प्राध्यापन पेसासँगै नेपाली कांग्रेसमा राजनीति गरेका भीमसेनदास प्रधान २०४८ सालदेखि काठमाडौँ क्षेत्र नं ६ मा भिजेका पुराना नेता हुन् । यसअघि २ पटक संसदीय निर्वाचनमा विजयी भएका उनले २०७० सालको चुनावमा एमालेका योगेश भट्टराई र २०७४ सालको चुनावमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी माओवादीका हीतमान शाक्यसँग ३ सय भोटले पराजित भएका थिए ।
अघिल्ला २ कार्यकालमा आफूले गरेको कामको मूल्याङ्कन गर्दै जनताले आफूलाई निर्वाचित गराउने उनको विश्वास छ । प्रधानले भने, ‘तपाईले क्षेत्र नम्बर ६ का लागि राम्रो काम गर्नुभएको छ भनेर जनताबाट प्रतिक्रिया पाएको छु । जनताले मैले गरेको काम हेरेर विजयी गराउनुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।’
राजनीतिक दलले पूर्व कर्मचारीहरुलाई चुनावमा उठाउने प्रवृत्ति भने उनलाई ठिक लाग्ने गरेको छैन । जुनसुकै पार्टीले उम्मेदवार बनाउँदा राजनीतिमै त्याग गरेको व्यक्तिलाई महत्त्व दिनुपर्ने उनको धारणा छ ।
उनले भने, ‘जुनसुकै राजनीतिक पार्टीको भए पनि राजनीतिमै लागेको व्यक्तिले निकै लामो त्याग तपस्या गरेर अगाडि बढेको हुन्छ । त्यो योगदानलाई कदर गर्नुपर्नेमा पूर्व कर्मचारीलाई राजनीतिमा ल्याएर अगाडि बढाउने काम अराजनीतिक चरित्र हो । यस्तो प्रक्रियाले भोलिको राजनीतिलाई विकृत बनाउँदै लान्छ । राजनीतिमा लाग्नेहरुलाई यस्तो कार्यले त निराशा जगाउने काम गर्छ ।’
स्थानीय तहमा आफ्नो निर्वाचन क्षेत्रमा व्यक्ति हेरेर जनताले भोट हाले पनि संसदीय निर्वाचनमा कांग्रेसको मत बढेर आउने उनको विश्वास छ ।
२०४८ सालमा वामपन्थी नेता पद्मरत्न तुलाधर र कांग्रेस नेतृ मंगलादेवी सिंह चुनाव लडेका बेला कांग्रेसको चुनाव प्रचार संयोजक रहेका प्रधान त्यसयता निरन्तर सो क्षेत्रमा क्रियाशील छन् ।
विभिन्न आन्दोलनमा सक्रिय सहभागिता जनाएका उनले पछिल्लो समय ओली नेतृत्वको सरकारले ल्याएको गुठी विधेयकको विरुद्धमा संसदमा पहिलो पटक आवाज उठाउने काम गरेका थिए । यस्तै खुला मञ्च खाली गर्न र अवैध ढंगले बनाएका सटर हटाउन, कंक्रिटको रानीपोखरी बनाउने काम रोकेर पुरातात्विक ढंगले मल्लकालीन रानीपोखरी बनाउनका लागि पनि प्रधानको महत्त्वपूर्ण भूमिका थियो ।
धर्मस्थली, काभ्रेस्थली लगायतका क्षेत्रमा सडक निर्माण, खानेपानी लगायतका क्षेत्रमा काम गरेको, संसद विकास कोषको पैसा आउने बेला वडाको माग अनुसार विकासको काम अघि बढाएर जनताको मन जित्न सफल भएको प्रधानको भनाइ छ ।