Wednesday, April 17
Shadow

शासकीय स्वरुपमा मानवीय मूल्य


  • -इ
  • इ+

लेखक: चिरन कोइराला

 

मानवीय मूल्य (Human Values)

परिचयः

मानव जाति र समाजको आधारभूत असलपन नै मानवीय मूल्य हो । आधारभूत मानवीय मूल्यहरूले ती मूल्यहरूलाई जनाउँछ जुन मानव हुनुको मूल भाग हो एवं मानवीय हितको मूलमन्त्र हो । मानवमा भएका आधारभूत अन्तर्निहित मानहरूः सत्य, इमान्दारीता, वफादारी, सत्भाव, दया, प्रेम, शान्ति, अहिंसा, असल आचरण, सहयोगी भावना आदिनै मानवीय मूल्यहरु हुन् । मानवमा भएको प्रेम, सद्भाव, सहिष्णुता, विश्वास, भाइचारा, सेवाभाव एकता, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो ।

वर्तमान समयमा प्रविधिको विकास र विस्तारसँगै विश्वका अधिकांश देशहरुमा यो पक्ष कमजोर हुन थालेको छ । यसलाई सवै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ । हामीले बुझ्न पर्ने विषय भनेको मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सवैको दायित्व हो तर यो पक्षलाई मानवीय समुदायले नबुझिदिँदा मानविय मुल्यको ह्रास हुन थालेको छ । समाजमा रहेका मानिसलाई नैतिकवान बनाई राज्यप्रति उसको उत्तरदायित्व अभिवृद्धि गर्नसक्ने तुल्याउनको लागि पनि समाजमा रहेका विभिन्न संघ सस्थाको भूमिका गहन हुन्छ ।

हाम्रो समाजमा सकारात्मक सोच र व्यवहार भन्दा पनि नकारात्मक सोचको विकास हुँदै गएको परिप्रेक्ष्यमा यसलाइ चिर्न पनि नैतिक मुल्य र मान्यताको अझै महत्व हुन आउछ । नैतिक मुल्य र मान्यता तथा दायित्व सिकाउने संस्थाहरु भनेको मुलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक संस्थाहरु, राज्यका अंगहरु तथा अन्य सामाजिक संस्थाहरु हुन् । समाजमा यस्ता संस्थाहरुको भूमिका अझ गहन र जिम्मेवार हुनु गर्दछ । यसतर्फ ध्यान दिन जरुरी छ ।

मानवीय मूल्यको महत्वः

  • मानवीय मनोवृत्ति, उत्प्रेरणा र व्यवहारप्रतिको बुझाइमा परिवर्तन गर्दछ ।
  • संसारप्रतिको हाम्रो धारणालाई प्रभाव पार्दछ ।
  • सही र गलतको व्याख्याको प्रतिनिधित्व गर्दछ ।
  • मानव र संगठन बुझ्न एउटा बाटो एवं तरिका प्रदान गर्दछ ।
  • मानव जीवन, स्वतन्त्रता, सम्मानको दायित्ववोध गराउँदछ ।

केही मानवीय मूल्यहरू जुन सबै मानिसहरूमा अपेक्षित हुन्छन्, ति निम्न छन् :
 

असल आचरण (Right Conduct) : 

यसमा आत्म-सहायता कौशल (विनम्रता, आत्मनिर्भरता, स्वच्छता आदि), सामाजिक कौशल (असल व्यवहार, राम्रो आचरण, वातावरण सचेतना आदि) नैतिक सीप (साहस, दक्षता, पहल, समयनिष्ठता आदि) जस्ता मूल्यहरू समावेश हुन्छन । शान्ती (Peace) : समानता, ध्यान, नम्रता, एकाग्रता, आशावाद, धैर्यता, आत्म-विश्वास, आत्मनियन्त्रण, आत्मसम्मान आदि जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् । सत्य (Truth) :शुद्धता, निष्पक्षता, इमान्दारीता, न्याय, ज्ञानको खोज, दृढ संकल्प आदि जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् । शान्तिपूर्ण सहअस्तित्व (Peaceful co-existence) : मनोवैज्ञानिक व्यवहार (परोपकार, करुणा, विचार, नैतिकता, क्षमा आदि) र सामाजिक व्यवहार (भाइचारा, समानता, लगनशीलता, अरूको सम्मान, वातावरणीय जागरूकता आदि) जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् ।

 अनुशासन (Discipline) : 

नियमन, निर्देशन, आदेश आदि जस्ता सुचकहरू यसमा समावेश हुन्छन ।सहिष्णुता र सद्भाव (Tolerance and Understanding) :

अरुको सम्मान गर्ने, रिस, डाह, इर्ष्या, घमण्ड नगर्ने, भेदभाव नगर्ने, दुःख परेको समयमा सहयोग गर्ने जस्ता कुराहरु यसमा समावेश हुन्छन् ।

भाईचारा (Brotherhood) :

अरुप्रति गरिने आत्मिय व्यवहार, अरुको इज्जत गर्ने, भेदभाव नगर्ने, तेरोमेरो नभन्ने, मानवताको नाता सबैको एउटै भन्ने जस्ता कुराहरु यसमा समावेश हुन्छन् ।

नेपालको शासकीय प्रणालीमा मानवीय मूल्यको आवश्यकता एवं महत्व

नेपालले संघीय लोकतान्त्रिक शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा हासिल गर्ने सोच लिएको छ । यो सोचलाई मूर्तरुप दिन सामाजिक न्याय र एकता, आर्थिक समानता र श्रमको सम्मान, भ्रातृत्व, सहशासन, सहकार्य, सहअस्तित्व, समावेशी जस्ता सामाजिक–राजनीतिक मूल्यहरुको अवलम्बन राज्यले गर्नुपर्छ । लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहं भूमिका रहन्छ । मुलुकको शासकीय प्रणालीमा मानवीय मूल्यको आवश्यकता हुनुको कारणहरु

  • समतामूलक समाजको निर्माण गर्न
  • असल नागरिकको पहिचान दिलाउन
  • समयसापेक्ष समाजलाई परिवर्तन एवं रुपान्तरण गर्न
  • सामाजिक न्यायको प्रवर्द्धन गर्न
  • नागरिकमा राज्यप्रतिको दायित्व र अपनत्व बोध गराउन
  • नागरिकलाई आफु र समाजप्रतिको कर्तव्यबोध गराउन
  • नेपालीहरुबीच आपसी सद्भाव, सहयोग र एकताको भावना विकास गर्न
  • राष्ट्रिय एकता प्रवर्द्धन गर्न
  • कला, संस्कृतिको सम्मान, संरक्षण र सम्वर्धन गर्न
  • शान्ति, बन्धुत्व, भाईचारा, नैतिकता, सदाचारिता, सुसंस्कार कायम गर्न
  • सुशासन कायम गर्न
  • मानव जीवनलाई माया, प्रेम, दया, शान्ति र अहिंसाप्रति प्रतिवद्ध बनाउन
  • बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक, बहुभाषिक समुदायबीच आपसी समभाव र सहिष्णुता कायम गर्न
  • राज्यका शासकिय प्रशासकिय एवं व्यवस्थापकिय अंगहरुमा प्रत्येक नेपालीको पहिचान, प्रतिनिधित्व, पहुँच र सहभागिता सुनिश्चित गर्न
  • सबै प्रकारका भेदभावको अन्त्य गरी सम्मानपूर्वक जीवन यापन गर्न
  • मेलमिलाप कायम गर्न ।

नेपालको संविधानले लोकतान्त्रिक शासन र मूल्य मान्यतालाई केन्द्र बिन्दुमा राखेको छ । लोकतन्त्र र मानव जीवनलाई नङमासुको सम्बन्धका रुपमा प्रत्याभुत गर्दै मौलिक हककै रुपमा मानवीय मूल्यहरुलाई स्विकार गरेको छ । मानवीय मूल्यले सामाजिक, आर्थिक, सांस्कृति र राजनीतिक मूल्यको प्रवर्धनमा सहयोग पु-याउँछ । तथापि, नेपालमा मानवीय मूल्यको अबलम्वनमा केही कमजोरीहरु देखिएका छन्, जस्तैः

  • अझै पनि जातीय छुवाछुत, भेदभाव र बहिष्करणको अवस्था रहेको छ ।
  • सत्य र अहिंसाको भावना मर्दै गएको
  • शान्ति र सद्भावको अवस्था कमजोर रहेको
  • अपराधका नयाँ नयाँ शृंखला बढ्दै गएको
  • जाति, धर्म एवं क्षेत्रिय सम्प्रदाय जस्ता विषयमा राजनीतिकरण हुने गरेको
  • हिंसा, हत्या, बलात्कार, यौनदुर्व्यवहार जस्ता घटना बढ्दै गएको
  • भ्रष्टाचार मौलाएको
  • नैतिकता, एवं लोकतान्त्रिक मूल्य मान्यतामा ह्रास आएको
  • मानवीयता दिनप्रतिदिन दयनीय बन्दै गएको
  • विकृति, विसंगति एवं सामाजिक विचलन बढ्दै गएको
  • प्रेमिल भावना दयनिय अवस्थामा रहेको
  • नैतिकता र सादाचारयुक्त कार्यसंस्कृति अभाव रहेको
  • राष्ट्रिय एकता, भ्रातृत्व, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको सम्मानमा एकरुपता कायम हुने अवस्था कमजोर रहेको अवस्था छ ।

मानविय मूल्यहरु आत्मसाथ गर्दै आफु र समाजप्रति इमान्दार बन्न सके मानव हुनुको नाता सार्थक हुने कुरामा दुई मत नहोला यही नै आजको आवश्यकता हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares