निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो ।
यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् ।
यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाइने छैन।
त्यस्तै, प्रत्येक मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने छ। स्थिर अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्विटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ।
निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ ।