Thursday, March 28
Shadow

सरकारले संविधान मिच्दैन : प्रधानमन्त्री ओली


  • -इ
  • इ+

काठमाडौं , फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताए ।

सरकार जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्नेसमेत प्रधानमन्त्री उनले बताए । उनले भने, ‘‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन । संविधान मिच्दैन, मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन । भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ । अपराधहरुलाई नियन्त्रण गर्छ आदि कुराहरुमा म आम दाजुभाइ दिदीबहिनीहरुलाई आश्वस्त पार्न चाहन्छु ।’’

जनताको आकांक्षा र अभिमतबाट मात्रै लोकतन्त्र सञ्चालित हुन सकोस् भन्ने अभिप्रायले सरकारले अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्दै नयाँ निर्वाचन घोषणा गरेको पनि प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘‘लोकतन्त्रलाई बिनाव्यवधान र बिनाविकृति अगाडि बढाउनका लागि लोकतन्त्रभित्रैबाट अस्वस्थता र अस्थिरताका प्रयासहरु हुन नपाऊन्, लोकतन्त्र जनताको आकांक्षा र अभिमतबाट सञ्चालित हुन सकून्, त्यस अभिप्रायले र लोकतन्त्रभित्रैबाट, प्रणालीभित्रैबाट, अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्न र कुबाटोतिर लोकतन्त्रलाई धकेल्ने चेष्टाहरुलाई अगाडि जान नदिन अहिले मुलुक फेरि नयाँ निर्वाचनतर्फ अग्रसर भएको छ ।’’

प्रधानमन्त्री ओलीले नयाँ निर्वाचनको तयारीमा लाग्न सम्बन्धित निकायहरुलाई आग्रहसमेत गरे । ‘‘नयाँ निर्वाचनको तयारीका लागि म आग्रह गर्न चाहन्छु, सबै निकायहरुले आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक बहन गर्नुपर्दछ । कुनै पनि हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्नेखालका क्रियाकलापहरु कहीँबाट पनि हुनु हुँदैन,’’ उनले भने, ‘‘निर्धारित समयमा निर्वाचन हुनेछ र निर्वाचन गरिनुपर्दछ । देशलाई अस्थिरताबाट जोगाउने र स्वस्थ जनअभिमतद्वारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधिसम्मत् ढंगले अगाडि बढ्ने बाटो ताजा जनादेश नै हो ।’’

प्रधानमन्त्री ओलीले सनातिना मतभेदहरुलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा काम गर्न, एकताबद्ध भएर अगाडि बढ्न सबै राजनीतिक पक्षहरुलाई आग्रह गरे । अझै पनि शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन नसकेका पक्षहरुलाई संवादको माध्यमबाट शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन पनि उनले आग्रह गरे ।

पूर्वाधार र विकासका क्षेत्रमा भएका कामहरुबाट देशको आर्थिक समृद्धिमा महत्वपूर्ण उपलब्धिहरु प्राप्त भएको उनले उल्लेख गरे । ती उपलब्धिहरुको रक्षा गर्दै अगाडि बढ्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्नका लागि सुशासन र विकासको बाटोबाट सरकार अगाडि बढ्ने अथक प्रयास गरिरहेको उनको भनाइ छ ।

विगत सात दशकमा राष्ट्रियतालाई सबल र सुदृढ गर्ने कुरामा समाजिक न्याय र समानताका क्षेत्रमा भएका प्रयास, देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने र लोकतन्त्रका मूल्य–मान्यताहरुलाई स्थापित गर्ने सन्दर्भमा असाधारण उपलब्धिहरु हासिल भएको पनि प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले अर्को वर्षसम्म नेपाल अल्पविकशित राष्ट्रबाट विकासशील राष्ट्रमा प्रवेश गर्नुपर्ने भएकाले धेरै कामहरु गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।रासस

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares