काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रदेश २ मा साताव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल समूहले नेकपाको जनकपुरस्थित प्रादेशिक पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी १८ देखि २४ पुससम्म आन्दोलन गर्ने बताएको हो ।
प्रतिनिधिसभा विघटन गरेर ओलीले संविधान, संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशिता नै समाप्त पार्ने षड्यन्त्र गरेपछि आफूहरूले कडा आन्दोलन सुरु गर्न लागेको पत्रकार सम्मेलनमा नेताहरूले दाबी गरेका छन् । ओलीको प्रतिगामी कमदविरुद्ध एक हजार एक सय सदस्यीय प्रादेशिक संघर्ष समिति गठन गरिएको नेकपाका प्रदेश सहइन्चार्ज विश्वनाथ साहले बताए ।
साहकै संयोजकत्वमा गठित संघर्ष समितिले प्रदेशका आठवटै जिल्ला, स्थानीय तह तथा वडामा समेत संघर्ष समिति गठन गरिएको छ । संघर्ष समितिले १८ देखि २४ पुससम्म आन्दोलनका कार्यक्रम गर्ने उनले बताए ।
साथै नेकपा प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी थालेको छ ।