Friday, April 26
Shadow

नेपाल-खनाल पक्षको कार्यकर्ता भेलाः नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत, के के भयो आज ?


  • -इ
  • इ+

काठमाडौँ , चैत ४ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु भएको छ । भेलामा देशका ७७ वटै जिल्लाबाट ४ हजारभन्दा बढी कार्यकर्ता सहभागी भएको नेपाल-खनाल पक्षले जानकारी दिएकोछ ।

राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीमा उत्पन्न विषम परिस्थितिका बारेमा छलफल गरी पार्टी पंक्तिको एकीकृत धारणा तय गर्न र त्यस अनुरुप पार्टी पंक्तिलाई देशव्यापी रुपमा परिचालन गरी पार्टीलाई सुदृढ, एकताबद्ध र क्रियाशील बनाउने विषयमा छलफल हुने पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

पार्टीका पूर्वअध्यक्ष तथा बरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा आयोजित भेलामा बरिष्ठ नेता कमरेड माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका छन् ।

अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरु कुनै उपाय नभएको उल्लेख गर्दै त्यसका लागि पार्टी पंक्तिलाई परिचालन हुनुपर्नेमा जोड दिइएको छ । पार्टी पंक्तिले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, वर्तमान अवस्थाका चुनौतीहरु र आगामी कार्यभारहरुका बारेमा अवधारणापत्रमा उल्लेख गरिएको छ ।

पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले सञ्चालन गर्नुभएको भेलामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सहभागीहरुलाई स्वागत गरेकी थिइन् भने अग्रज नेता सिद्धिलाल सिंहले शुभकामना मन्तव्य दिएका थिए ।

भेलामा अग्रज नेताहरु कमलप्रसाद कोइराला, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, शीतल झा, राधाकृष्ण मैनालीलयायत शुभेच्छा प्रकट गर्न उपस्थित भएका थिए ।

उक्त अवधारणापत्रमाथि छलफल गर्न सहभागीहरुलाई सात प्रदेशका साथै सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको बताइएको छ । आ–आफ्नो समुहमा छलफल गरी टोली नेतामार्फत भोलि सुझावहरु पेस गर्ने र ती सुझावहरुलाई समेत ध्यानमा राखी अवधारणापत्र पारित गर्ने कार्यक्रम छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares