काठमाडौं, फागुन १ । जापानको पूर्वी क्षेत्रमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । १० वर्षअघि गएको शक्तिशाली भूकम्पका कारण तीनवटा परमाण रियाक्टर क्षतिग्रस्त बनेको फुकुसिमानजिकै भूकम्पको केन्द्रविन्दु रहेको थियो ।
जापानका अधिकारीहरुले भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड रहेको बताएका छन् । यद्यपि, भूकम्पबाट सुनामीको खतरा भने नरहेको उनीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार ११ बजेर ८ मिनेट जाँदा भूकम्प गएको थियो ।
भूकम्प गलत्तै प्रधानमन्त्री कार्यालयले विपद् व्यवस्थापन कार्यालय स्थापना गरेको छ भने परमाणु प्लान्ट सञ्चालन गर्ने टोकियो इलेक्ट्रिक पावर कम्पनीले त्यसमा रेडिएसन चुहावट भएको या नभएको जाँच गरिरहेको छ । एनएचकेका अनुसार भूकम्प ३० सेकेण्डसम्म गएको थियो ।
सन् २०११ को मार्चमा जापानमा ९–९।१ म्याग्निच्युडको प्रलयकारी भूकम्प गएको थियो । द ग्रेट इस्ट जापान अर्थक्वेक भनेर चिनिने त्यस भूकम्पलाई जापानमा गएको अहिलेसम्मकै शक्तिशाली भूकम्प मानिन्छ । त्यतिबेला करिब १६ हजारले ज्यान गुमाएका थिए । उक्त भूकम्पको १० औँ वर्ष गाँठको एक महिना अघि जापानमा शक्तिशाली भूकम्प गएको हो ।