Saturday, May 11
Shadow

कांग्रेसलाई मेरो सुझाव माओवादीको गाईजात्रा कति हेर्ने ?


  • -इ
  • इ+

लेखक – माधव तिमल्सिना

काठमाडौंमा नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग तालमेल गरेको हो कि डा. बाबुराम भट्टराई र वर्षमान पुनसँग गरेको हो मलाई त बुझ्नै कठिन भएको छ ।

नेपाली कांग्रेसको बलियो पकड रहेको काठमाडौं २ मा वर्षमान पुनकी श्रीमती ओनसरी घर्तीलाई नेपाली कांग्रेसले छाडेको छ र काठमाडौं ७ मा बाबुरामकी छोरी मानुषी यमी भट्टराईलाई छाडेको छ । एमाले फुटेको अवस्था, स्थानीय निर्वाचनको परिणाम हेर्दा नेपाली कांग्रेस एक्लैले सजिलै जित्ने ठाउँ हुन यी । काठमाडौं–९ मा सत्तारुढ गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस पहिलो भए पनि एमालेभन्दा कमजोर भएकाले माओवादी केन्द्र वा अरुलाई टिकट दिंदा कांग्रेसी नेता तथा कार्यकर्ताहरुमा कुनै गुनासो छैन । माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलाको पक्षमा बिना हिच्किचाहट कांग्रेसी नेता तथा कार्यकर्ताहरु हिंडेका छन् । यो निर्वाचन क्षेत्रमा सकारात्मक लहर आएको छ ।सधै कृष्ण गोपाल श्रेष्ठ नै उठ्नु पर्ने अरु नेता एमालेमा छैनन् र ! भन्ने जनताको  असन्तुष्टअभिमत भए पनि त्यहा एमलेको संगठन बलियो छ ।

काठमाडौंमा माओवादी केन्द्रले पाएका यी तीन ठाउँ दुई, सात र नौमा वाहेक कतै पनि कांग्रेससँग व्यावहारिक रुपमा गठबन्धन भएको छैन । काठमाडौं १० मा मित्रवत प्रतिस्पर्धा गर्ने भनेर प्रतिनिधिसभा र प्रदेशसभामा दुवै पक्षले उम्मेदवारी दिएका छन् । काठमाडौं तीनमा गठबन्धन दलका शीर्ष नेताहरुले माओवादी केन्द्रका प्रतिनिधिसभाका उम्मेदवार बद्री बजगाईं र प्रदेशसभाका कपिलमणि उप्रेतीको नाम हटाए । त्यही निर्वाचन क्षेत्रका अर्का प्रदेशसभाका उम्मेदवार महेश्वर फुयालले बजगाईं र उप्रेतीको उम्मेदवारी कायम नै रहेको वक्तव्य जारी गरे । चार दलीय वक्तव्यमा पार्टी अध्यक्ष प्रचण्डको हस्ताक्षरमा हटाइएका यी नामहरु प्रदेशसभाका सदस्य फुयालले कायम राखे ।उन्को त्यो वक्तव्यले उनी प्रचण्डभन्दा माथि ठहरिए ।

प्रचण्डको हस्ताक्षर भएको सत्तारुढ दलको वक्तव्यमा काठमाडौं ६ को ‘क’ मा रवीन्द्र श्रेष्ठको उम्मेदवारी छैन । तर, उनले पनि आफ्नो लागि मत मागिरहेका छन् । काठमाडौं–१, ४, ५, ८ मा माओवादी केन्द्रका उम्मेदवार नभए पनि माओवादी केन्द्रबाट खासै सक्रियता छैन । केही ठाउँमा हिंडे पनि केवल औपचारिकताका लागि मात्र, फेसबुकमा फोटो राख्न, सक्रिय रहेको देखाउन, कतिपय ठाउँमा त एकाध माओवादी नेताले कार्यकर्ता परिचालन भन्दै नेपाली कांग्रेसका उम्मेदवारसँग व्यक्तिगत स्वार्थका कुरा गरेका छन । यस्तोमा कसरी भावनात्मक गठबन्धन हुन्छ ? कांग्रेसले औपचारिक रुपमा पार्टीगत गठबन्धन गरेको भए माओवादी केन्द्रको यो भद्रगोल, गाईजात्रा, अराजकता देख्नुपर्ने थिएन । कांग्रेसले प्रदेश, काठमाडौं जिल्ला नेताहरुसँग भर गरेको भए, औपचारिक वार्ता गर्न पाएका भए निश्चित जित्ने काठमाडौं दुई र सात किस्तीमा राखेर वर्षमान पुन र बाबुराम भट्टराईका परिवारहरुलाई दिनुपर्ने थिएन ।

माओवादी केन्द्रले आफूले जित्ने निश्चित भएको ठाउँ रोल्पा, रुकुम छाड्यो र ? माओवादी केन्द्रका हर्ताकर्ता, प्रचण्डका विश्वासिला कार्यदलका नेता वर्षमान पुनले दाहिने हातले कांग्रेसका नेतालाई प्रदेशसभा सदस्य दिए र देब्रे हातले तँ उठ भनेर आफ्ना अत्यन्त निकट व्यक्ति दीपेन्द्र पुनलाई स्वतन्त्र उठाए । स्वतन्त्र उम्मेदवार दीपेन्द्रको पक्षमा वर्षमानकै सचिवालयका सदस्य क्रियाशील छन् भन्ने कुरा नेपाली कांग्रेसका रोल्पाका कार्यकर्ताहरु गुनासो गर्छन । नेपाली कांग्रेसका शीर्ष नेता, कार्यदलका सदस्यहरुले तिनको गुनासो सुन्ने समय निकालेका छन् ? माओवादी केन्द्रमा प्रचण्डको निकट बसेर आफू र आफ्नो परिवारका सदस्यलाई तर मारिरहन सफल वर्षमानसँग नेपाली कांग्रेसका कार्यदलका सदस्यले काठमाडौं २ मा आत्मसमर्पण गरेका हुन कि कुनै प्रभु लागे कि उनीहरु भट्टराई र पुनको ठूलै प्रलोभनमा फसेका हुन ? प्रदेश, जिल्लाका दुई पार्टीका नेताहरु बसेर तालमेल गरेको भए जमिनी यथार्थ दुवै पक्षले बुझ्ने थिए ।

माओवादी केन्द्रलाई एकदेखि १० सम्म एक-एक प्रदेश सदस्य दिएर, दश जना नेताहरु उनीहरुको खपत पनि हुन्थे, सबै ठाउँमा काठमाडौंमा बलियो एमालेसँग लड्ने आधार बन्ने थियो । यहाँ त पार्टी होइन व्यक्तिसँग प्रभावित हुँदा, हामीले हाम्रो बलियो ठाउँ ओनसरी र मानुषीलाई जिताउने ठेक्का लिंदा कांग्रेसले पहिले नै काठमाडौंमा दुई सिट गुमाइसकेको छ, गठबन्धनबाट पनि यो सिट गुम्ने निश्चित जस्तै छ । बरु कोही स्वतन्त्र, जसले कांग्रेसमा पछि आउने प्रतिबद्धता गर्छ भने वर्षमानको रोल्पाको दीपेन्द्रलाई जिताउने ट्याक्टिस अपनाएर ल्याउने हो कि त ? जमिनको यथार्थ भन्दा काठमाडौं–२ मा माओवादी केन्द्र पार्टी , नेपाली कांग्रेस ,एमाले, राप्रपाभन्दा पछाडि छ । ऊ आफ्नो मतमा गणितमा धेरै पछाडि छ । उसलाई जिताउन कांग्रेसको सबैजसो मत खन्याउनुपर्छ । काठमाडौं ७ को हकमा पनि त्यही हो । स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टीमा रहेकी मानुषीको जसपाको मतमा हक छैन । किनकि जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ नै त्यही क्षेत्रमा निर्वाचन लडेका छन् । उनको मत माओवादी केन्द्रको मत हो । त्यहाँ माओवादी केन्द्र निकै कमजोरमात्र छैन, दयनीय अवस्थामा छ । माओवादी केन्द्रले त आफ्ना दुई नेताका परिवारको व्यवस्थापन गर्न खोज्यो, नेपाली कांग्रेसलाई चाहिं यसबाट के फाइदा ? उनीहरु संघमा उठेको वाहेक काठमाडौंका सबै ठाउँमा गाइजात्रा, भद्रगोल भएपछि कांग्रेसले चाहिं दुई नेताका परिवारलाई बोकिरहनुपर्ने के बाध्यता ? मेरो यो कांग्रेसका कार्यदलका सदस्यहरुलाई प्रश्न हो  । मेरो सुझाव छ, प्रभावशाली स्वतन्त्रहरु, जसलाई पछि कांग्रेसमा भित्र्याउन सकियोस, तिनलाई मत दिंदा हुँदैन ? जस्तै काठमाडौं ७ मा रामवीर मानन्धरलाई कुरा गर्दा हुन्छ । उनी यस क्षेत्रका बलिया, प्रभावकारी उम्मेदवार हुन । काठमाडौं २ मा पोषराज सुवेदी या अरु कोही हुन सक्छन !

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares