरी घण्टीमा भोट हालेको हुन सक्दछ । तर, संसारभरका प्रवासी नेपालीहरूलाई विश्वका अन्य देशहरूका प्रवासी नेपालीहरूलाई पनि त्यहाँका ईशाईहरूले त्यस प्रकारको प्रचार गरेको र त्यो कारणले पनि लामिछानेले नेतृत्व गरेको स्वतन्त्र पार्टीलाई समानुपातिकतर्फ ठूलो संख्यामा भोट परेको कुराको अनुमान गर्न सकिन्छ । त्यसको परिणामस्वरुप उनीहरुको ‘पार्टीलाई’ प्रत्यक्षतर्फबाट जितेका सांसदहरू बाहेक समानुपातिकतर्फबाट डबल सांसदहरू संसदमा पुग्ने सम्भावना देखिन्छ । त्यसरी उनको ‘पार्टी’ संसदको चौथो सबैभन्दा ठूलो पार्टी बन्ने कुरा करिब–करिब निश्चित छ ।

आजकै “जनआस्था”को “पाठकपत्र” स्तम्भमा उपेन्द्र गौतमले पनि लामिछानेबारे “क्रिश्चियन, एन्टी कम्युनिस्ट र रविको म्यानपावर कनेक्सन” शीर्षक अन्तर्गत केही सुचनाहरु प्रवाहित गरेका छन् । त्यो पाठकपत्रमा उनले लेखेका छन् : “रविको कनेक्सन कम्युनिस्ट विरोधी अमेरिकाको ओपन सोसाइटीवाला जर्ज सोरससँग छ । स्थानीय निर्वाचनमा -यापर बालेनलाई ब्राण्डिङ गर्नेदेखि अहिले रविलाई ब्राण्डिङ गर्नेसम्मको काम त्यहीँबाट भएको भनिन्छ ।” हामीले रवि लामिछानेबारे विचार गर्दै थियौँ । अब बालेन साहबारे पनि कुरा उठेको छ । हामीले निश्चित रूपले त केही भन्न सक्दैनौँ । तर माथिको भनाइबाट यो प्रश्न पनि उठाउनको लागि ठाउँ छ : के बालेन साह पनि त्यही कम्युनिस्ट विरोधी अमेरिकाको ओपन सोसाइटीबाट “ब्राण्डिङ” गरिएका हुन् । “यहाँ ब्राण्डिङ शब्द कुन अर्थमा प्रयोग गरिएको हो त्यो मलाई थाहा हुन सकेन । पछि त्यो थाहा हुदै जाने छ वा पाठकहरूले त्यो शब्दको स्वयम् अर्थ लगाउन सक्नेछन् ।

ईशाईहरुले घण्टीलाई भोट हाल्न प्रचार गरेको त्यो कार्यमा अमेरिकनहरू पनि सक्रिय भएको तथा अमेरिकाको कम्युनिस्ट विरोधी अमेरिकाको ओपन सोसाइटीवाला जर्ज सोरससितको सम्बन्ध समेतमाथि विचार गर्दा उनले नेपालमा कुन प्रकारको उद्देश्य लिएर काम गरेका छन् ? त्यो कुराको अनुमान गर्न गाह्रो पर्दैन । तर बालेन साहको विषयमा त्यस प्रकारको कुनै निष्कर्षमा पुग्नुभन्दा पहिले थप अध्ययन गर्नु आवश्यक हुनेछ ।

त्यो पत्रमा एमालेका नेताहरूका बीचमा चलेको कुराकानीको स्रोत दिदै लेखिएको छ : रवि अमेरिकी सहायता परियोजना एमसीसीको परिचालक तत्वभित्र पर्छन् । अमेरिकाबाट नेपाल आउँदा उनी यस्तै योजनाका साथ आएका थिए । अहिले पनि अमेरिकी जासुस सञ्जाल सिआइएले गहिरो अध्ययन गरेपछि अमेरिकी फ्रिडम पार्टीको सबै कुरा हुबहु राखेर स्वतन्त्र नाममा पार्टी गठन गराउने र उम्मेदवार उठाउने जस्ता काम गरेका छन् ।

त्यो पत्रमा डिडी ओभरसिजका संचालक देवेन्द्र बजगाई रवि लामिछानेका दायाँ हात भएको बताइएको छ । उनी पहिले फिल्म बनाएर हिरो पनि बनेका थिए । उनी रविको पार्टीबाट समानुपातिक उम्मेदवार पनि हुन् । उनी क्रिश्चियनसित पनि आवद्ध छन् । उपेन्द्र गौतमले रविको देवेन्द्र बजगाईसितको सम्बन्धलाई “संदिग्ध सम्बन्ध” बताएका छन् ।

त्यो पत्रमा यो पनि लेखिएको छ : “राजनीतिमा रवि लामिछानेहरूको सन्देहपूर्ण उदय र त्यसमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाको साइनोका प्रश्नहरू अहिले जोडसँग उठेको छ । ती कुरालाई पुष्टि गर्ने केही आधार पनि छन् ।”
त्यस सिलसिलामा त्यो पत्रमा निम्नलिखित तथ्यहरु दिइएका छन् ।

१) गगन थापाले रविलाई प्रधानमन्त्री शेर बहादुर देउबासँग भेट गराएर उनलाई काँग्रेसको तर्फबाट उम्मेदवार बनाउन प्रस्ताव राखेका थिए । तर शेरबहादुरले उनलाई काँग्रेसको तर्फबाट टिकट दिन अस्वीकार गरेका थिए ।

२) गगन थापाले भित्रभित्रै रविसित चुनावी साँठगाँठ गरे ।

३) काठमाण्डौँमा सबैतिर आफ्नो उम्मेदवारी दिएपनि रविले गगनको ४ नं. क्षेत्रमा कुनै उम्मेदवारी दिएका थिएनन् ।

४) नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले आफ्नो क्षेत्रमा कमसेकम २० मिनेटको लागि भाषण गर्न चितवन आउन सन्देश पठाएका थिए । त्यसका लागि उनले हेलिकप्टर पनि व्यवस्था गर्ने बताएका थिए । तर १३ पल्ट फोन गर्दा पनि गगन थापा त्यहाँ गएका थिएनन् । रविका उम्मेदवार भएको ठाउँमा गगन र गगनका उम्मेदवार भएका ठाउँमा रविले ‘डिस्टर्व’ नगर्ने पूर्व सहमति थियो । माथि रविसँग जोडिएर बालेन साहको नाम पनि आएको छ । अब त्यसमा गगन थापाको नाम पनि जोडिएको छ । शेरबहादुरलाई भेटेर रविलाई कांगे्रसको टिकटमा उम्मेदवार बनाउन खोजेको, रविसित गोप्य चुनावी साँठगाठ गरेको र उमेश श्रेष्ठले बारम्बार अनुरोध गर्दा पनि उनका पक्षमा भोट माग्न चितवन नगएको आदि कुराहरुमाथि विचार गर्दा गगन र रविका बीचमा घनिष्ठ वा एक प्रकारले रहस्यमय सम्बन्ध रहेको कुरामा कुनै शंका रहन्न । माथि उल्लेखित सबै तथ्यहरुमाथि विचार गर्दा रविको गतिविधि सिआइए वा अमेरिकाको एमसीसी योजनाअन्तर्गत नेपालमा काम गर्न आएको कुराम ाकुनै शंका रहन्न । उनले आफ्नो पार्टी खोल्नु र संसदमा जानुको पछाडिको उद्देश्य पनि त्यही हो । उनले त आफु प्रधानमन्त्री हुनेसम्म दाबी गरेका छन् । त्यसको उद्देश्य नेपालको सम्पूर्ण राज्य संयन्त्रलाई अमेरिकी साम्राज्यवादको हितअन्तर्गत संचालन गर्नु नै हो भन्ने कुरा दिनको उज्यालो झै छर्लङ्ग छ ।

अब यहाँ यो प्रश्न उठ्दछ, के गगन थापाले पनि रवि लामिछानेको जस्तै नै सिआइए वा अमेरिकी साम्राज्यवादको रणनीति योजनाअन्तर्गत नै काम गरिरहेका छन् ? कम्युनिस्टहरुको सम्पूर्ण रुपले विरोध गर्नु र उनीहरुलाई समाप्त गर्नु अमेरिकी साम्राज्यवादको रणनीति हो । नेपाली काँग्रेसभित्रको प्रतिपक्ष, जसमा गगन थापा पनि सामेल हुन्–ले कम्युनिस्टहरुसितको एकताको पूरै विरोध गर्दछ । त्यसैले उनीहरुले गठबन्धनका सबै कम्युनिस्ट उम्मेदवारहरुलाई हराउने योजनाअनुसार काम गरेको पाइन्छ । त्यो कार्यमा गगन थापा पनि सक्रिय छन् । के उनको त्यस प्रकारको भूमिका अमेरिकी साम्राज्यवादको कम्युनिस्ट विरोधी नीतिको अंग हो र के त्यही कारणले उनको रवि लामिछानेसित घनिष्ठ सम्बन्ध कायम हुन गएको हो ? त्यो सम्बन्ध कति घनिष्ट छ भन्ने कुरा रवि लामिछानेको पार्टीका उम्मेदवारहरुलाई बाधा नपुगोस भनेर उनले आफ्नै पार्टीका उम्मेदवार उमेश श्रेष्ठको पक्षमा पनि प्रचार गर्न नगएको कुराबाट स्पष्ट हुन्छ ।

ने.क.पा (मसाल)का महामन्त्री कामरेड मोहनविक्रम सिंहको “युगदर्शन” साप्ताहिक (२०७९।८।१४)मा प्रकाशित वक्तव्यमा भनिएको छ : “अहिलेको चुनावको बेलामा विभिन्न साम्राज्यवादी शक्तिहरुले पनि बेग्ला बेग्लै प्रकारले घुसपैठ गर्ने वा चुनावको माध्यमद्वारा संसदमा आफ्ना मान्छेहरु पठाउने प्रयत्नहरु गरेको पाइन्छ । अहिलेको चुनावमा कुन कुन साम्राज्यवादी शक्तिले को कोलाई चुनावमा उठाएर संसदमा पु-याउने प्रयत्न गरेको छ ? तत्काल त्यो कुरा खुलाएर भन्न त मुश्किल पर्दछ तर साम्राज्यवादी शक्तिहरुले अहिलेको चुनावलाई त्यसरी उपयोग गर्न खोजेको कुरा स्पष्ट छ । भविष्यमा त्यो कुरा खुल्दै जाने कुराको आशा गर्न सकिन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares