Tuesday, April 23
Shadow

काठमाडौं क्षेत्र नम्बर–६ मा पूर्व रक्षामन्त्री र पूर्व प्रहरी प्रमुख भिड्दैै


  • -इ
  • इ+

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

हालै एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका खनाल र विगत लामो समयदेखि राजनीतिमा जम्दै काठमाडौँ ६ बाटै पटकपटक चुनाव जित्दै आएका प्रधानबीच हुन लागेको प्रतिस्पर्धालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रधान र खनाल बाहेक यो क्षेत्रमा राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका गायक सञ्जय श्रेष्ठ, स्वतन्त्र उम्मेदवार निर्देश सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पनि चर्चित उम्मेदवार हुन् ।२०४८ सालदेखि यो क्षेत्रमा कांग्रेसको राजनीति गरेका प्रधान र एमालेका नवप्रवेशी खनाल चुनावी प्रचार प्रसारको अभियानमा लागिसकेका छन् । यसअघि २ पटक निर्वाचित भएर सो क्षेत्रमा गरेको विकास निर्माणको काम हेरेर मतदाताले आफूलाई निर्वाचित गराउने कुरामा प्रधान विश्वस्त देखिएका छन् भने खनाल प्रहरी सेवामा रहँदाको आफ्नो लोकप्रियता र नयाँ चुनावी एजेण्डाका साथ मत तान्ने कोसिसमा लागेका छन् ।

 काठमाडौँ–६ मा अघिल्ला चुनावको अवस्था

अघिल्ला चुनावको मतपरिणामको अवस्था हेर्ने हो यो क्षेत्रमा नेपाली कांग्रेसको पकड देखिन्छ । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा नेपाली कांग्रेसले १६ हजार ४७९ मत पाएको थियो । दोस्रो स्थानमा रहेको एमालेले १३ हजार ४४५ मत पाएको थियो ।

यो क्षेत्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाको खासै उपस्थिति छैन । यहाँ गत चुनावमा माओवादी केन्द्रले २ हजार ३३९, एकीकृत समाजवादीले १ हजार ७५२, राप्रपाले १ हजार ७४६ मत पाएको थियो ।

यहाँ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मत मिसाउँदा २० हजार ५ सय ७० हुन्छ, जुन एमालेले पाएको मतभन्दा ७ हजार १२५ ले बढी हो ।

प्रतिनिधिसभा निर्वाचन २०७४ कांग्रेसका भीमसेनदास प्रधानले १६ हजार ७ सय ८५ मत पाएर वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका थिए । सुवेदीले १५ हजार ४८५ मत पाएका थिए ।

यी हुन् काठमाडौँ–६ अन्तर्गतका स्थान  

काठमाडौँ क्षेत्र नं. ६ मा महानगरपालिकाका वडा नम्बर २६, २७, २८, तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ नम्बर वडा र  टोखा नगरपालिकाको १, ८, ९, १० र ११ नम्बर वडा पर्दछ ।

काठमाडौँ महानगरको वडा नम्बर २६ मा सामाखुसी, लैनचौर, ठमेल, वडा नम्बर २७ मा असन, भोटाहिँटी, महाबौद्ध, सञ्चयकोष तलसम्मको भाग पर्छ । यस्तै, वडा नम्बर २८ मा सिंहदरबार गेटबाट पुतलीसडक, कमलादी, धोवीधारा क्षेत्र पर्छ ।

यता तारकेश्वर नगरपालिकामा साङ्ला, धर्मस्थली, काभ्रेस्थली, फुटुङ, मनमैजु, गोगंबु लगायतका क्षेत्र पर्छन् भने टोखाका ५ वडा अन्तर्गत झोर महांकाल, गोंगवु लगायतका क्षेत्र पर्छन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares