Sunday, January 12
Shadow

बुद्धि: जीवनको प्रकाश – अघोरी श्मसानेश्वर चण्डी


  • -इ
  • इ+

बुद्धि: जीवनको प्रकाश
_______________

बुद्धि मानव जीवनको महत्वपूर्ण आधार हो। यसले मात्र मानिसलाई अरू प्राणीभन्दा विशिष्ट बनाएको छ। बुद्धि कुनै सिमित ज्ञानको भण्डार होइन। यो सत्यको खोजी गर्ने क्षमता हो। यो नै हाम्रो जीवनको प्रत्येक पाइलामा सही निर्णय गर्न सघाउँछ, हरेक चुनौतीलाई समाधान गर्न उत्प्रेरित गर्छ र हामीलाई ज्ञानको यात्रामा अघि बढाउँछ।

समसामयिक समाजमा बुद्धिको महत्त्व झन् धेरै बढेको छ। आजको युग सूचना र प्रविधिको युग हो, जहाँ ज्ञान र तथ्यहरूको बहुलता छ। तर सत्यको छनोट र वास्तविकताको पहिचान गर्न बुद्धिको प्रयोग अपरिहार्य छ। मानिसले प्रविधिको उपयोग सही ढंगले गर्ने कि यसको दुरुपयोग गर्ने भन्ने निर्णय बुद्धिले नै निर्धारण गर्छ।

आध्यात्मिक दृष्टिकोणबाट हेर्दा बुद्धि मानवको दिव्य शक्ति हो। यो आत्मा र परमात्माको सम्बन्धलाई बुझ्ने माध्यम हो। ज्ञानमार्गको पहिलो खुड्किलो नै बुद्धि हो। बुद्धि नै आत्मसाक्षात्कारको साधन वा आधार हो। जब मानिस आफ्नो भित्री चेतनाको जागरण गर्छ, तब बुद्धि शुद्ध, निर्मल र सत्मार्गदर्शी बन्छ। यस्तो शुद्ध बुद्धिले मात्र मानिसलाई अज्ञानताको अन्धकारबाट मुक्त गराउँदै जीवनलाई प्रकाशमय बनाउँदछ।

चेतनाको जागरणको पुर्वार्धमा मानव समाजमा विद्यमान हिंसा, असहिष्णुता र भ्रमको वातावरणको प्रभावले ग्रसित भएको पनि हुन सक्दछ। यस्तो अवस्थामा बुद्धि नै मार्गदर्शनको प्रमुख स्रोत हुन सक्दछ। बुद्धिको सही प्रयोगले मानवता, सहिष्णुता र करुणाभाव प्रकट हुन पुग्दछ। बुद्धिले नै मानिसलाई आफ्नो कार्यको प्रभावका बारे सोच्न प्रेरित गराउदै विवेकी वनाउदछ । विवेकको प्रयोगले मानिसलाई सत्य र असत्यबीचको भिन्नतालाई स्पष्ट पार्दै, आफ्ना कर्महरूलाई परिष्कृत गर्न सघाउँदछ।

योगयुक्त बुद्धि नै जीवनको परम लक्ष्यमा पुर्याउन सक्ने साधन हो। योगयुक्त बुद्धि भनेको यस्तो बुद्धि वा स्मरणहो जसले जीवनमा सन्तुलन, शान्ति र समत्वको भावना उत्पन्न गराउदछ। यसले व्यक्तिलाई आफ्नो कर्मलाई निष्काम भावले सम्पन्न गर्न सिकाउँदछ, जहाँ फलप्राप्तिको आशक्ति हुँदैन। योगयुक्त बुद्धिले मानिसलाई सांसारिक आकर्षण र द्वन्द्वहरूबाट माथि उठ्न मद्दत गराउदै जीवनलाई सहज र आनन्दपूर्ण बनाउँछ। यसबाट स्पष्ट हुन्छ कि केवल सांसारिक प्रगति मात्र होइन, आत्मिक शुद्धता र शाश्वत शान्तिको खोजीमा पनि बुद्धिको महत्त्वपूर्ण भूमिका छ।

हामीले बुद्धिको विकासका लागि आफ्ना विचारहरूलाई नियमित परिष्कृत गर्नुपर्छ। सत्यलाई स्वीकार गर्न र असत्यलाई त्याग्न सक्ने सामर्थ्यलाई बढाउनुपर्छ। बुद्धि केवल व्यक्तिगत प्रगतिको साधन भएता पनि यो समग्र समाजलाई नयाँ दिशा दिन सक्ने शक्ति हो।

यसैले हरेक मानवले आफ्नो जीवनमा बुद्धिको प्रकाशलाई उच्च स्थान दिनुपर्दछ। यो प्रकाशले मात्र हामीलाई जीवनको वास्तविक अर्थ वुझाउदछ र सृष्टिलाई राम्रो र समृद्ध रूप दिन मद्दत पुर्याउदछ। आध्यात्मिक र सांसारिक दृष्टिकोणबाट मात्र होईन व्यवहारिक दृष्टिकोण वाट पनि मानव जीवनको लागि बुद्धि नै सर्वोत्तम साधन हो।वुद्धि विकास गर्न सकौ यसैमा सवैको कल्याण निहित छ ।

जय अघोर ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares