Tuesday, April 23
Shadow

लोकतन्त्र बचाउन राजनीतिक लडाई लड्दै छौं: प्रधानमन्त्री ओली


  • -इ
  • इ+

काठमाडौँ , माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जिम्मेवारीका साथ लोकतन्त्र बचाउन राजनीतिक लडाई लडिरहेको बताएका छन् ।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई सहि बाटोबाट कुबाटोमा लैजान नदिने राजनीतिक लडाई लडिरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफुहरु आवेग र उत्तेजित नभएको बताउदै पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउनेवाला नभएको र आफुहरु रातो झण्डा फहराउनेवालाहरु भएको बताए । आफ्नो गन्तव्यको बारेमा आफुहरु स्पष्ट रहेको बताउदै देशलाई विकासको बाटोमा लैजाने स्पष्ट बाटो अपनाएको उनले बताए ।

प्रधानमन्त्री ओलीले अहिले प्रचण्ड(नेपाल पक्षसँग आफु बाझ्ने पक्षमा नरहेको भन्दै अहिले विश्व तिब्र गतिमा बढेको र त्यो गतिलाई भेटाएर देश विकासमा ध्यानकेन्द्रित गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भारतीय जीन्युजलाई दिएको अन्तर्वार्तामा भन्ने ठाउ केहि नभएपछि विवाद निकालिएको भन्दै राष्ट्रवाद विवाद गर्ने विषय नभएको बताए । यसैबीच नेपाल कम्युनिष्ट पार्टी \(नेकपा)का सचिवालय सदस्य एवं सरकारका वरिष्ठ मन्त्रीहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मक रुपमा प्रतिनिधिसभा विघटन भएकाले पुनःस्थापना भएमा प्रतिगमन हुने बताएका छन् ।

प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलामा आज सम्बोधन गर्दै नेताहरुले ताजा जनादेशमा जाने निर्णय अग्रगमन हुने भएकाले सोही भावलाई आमजनसमुदायमा सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन भई आगामी वैशाख १७ र २७ गतेका लागि नयाँ निर्वाचनको मिति घोषणा भएको थियो ।

कार्यक्रममा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले नेकपाभित्र उत्पन्न विभाजित परिस्थिति अचानक उत्पन्न भएको नभई एकता गर्दादेखि नै त्यसका भ्रुण देखिएको बताउए । उनले अन्तरविरोधमा खेलेर आफ्नो स्वार्थका लागि अरुको ढाडमा टेकी टाउकामा हान्ने प्रवृत्तिका कारण यो स्थिति आएको टिप्पणी गरे ।

उपप्रधानमन्त्री पोखरेलले केही सञ्चारगृहले हाकाकाही झुटो, तथ्यहीन र आपराधिक प्रकारका विषयवस्तु पस्किएर जनतालाई कुसूचित गरिरहेको जनाउँदै पीत पत्रकारितातर्फ सजग रहन आग्रह गरे । नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले सरकारले निर्वाचनको तयारी शुरु गरिसकेको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना भएमा प्रतिगमन हुने विचार राखे ।

नेकपा सचिवालय सदस्य एवं नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइएका अभियोगपत्र फिर्ता लिएमा पार्टी एकता पूर्ववत् रहने बताउँदै निर्वाचनको तयारीमा सरकार र पार्टी लागिसकेको बताए । उनले कोरोना महामारीविरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउन सरकारले तयारी गरिरहेको पनि जानकारी दिए ।

नेकपा स्थायी कमिटी सदस्य एवं ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले ‘पार्टीमा निर्वाचन नगरी लामो समय आफैँ नेतृत्वमा रहने प्रवृत्ति भएका नेताहरुले आफ्नै अध्यक्षको नेतृत्वमा रहेको सरकारलाई हठात् ढाल्न खोजेर देशमा अस्थिरता निम्त्याउन खोजेकाले’ प्रधानमन्त्री ओलीले बाध्यात्मक रुपमा प्रतिनिधिसभा विघटन गरेको बताए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार सञ्चारमैत्री प्रेस नीति र कानून तर्जुमा र कार्यान्वयनमा अग्रसर रहेको बताउँदै श्रमजीवी पत्रकारको हकहितका लागि सरकार सधैँ पत्रकारका साथमा रहेको स्पष्ट गरे । उनले नेपाल पत्रकार महासङ्घसहित सबै सम्बन्धित सङ्गठनसँग सरकार सहकार्य गरेर काम गर्न पनि तत्पर रहेको बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares