आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनमा जुटेका छन् । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले घोषणपत्र निर्माणका लागि विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् भने नेकपा (एमाले) पनि विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव सङ्कलन गरेर घोषणापत्र तयारीमा व्यस्त छ ।
दलहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणपत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रम ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । कांग्रेस कञ्चनपुरका नेता ईश्वरी जोशीले घोषणापत्रमा सबै जनताको भावना समेटिने र आगामी पाँच वर्षमा कार्यान्वयन गर्न सक्ने योजनालाई घोषणापत्रमा समावेश गरिन लागेको बताउनुभयो । “शिक्षा, स्वास्थ्य, रोजगारका विषय समेट्नका लागि विज्ञहरूसँग छलफल गरेर घोषणपत्र तयार हुँदैछ”, उहाँले भन्नुभयो, “हाम्रो प्रुमख ऐजेण्डा कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्ने छ ।” त्यसैगरी एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले चुनावी घोषणापत्र बनाउने गृहकार्य भइरहेको बताउनुभयो । उहाँले घोषणापत्र तयार गर्न पार्टीका विभिन्न भ्रातृ सङ्गठनसँग सुझाव सङ्कलन गरिरहेको बताउनुभयो ।
“हामीले पार्टीसँग आबद्ध सङ्गठन र विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिसँग सुझाव सङ्कलन गरिराखेका छौँ”, उहाँले भन्नुभयो, “अहिले घोषणापत्रको मस्यौदा तयार भइरहेको छ, केही दिनमै जनतालाई छुने गरी घोषणापत्र ल्याउँछौँ ।” उहाँले नेता, कार्यकर्ता निर्वाचन क्षेत्रमा परिचालन भएको बताउनुभयो ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी घोषणापत्र तयारीमा व्यस्त छ । राप्रपाका नेता करन पालले पार्टीले घोषणापत्र तयार गरिरहेको बताउनुभयो । “घोषणापत्र निर्माणका लागि सुझाव सङ्कलन गरेर तयार पार्ने काम भइराखेको छ”, उहाँले भन्नुभयो, “घोषणापत्रसँगै नेता, कार्यकर्ता चुनावी प्रचारमा खटिएका छन् ।” चुनाव नजिकिँदै गर्दा दलका शीर्षनेता र कार्यकर्ता निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन् । दलहरूले वडा–वडामा सम्पर्क कार्यालय खोल्ने कार्य तीव्र पारेका छन् भने निर्वाचन परिचालन समिति बनाएरै कार्यकर्तालाई प्रचारमा परिचालन गरेका छन् ।