भुमिनन्द देवकोटा
मन
मन स्मरण हो
सन्देह, ख़्याल र साँचों हो
अनि स्मृति, विस्मृति
अनुभव र अपेक्षा हो
यो जब मजबुत छ
अस्तित्व नै यसभित्र छ
सुख, ख़ुशीको किल्ला छ
नपुग्ने कुनै लोक छैन
नपुग्ने कुनै भोक छैन
जब यो भत्कन्छ
आफैं नअटाउने
साँगुरो खोंच बन्छ
त्यहाँ केहि पाइदैन
पाइन्छ त अभाव ।
आँसु छ, रौद्ररूप छ
शरीर भारी छ जगतले थिचेझैं
सबैदेखि टाढा टाढा
बस्ने रहर छ
बाटो धूमिल छ
हिढ्ने रहर मरेको छ
शब्दहरू भित्रै नज़रबन्द छ
छ त केवल बिगतको यादहरू
जो दुख्ने गर्छ
र हरपल चपाइरहेछन्
बक्यौता ज़िन्दगी
मरेको भूत पनि
यति बलिष्ठ !
मन भत्केपछि
म सोच्छु फेरि ज़िन्दगी बाँच्नुमा
फेर्छु बिगत सिक्ने बिषयमा
अनि आँत अलि पलाउँछ
बिस्तारै
मन स्मरण हो
जिन्दगी त आज हो
हिजो फर्कदैन, भविष्य त
आजैले बनाउने पो हो
मन दास हुनसक्तैन हिजोको
मन आज मालिक हो
मालिक बनाउन
म कट्टिबद्द छु !
मन स्मरण हो
बाच्नुमा छ मन !!