Friday, April 26
Shadow

म राष्ट्र सेवकनै हुनेछु


  • -इ
  • इ+

पि.एल.आशिष, नुवाकोटे
सामान्य नागरिकको दैनिकीबाट राष्ट्रको सिपाहीको भुमिकामा प्रवेश गर्दैगर्दा देशमा सशस्त्र द्वन्द चरम उत्कर्षमा पुगेको थियो । २०६० साल माघ महिनाबाट मैले यो देशको सिपाही बन्ने मनसाय प्रेरित भई नेपाल प्रहरीमा आवेदन दिएँ र मेरो सौभाग्यनै भन्नु पर्छ म तत्कालीन श्री ५ को सरकारको नजरमा एउटा सिपाहीको भुमिका निर्वाह गर्न योग्य सावित भएछु ।

तत्कालिन परिस्थीतिमा मैले बिद्रोही पक्ष अथवा माओबादी सेनाको हतियार बोकेर सरकारी कार्यालय, कथित सामान्ती तथा तत्कालीन अवस्थाका धनीमानी वा नेपाली काँग्रेसका नेता तथा कट्टर कार्यकर्ताहरु र नेपाल प्रहरी वा शाही नेपाली सेनाका परिवार समेतको पहिचान गरी छापामारको जत्था लिएर निजहरुलाई घेराहाल्दै अमानविय तथा निर्मम तरिकाले हत्या गरेर हाम्रो युद्ध सफल होस्……, ने.क.पा.माओबादी जिन्दाबाद्….., शाही नेपाली सेना मुर्दाबाद् जस्ता नारा लगाउँदै नेपाली गाउँ बस्तीमा क्रान्तीकारीको पहिचान बनाउनु भन्दा यो देश र राज्यको सम्पत्तीको रक्षा गर्ने सिलशिलामा आफ्नो जिवनको बलिदानी दिनुनै उत्कृष्ट हो भन्ने स्वयम् निर्णय गरी प्रहरी सेवामा प्रवेश गरे देखी लगातार १६ वर्ष ८ महिना यानकी ६१२२ दिन भन्दा धेरै समय सम्म यो राज्यको सिपाहीको भुमिका निर्वाह गर्ने दौरानमा धेरै उकाली-ओरालीहरु पार गरें, धेरै अकल्पनिय क्षणहरुको सामना गरें, अनी धेरै अपरिचित अनुहारहरुसँग परिचय पनि गरें र राज्यको तर्फबाट आफुलाई प्राप्त जिम्मेवारी निःसन्देह निर्वाह गरें । यसमा म कोही कसैको ललाई फकाई र डर त्रासमा रहिन, रहन चाहिन पनी……।

सयय क्रम सँगै तत्कालीन छापामारहरु आज कोही सम्माननियको हैसियतमा छन्, कोही माननियको हैसियतमा छन् त कोही नेपाली सेनाको कर्नेल, जर्नेलको हैसियतमा बहालमैछन् । तत्कालिन अवस्थामा म जस्ता हजारौं युवालाई “हामी देश र जनताको भलाईको लागी यो सामान्ती ब्यबस्था बिरुद्ध छापामार युद्ध गरिरहेका छौं, भोली हाम्रो युद्ध सफल भएपछी कोही राजा, मन्त्री वा नेताहरुको हैसियत र सामान्य किसान तथा नागरिकको हैसियत समान हुने ब्यबस्था आउँछ, हामी ल्याउँछौं” । भन्नेहरु आज त्यही सामान्ती पुँजिबादी व्यबस्थालाई नै संसारको सर्वोत्कृष्ट व्यबस्थानै हामीले ल्याएको व्यबस्था हो । यो चानचुने परिश्रम र मेहनतले आएको छैन् । यही दिन ल्याउनका लागी १७ हजार नेपालीले आफ्नो प्राणको आहुती दिएकाछन् भन्दै गलाले नथाम्ने गरी माला र बजरंगबलीको मन्दिरको पुजारीले झैं पुरै अनुहार नचिनिने गरी अविर लगाएर भाषण गर्छन् । यथार्थमा हिजो तिनैका ज्यादती बिरुद्ध राज्यको पक्षमा लडेको म सिपाही….., मैले भोगेका ति क्षणहरु….., तिनीहरुले जनतामा छरेका भ्रम र आज तिनीहरुकै बिलासी जिन्दगी…… अनी म उसैको पहरेदार……! म मेरो सिपाहीको यात्रालाई कसरी निरन्तरता दिउँ…..? म यि देशद्रोही हरुको कसरी साक्षी बसुँ, अनी म कतिदिन यि भ्रष्ट्राचारीहरुको सुरक्षा गरुँ……..??? यिनैले देखाएको सपनालाई सत्य हो भनेर बुझ्नेहरु कतिले मृत्युवरण गरे, कति अपाङ्ग भए, अनी कति खाडि मुलुक लगायत बिभिन्न देशमा श्रमिकको हैसियतमा जिवन बिताईरहेका छन् । तिनीहरुले आज के सोच्दै होलान् ……! कति चेलिहरुको सिन्दुर पुछियो, कति आमाबाबुको बुढेसकालको सहारा सिद्दीयो अनी कतिका काख रित्तीयो……, त्यसको क्षतीपुर्ती र तिनीहरुलाई न्याय कसले दिन्छ रु कहिले दिन्छ ??

त्यसैले मेरो १६ वर्ष सम्म लगातारको अद्ययन र यसबाट प्राप्तत अनुभव अनी राज्यको जिम्मेवार सिपाहीको हैसियतमा मैले कायमै राख्नुपर्ने गोप्याता समेतलाई ह्रदयंगम गर्दै म मेरो जिवन यात्रालाई फरक धार र फरक मोडबाट अगाडी बढाउँदै भोलीको लागी सभ्य समाजको निर्माणगर्ने अभियानमा सामेल हुँदैछु । यती भन्दै गर्दा र मैले आफ्नो गन्तब्यहिन यात्रालाई मोड्दै गर्दा मलाई यो देश, हाम्रो सभ्यता र राष्ट्रियतालाई कुनै दल वा बादसँग साट्नुछैन् । हिजोका प्रचण्ड\बाबुरामहरुले जसरी वा आजका विप्लवहरुले जसरी गरिब निमुखा जनतालाई भ्रममा परेर बन्दुक बोकाउनु छैन् र राज्य वा कानूनको अपहेलना गर्नुछैन् । केवल राज्यकै पदमा बसेर दलालहरुको झुण्ड बनाएर राज्यकै सम्पत्ती लुट्नेहरुको वास्तविकता सार्वजनिक गर्दै तिनीहरुलाई आफ्नो औकात चिनाउनु छ । नेपाल आमाको सच्चा सपुत बन्नु छ अनी भोलीका सन्ततीको लागी यो राज्यलाई स्वतन्त्र र अबिभाज्य कायमै राख्ने अभियान सहितको राष्ट्र सेवक हुनेछु ।

जिवन यात्रालाई मोड्दै गर्दा र पवित्र संगठनको जिम्मेवारीबाट अलगिंदै गर्दा केही कुरा मैले भन्नै पर्छ । यस संगठनमा निष्ठावान्हरुको निष्ठा कायम रहन सक्ने अवस्था छैन । प्रमाणले अपराधी देखिन नसकेका तर हरेक कृयाकलापबाट अपराधी हो भन्न सकिने नेता तथा कार्यकर्ता, मानव तस्कर, ठुला व्यापारी र ठेकेदारहरुले राज्यका कर्मचारीलाई किन्ने आँट गरेकाछन्, कति उनिहरुले तिरेको मुल्यमा बिकेका पनि छन् त कोही नबिक्ने वा बिक्न नचाहने हरुलाई उठ्न नसक्ने गरी दवाईएकाछन् । प्रहरी संगठन पनि त्यसबाट अछुतो छैन् यहाँका सदस्यहरु नेता, व्यापारी वा कोही ठुला ठेकेदारको सल्लाहमा संगठनको गरिमा विर्सने र आफ्नो व्यक्तीगत स्वार्थको लागी तिनैको मतियार बन्ने प्रकृयाले म जस्ता हजारौं कर्मचारी आन्तरिक रुपमा दुःखी छन् । मानसिक रुपमा पिडित छन् अनी राज्यले दिएको तलवको भरमा परिवार धान्न सक्दैनन् र यो यात्राबाट अन्यत्र जान बाध्यछन् । बजारको महंगी हरेक दिन बढ्छ, तर प्रहरीको राशन ५ वर्षसम्म एउटै रहन्छ भने त्यो प्रहरीले के खाला….? बिहानको चिया, दिउँसको खाजा त स्केलमै छैन के खाओस् कमसेकम विहान वेलुकी २ छाक ४ जनाको परिवारले सामान्य खाना खानपुग्ने राशनको व्यबस्था गर्न सरकार आवश्यक ठान्दैन संगठको बागडोर सम्हालेका संगठन प्रमुखहरु यस्तो प्रस्ताव पेश गर्ने हैसियत राख्दैनन् । यहाँ संगठन प्रमुख बन्नैको लागी एउटा नेताको झोला बोक्नेहरु पनि कमी छैनन्, कतिले चाकरी गरेकै भरमा अवसर पनि पाए तर म जस्ता सिपाही वा अन्य सदस्यहरुको दैनिकी….., प्रहरी संगठनको काम कर्तव्य र दायित्वलाई कसैले सिरोपर गरेनन्, गर्न आवश्यक ठानेनन् की गर्न चाहेर पनि सकेनन् त्यो जिज्ञासामै सिमित भयो ।

राष्ट्रसेवाकै यात्रामा कुनैदिन अत्यन्त उत्साहित भईयो त कुनै दिन अत्यन्तै दुःखी पनि…, संगठनका मध्यम तहका सदस्यहरुले तल्ला तहका सदस्यहरु प्रति गर्ने व्यबहार, कामकै सिलशिलीमा बोलिने भाषा, शैली अनी तिनीहरुको मनोविज्ञान र मेरो बुझाई…, धेरै पटक त उहाँहरु सित सहमत हुनै नसकिने परिस्थिती पनि सृजना हुन्थ्यो । त्यस्ता क्षुद्र स्वभावका सदस्यहरु आज सम्म पनि प्रहरी संगठनमा प्रसस्तै छन् । अनी एकदमै सालिन, भलादमी, अभिभावकिय भुमिका निर्वाह गर्ने प्रवृत्तीका केही सदस्यहरु पनि यो संगठनमा नभएका होईनन् तर संगठले सम्पादन गर्ने कामहरु लिखित भन्दा मौखिक आदेशमै धेरै हुन्छ र हुनुपनि पर्छ । आफैंले काममा खटाएर…… पछी मलाई जाहेर भएन, मैले थाहा पाईन, त्यसको जिम्मेवारी म लिन्न भनेर पन्छिने विशिष्ट श्रेणिका अधिकृत तथा गृह मन्त्रालय सम्हालेका माननिय मन्त्रीहरुको कार्य प्रणालिले म पटक-पटक विक्षिप्त बनें । जस्तो की कैलालीमा जातिय द्वन्द भड्काउने काममा तराई मधेश केन्द्रित दलहरु र पुर्व प्रधानमन्त्री समेत लागे अनी थारु समुदाय उत्सृङ्खल हुँदै जाँदा नेपाल प्रहरीका वरिष्ट उपरिक्षक सहित प्रहरी निरिक्षक दुई जना, एउटा अवोध बालक सशस्त्र प्रहरीका हवल्दार र जवान सहित ७ जनाको निर्मम हत्या भयो । यसमा तत्कालिन गृहमन्त्रीले सदनमा दिएको मन्तव्य सुन्दा म यही देशको नागरिक, त्यसमा पनि प्रहरी संगठनको जिम्मेवार सिपाहीको ह्रदयमा नराम्रो काँडा बिझ्यो । असन्तुष्टिको सिमा रहेन र पनि निःशब्द बस्नु सिवाय केही गर्न सकिन । त्यस्तै सनम शाक्य हत्या काण्ड र साढे ३३ किलो सुन सम्वन्धी घटनामा पनि प्रहरी संगठनको होनाहार अधिकृत…, अनुशन्धानमा कहिल्यै चुक्न नचाहने स्वाभिमान भएको व्यक्तीलाई संगठनले नाङ्गो मात्र बनाएन कोही राजनैतिक नियुक्तीमा आएका निजामति कर्मचारीको जिम्मा लगाएर बर्दि फुकालिदियो । जेलको क्षिणीमा पुर्यामईदियो । त्यो वेला यो संगठनबाट हामी सदस्यहरु प्रति भएको गैर जिम्मेवार व्यबहारले मैले आफु जिउँदो लाश झैं भएको महसुश गरें । न त म दिवेश लोहनीको नातेदार न त लक्ष्मण न्यौपानेकै…… । दिवेश लोहनीलाई थला पार्नैका लागी उहाँकै व्याजका केही अधिकृतहरु पछी लागे त केही उहाँ भन्दा सिनियरहरुनै पनि….. यो सवै हुँदा पनि म मेरो संगठन प्रति गैर जिम्मेवार र अवसरबादी हुन सकिन् । समय क्रमसँगै फेरी कञ्चनपुरकी वालिकाको बलात्कार पछी हत्या भएको घटनामा अनुसन्धान गर्न गएका डि.एस.पि. अङ्गुर जि.सी लाई पनि निर्मला सँगै सति पठाउँने कार्यमा प्रहरी प्रमुख देखी ए.आई.जी.सम्म लागी परे ।

दुःखका साथ भन्नु पर्दा यहाँ अपराधीलाई कानूनी कठघरामा उभ्याउनु वा पिडित र तिनको परिवारलाई न्याय दिनुको सट्टा अर्को ब्यक्तीलाई बिभिन्न बहानामा फसायर घटनालाई अर्को मोडमा पुर्यायउँदै आफु सफल हुने तथा आफ्नो ओहदामा सुरक्षित रहिरहने सिवाय संगठनका बागडोर सम्हालेका हरुले अन्य सदस्य तथा निमुखा जनताहरु प्रति उदार नीति लिएको कहिल्यै देखिन् । सबै घटनामा प्रत्यक्षदर्शी हुँदैनन्, अदालतमा मान्य हुने वा प्रमाण पुग्ने दसिहरु फेला नपर्न सक्छन् के त्यती हुँदैमा मान्छे मरेको केशमा राजनिती घुसाउने, संगठनकै सदस्यलाई दोषी ठहर्यातउने अनी संगठनका उच्च अधिकृतहरु आफ्नै कर्मचारी उपर अन्याय मात्रै गरिरहने अनी जुनियर अधिकृत तथा जवानहरुले सजायँ भोगिरहने…. ? अनी कसरी हुन सक्छ सु-शासन …… ?

त्यस्तै अर्को प्रसंग हेर्ने हो भने २०७६ साउन २० गते नुवाकोट निवासी पत्रकार शालिकराम पुडासैनी चितवन भरतपुर स्थित एउटा होटलमा मृत अवस्थामा फेला परे…, घटनास्थल मुचुल्का लगायत लाशको प्रकृती खुलाई मुचुल्का समेत भयो र लाश पोष्टमार्टमको लागी काठमाण्डौ स्थित शिक्षण अस्पताल महाराजगंज पठाईयो । उक्त घटना कसरी घट्यो भन्ने अनुसन्धान जारी रहेकै अवस्थामा प्रेस काउन्सिलका तत्कालिन कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चालन गर्दै आएको मिडिया मार्फत मृतक शालिकराम पुडासैनिले सिधाकुरा जनतासँग कार्यक्रम प्रस्तुता रबि लामिछाने, अर्का पत्रकार तथा सहयोगी युवराज कँडेल र नर्सिङ पेशामा आवद्ध रुकु भन्ने अस्मिता कार्की समेतले शारिरीक तथा मानसिक यातना दिई आफुलाई मर्न बाध्य बनाएको भन्ने ब्यहोराको एउटा भिडियो सार्वजनिक भयो । उता प्रहरीको नियन्त्रमा रहेको दोसी प्रमाण तथा घटना सँग सम्वन्धित वस्तु तथा कागजातहरु के-कसरी किशोर श्रेष्ठको हातमा पुग्यो रु चितवन प्रहरीले किन उसलाई दियो रु जस्ता जिज्ञासा र प्रश्न आम नागरिकले हरेक प्रहरीलाई सोधे….., सामान्यतया सोध्नुपनि ठिकै हो । पोष्टमार्टमको रिपोर्ट आउन केही समय लाग्ने नै भयो तर त्यसको प्रतिक्षा समेत नगरी चितवन प्रहरीले न्युज 24 को स्टुडियोबाटै रबि लामेछाने र युवराज कंडेललाई राती २०:०० बजे पछी नियन्त्रणमा लियो त्यो पनि जरुरी पक्राउपुर्जी जारी गरेर, अझ त्यसमा पनि रबि लामिछानेले म एकजना कानूनी सल्लाहकारलाई बोलाउँछु मात्र २०-३० मिनेटको समय दिनोस् भन्दा त्यो पनि दिईएन र उनीहरुलाई नियन्त्रणमा लिएर परिसर काठमाण्डौ हुँदै रातारात चितवन पुर्याईयो । यो सवै हुनुमा कोही कसैको ईच्छा शक्ती पक्कै थियो र प्रहरीलाई तु का तु निर्देशन दिई पक्राउगर्न लगाईयो, यदी त्यसो नहुँदो हो त पिडित पक्षको जाहेरी नआउँदै, पोष्टमार्टमको रिपोर्ट नआउँदै कुनै एउटा मिडियामा आएको कथित भिडियोको आधारमा देश र जनताको खातिर कटिबद्ध भएर काम गरिरहेको पत्रकारलाई कार्यकक्षबाटै त्यो पनि रातारात किन उठायौं होला……… ? त्यसको उत्तर यो सरकार, गृह मन्त्रालय र प्रहरी मुख्यालय समेत सँग थिएन् । चिन्ता र चासो केही राजनितिज्ञ र तिनका मतियार बनेका केही तत्कालिन चितवन प्रहरी सँग हुँदो हो । उनीहरुको केही स्वार्थ सिद्ध गर्ने अभिप्रायले रबि लामिछानेलाई कमजोर बनाउने मनसायले यो घटना मोडियो । दुःखका साथ भन्नु पर्दा समयको गती सँगै प्रहरीले दोषी भनेकाहरुलाई अदालतले निर्दोष बनायो तर मृतक पुडासैनी र निजको परिवारको लागी कसैले न्याय गरेनन् ।, गर्नै खोजेनन ।

राज्यको नोकरी गरेको एउटा सिपाही विशेषतः राज्य प्रति बफादार हुने हो तर यहाँ त जननिर्वाचित प्रतिनिधीहरु कालाबजारी र ठेकेदारी गर्छन् राज्यका ठुला अफिसरहरु ति नै नेताहरुको चाकरी गर्छन अनी एउटा सिपाही त्यही हाकिमको गुलामी गरे मात्र अनुशासित हुन्छ, स्वःविबेकले एउटा सिपाही नत डिउटी जान पाउँछ न त खाना खान…। यहाँ मान्छेहरुको भन्दा रोबटहरुको खाँचो छ । जो सँग कुनै आईडिया नहोस्, स्वःबिवेक नहोस अनी सेतो पदार्थलाई हाकिमले कालो भनिदिंदा उसले त्यसलाई कालो मात्रै देखिरहोस् ।

मैले यो देशको स्वतन्त्र नागरिक बन्नैका लागी आफ्नो यात्रा मोड्दैछु । तर अझै पनि गन्तव्य अनिश्चित छ, यहाँ २०४६ साल यताका नेता, यहाँ कायम भएको व्यबस्था र नेपाली जनताको दैनिकीको अवस्था लाई मनन् गर्दा जुनसुकै बादको नारा लगाए पनि फरक-फरक सिद्धान्त, फरक-फरक झण्डा र घोषणा पत्र देखाए पनि वर्तमान नेपालका नेताहरु ९५% शोसक, सामान्ती र भ्रष्ट्राचारी नै छन् । यिनीहरुको बाद, दर्शन, पार्टी अलग-अलग छ तर जनता र राष्ट्र प्रती कोही बफादार छैनन्, यिनीहरु गद्धार छन् । यहाँ बहुदलिय व्यबस्था तथा प्रजातान्त्रिक व्यबस्था देखी लोकतन्त्र, गणतन्त्र जुनसुकै नाम दिएपनि सामान्य नागरिकको दैनिकी अझै कष्टदकर र दयनिय बन्दै गएको यथार्थलाई म कुल्चन सक्दिन् । यहाँ नाताबाद, क्रिपाबाद, फरियाबाद मात्र हावी छ न प्रजातन्त्रको नाम लिनेहरुले त्यसको भावना अनुसार काम गर्छन् न त माओबादी भन्नेहरुले….., यहाँको व्यबस्था केवल कुनै नयाँ टेक्निशियनको प्रयोगशाला जस्तो भएको छ । बिदेशीको ईसारामा धर्म र संस्कारहरु परिवर्तन भएकाछन् । सनातन धर्मको बर्खिलाप गरिएको छ, बृद्धाश्रम खोलेर करोड कमाउँछन् यहाँ, मन्त्रीका श्रीमतीहरु आईएनजिओ चलाउँछन यहाँ अनी ठेकेदार र मानव तस्करहरु नेता र मन्त्री बन्छन यहाँ, तिनीहरुबाट कस्तो व्यबस्थाको अपेक्षा गर्दा होला…?

हाम्रो देशको व्यबस्था केवल कर्मचारीको मनोविज्ञानले चलेको रहेछ तर आजसम्म आईपुग्दा नेता भनिएका लुटेराहरुले आ-आफ्नो स्वार्थ सिद्द गर्ने अभिप्रायले परम्परागत कार्यशैलीलाई हटाएर नयाँ कार्यशैली अपनाउँदै गर्दा यहाँ खतरनाक भाईरसहरु भित्रीएका छन् ।

राष्ट्रनिर्माताको शालिकमा बम पड्काउनेहरुको बादलाई राष्ट्रबादको सिद्धान्त मान्नु पर्ने बाध्यकारी व्यबस्था लगाएकाछन् । यहाँ हामीले कालाबजारी गर्न पाउनै पर्छ भनेर हडताल सम्म गर्न पाईन्छ । राज्यमा बिकाश निर्माण तथा कुनै प्रणालिको सेवा विस्तार गर्दा आवश्यक उपकरण किन्दा मन्त्रीले खुलेयाम कमिसन खाँन पाईन्छ । तोते बोलि बोल्ने बालबच्चालाई पढाउने जिम्मेवारी लिएको शिक्षक कुनै दल विशेषको कार्यक्रममा महिनौं दिन लागेको हुन्छ । यहाँ त जनै लगाएरै होली वाईन खान सक्ने नेता, कुन दलको मान्छे भनेर फैसला गर्ने न्यायाधिष, सार्बजनिक सम्पत्तीनै ब्यक्तीको नाममा बनाउन सक्ने मालपोतका हाकिम अनी पैसा तिरेर बनेका मन्त्री अनी तिनै मन्त्रीको सिफारिसमा नियुक्त भएका कर्मचारी ..जी, यि सबै राष्ट्र, राष्ट्रियता र भोलीका सन्ततीको भविष्यपको लागी विश्वमा फैलिंदै गएको कोरोना भाईरस बराबर हुन् ।

अन्त्यमा मैले यि वाक्याम्सहरु लेख्दै गर्दा कोही कसैलाई व्यक्तीगत रुपमा असर पुर्यामउने मनसाय नभएको र संगठनमा निराशा मात्र होईन आशाका किरणहरु पनि आउँन सक्ने मार्गहरु प्रसस्तै यथावतनै रहेको हुँदा यो संगठनलाई कुनै दलगत, व्यक्तीगत तथा गुटगत परिचालन नगरिदिन हुन र आम नागरिकको साझा संस्थाको भुमिका निर्वाह गर्ने तर्फ आ-आफ्नो स्थानबाट सत्कर्म गरिदिन हुन संगठनमा आबद्ध सवै अधिकृत ज्युहरुलाई बिनम्र अनुरोध गर्दै एउटा सिपाहीको मनोविज्ञानलाई बुझिदिन समेत आग्रह गर्दै अन्य सहयात्री साथीहरुको बाँकी भविष्य सुन्दर र सु-निश्चित होस् भन्ने कामना गर्दछु । जय नेपाल….

                                                                                                                                                                   

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares