Tuesday, April 30
Shadow

इन्द्रजात्रा र युगपुरुष पृथ्वीनारायण शाह – दिर्घ राज प्रसाईं


  • -इ
  • इ+
दिर्घ राज प्रसाईं

 

२०७९ साल भाद्र २४ गते इन्द्रजात्राको शुभदिन हो । गोर्खाका राजा पृथ्वीनारायण शाहबाट इन्द्रजात्राको दिन हनुमानढोकामा गद्दी आरोहण गरेको गौरवमय दिन हो !

विक्रम संवत् संवत् १८२५ भाद्र सुदी १४ रोज १, नेपाल संवत् ८८८ मा इन्द्रजात्राको दिन गोर्खाका राजा पृथ्वीनारायण शाहको हनुमानढोकामा गद्दी आरोहण गरेको महान दिन हो ! काठमाडौंमा इन्द्रजात्रा मनाइरहेको समय पारेर अकस्मात चारैतिरबाट घेरेर आक्रमण गरी नेपाल जितेका हुन् ।
विक्रम संवत् १८२५ भाद्र सुदी १४ रोज १ मा इन्द्रजात्राको दिन गोर्खाका राजा पृथ्वीनारायण शाहबाट ‘विशाल–नेपाल’को सिर्जनार्थ राजसिंहसानमा आरोहण गरेको महान दिन हो । त्यो दिन इन्द्रजात्राको शुभदिन पारेर पोखराका झागल गुरुडलाई गाइनेको बाजा बजाउन लगाई ११ जना गोर्खाली सेना अघिपछि लगाएर गुरु गोरखनाथको आसिर्वादबाट उत्पे्ररित विशाल नेपाल निर्माणको महायक्षमा गोर्खाका राजा पृथ्वीनारायण शाहबाट राजगद्दी आरोहण हुनुभन्दा पहिला शाक्यबंशकी जीवीत कुमारीको हातको टिका लगाएर कुमारीको पाउमा ढोग गरेर मात्र राजसिंहासनमा बसेका थिए ।
पृथ्वीनारायण शाहको जन्म विक्रम संवत् १७७९ साल पौष २७ गते भएको र उनले विक्रम संवत् १७९९ साल चैत्र २५ गते, रामनवमीका दिन २० बर्षको उमेरमा गोर्खामा राज्यरोहण गरेका थिए । पृथ्वीनारायण शाहबाट काठमाण्डौं उपत्यका विजयपछि विक्रम संवत् १८२६ मा उल्लेख गरेका थिए– ‘राजा पृथ्वीनारायण शाहको बंश गुह्येकाली र पशुपतिको दुइृपाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस्’–(बसन्तपुर दरबारको अभिलेख)। पृथ्वीनारायण शाहले गोर्खाको सट्टा कान्तिपुरलाई राजधानी बनाएर सम्पूर्ण राज्यका जनतालाई राष्ट्रिय एकीकरणमा अभिप्रेरित गराउन सकेका थिए ।
गोर्खा राज्यलाई नेपाल अधिराज्यमा परिणत गरी गोरखकालीमा मानिआएको दशैं र घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएका फूलपाती गोर्खाबाट बाजागाँजासाथ मगर जातिका पूजारीबाट काठमाण्डौं हनुमान ढोकामा सत्तमीका दिन भित्रयाइने परम्परा चलाए ।
शाक्यबंशकी कुमारी कन्यालाई भगवतीको अवतार मानेर जीवित देवीको रुपमा सुख–समृद्धि तथा मांगालीक कार्यका निमित्त रक्षकको रुपमा कुमारीलाई तुलजा भवानीको अवतारको रुपमा हिन्दु तथा बौद्धहरुले सभक्ति आराधना पूजा गर्ने गर्छन् । कुमारी हुनको लागि कतै चोटपटक नलागेकी, रजश्वला नभएकी, निडर शाक्य बंशकी कन्यालाई स्थापना गरिन्छ । इन्द्रजात्राको दिनमा कुमारीको साथसाथै कुमार बालखहरुलाई गणेश र भैरवको रुपमा रथारोहण गराइन्छ । रथयात्राको दिन नेपालका राजा, रानी, जनताका प्रतिनिधि तथा जनताहरुबाट रथयात्रामा कुमारीको दर्शन गर्ने परम्परा रहिआएको छ ।
नेपालको राजा र कुमारीको कुण्डली मिल्नुपर्छ भन्ने किंवदन्ती छ । कुमारी घरका प्रमुख पूजारीको सिफारिसमा नेपालका राजाले कुमारीलाई भवानीको अवतारको रुपमा स्वीकार्ने प्रचलन छ । कुमारी घर काठमाण्डौं हनुमानढोकाको दक्षिणतर्फ अवस्थित छ । तजेजु भनानीको प्रतापले मात्रृशक्तिको पौेरखको रुपमा पनि कुमारीको महानतालाई अंगिकार गर्ने गरिन्छ । इन्दुजात्राको पाँचौं दिनलाई नानिंचा भनिन्छ । पाँचौं दिनमा राजाले कुमारीको हातबाट टिका लगाईसकेपछि मात्र अरुहरुले टिका लगाउने चलन छ ।
नेपालको एकीकरणमा प्रेरणाको स्रोतकोरुपमा पृथ्वीनारायण शाहबाट दिव्य उपदेशमा एउटा सपनाको उल्लेख छ–‘दुई हातमा दुई खड्ग लिएकी सात आठ बर्षकी कन्या म छेउ आइन् र मैले सोधेँ–‘ तिमी कस्की छोरी हौ भन्दा पुजारी रानाकी छोरी हुँ भनीन् र दुबै खड्ग मेरा हातमा दिइन् । खोकिलाबाट झिकी मेरो मुखसम्म ल्याई यो निल भनिन् । तिम्रो मनकान्छे पु¥याइदिएको छ ।’ राष्ट्रिय एकीकरणमा ती मगर कन्याबाट पनि पृथ्वीनारायण शाह प्रेरित भएका थिए । विदेशी पर्यटकहरु जीवित कुमारी र हिन्दु तथा बौद्धहरुको विश्वासप्रति आकर्षित छन् । यो नेपालको सांस्कृतिक परम्परागत गौरव पनि हो ।
तर नेपालमा धर्मनिरपेक्ष र गणतन्त्र स्थापित गरिएको बेलादेखि कुमारी पूजा र इन्द्रजात्रा विवादीत बन्न पुगेको छ । २०६३ सालपछि धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएता पनि राजाबाट गरिने धार्मिक कार्य र परम्पराहरुलाई जेनेतेनप्रकारेण मनाइदैंछ । नेपाल संसारका सार्वभौम राष्ट्रहरु भन्दा धेरै पुरानो हिन्दुस्थल हो । यो हिन्दुस्थललाई समाप्त गर्न विदेशीहरुको षडयन्त्रात्मक चलखेल प्रारम्भ भइसकेका थिए । गोर्खाका राजा पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न सोच्न थालेको अवस्था भन्दा अगाडि देखि नैं हिमतखण्डको यो पवित्रक्षेत्र माथि बेलायती साम्राज्यको हस्ती इष्ट इण्डिया कंपनीले आँखा गाडिसकेको थियो ।
वि.सं.१८००मा पृथ्वीनारायण शाहले बनारस भ्रमण गरेकाबेला अंगे्रज (इष्ट इण्डिया कंपनी) ले भारतीय परम्परा र संस्कृति ध्वस्त पार्दै भारतीय जनतालाई कुट्ने मार्ने र जहीतहीं लुटपिटहरु मच्चाउने गरेको अनेकौं प्रकारले सताउने काम गरेको केयौं जानकारी हासिल गर्ने मौका मिल्न गयो ।
पहिला ब्यापार, दोस्रो बाइबल र तेस्रो हतियार इष्ट इण्डिया कंपनीको हतकण्डा थियो भन्ने पृथ्वीनारायण शाहले त्यहीबेला बुझिसकेका थिए । त्यसलेगर्दा यहाँका पवित्र हिन्दु राज्यलाई कसरी इसाई साम्राज्यबाट बचाउने भन्ने उनमा सोचाई आयो । अन्ततोगत्वा बनारसको भ्रमणको बेला उनले हातहतियार बनाउने, कारखानाको निरीक्षण गर्ने, मर्मत गर्ने मुसलमानहरु कालीगढहरु, केही हातहतियार तथा योद्धाहरु समेत लिएर फर्केका थिए । त्यसपछि पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणमा साम, दाम, दण्ड, भेदको नीति अक्तियार गरेका थिए ।
राष्ट्रिय एकीकरणमा सम्पूर्ण क्षेत्रका बासिन्दाहरुलाई जागृत गराउन पृथ्वीनारायण शाहबाट राती फेरी लगाउने कानफट्टा गोरखनाथका जोगीहरुलाई दुनियाँका घर–घरमा पठाएर शंखध्वनी गराएर शत्रुहरुलाई त्रसित बनाउन र शत्रुहरुबाट कही खतरा पाइएमा उनीहरुबाटै खबर बुझ्ने नीति थियो । पृथ्वीनारायण शाहले नेपालको एकीकरणको सन्दर्भमा यहाँका ब्राह्मण, क्षेत्री, मगर, गरुड, तामाड, कामी, दमाई, सार्की, गाइने, आदि सम्पूर्ण जाति, धर्म र साम्रदायहरुको बीच सँधै समान सद्भाव राख्ने गरेकाले यसक्षेत्रका सबै थरि जातिहरु पृथ्वीनारायण शाहसँग अत्यन्त खुसी थिए । नेपाल संसारका राष्ट्रहरुका अगाडि आफ्रना मौलिक विशेषता लिएर उभिएको देश हो ।
नेपालका तीन विशेषता छन् । १) ऋषिमुनीहरुको जन्म र कर्मथलो– वेद, उपनिषद, पुराण तथा नीति शास्त्रहरुको पौराणिक वैदिक तथा बौद्धभूमि हिमवत्खण्ड नेपाल, २) विश्वका राष्ट्रहरुमा पुरानो सार्वभौमसत्तासम्पन्न देश, ३) विश्वको एक मात्र हिन्दु अभिराज्य । हिमवतखण्ड–नेपाल भनेको पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलास मान शरोवर र दक्षिणमा गंगानदी । अहिले त्यो पौराणिक भूमि खण्डित भएर पूर्वमा मेची र पश्चिममा महाकाली, उत्तरमा हिमालय र दक्षिणमा भारत रहेको छ ।
यो पूण्यभूमिलाई भारतीय हिन्दुहरु देशभूमि भन्छन् भने भारतलाई कर्मभूमि भन्छन् । नेपालको दोस्रो विशेषतामा नेपालले आफ्नो सार्वभौमसत्ता माथि कहिले पनि विदेशीहरुबाट बिटुलो गर्न दिएन । सार्वभौमसत्तासम्पन्न राष्ट्रलाई बचाएर राखेका छन् । यो विश्वभरका नेपालीहरुले गौरव हो । तेस्रो विशेषता हो– नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य । विश्वको एक मात्र हिन्दु अधिराज्यको नाताले भारत तथा विश्वका हिन्दुहरु नेपाल माथि ठूलो आस्था राख्छन् ।
पृथ्वीनारायण शाहले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलोको बीचमा कस्तो कुटनीति अवलम्वन गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेर भनेका थिए– ‘यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संवन्ध)राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरु हम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्’ भन्ने पृथ्वीनारायण शाहको कति दुर्ददर्शी थिए भन्ने कुरा अहिले दक्षिणको चलखेलबाट स्पष्ट हुन्छ ।
नेपालको एकीकरण गर्नु भन्दा अगाडि यस क्षेत्रमा भएका अनेकौं साना राज्यहरुका जनता अत्यन्त निरंकुस शासनमा जकडिएका थिए । राज्यमा केही कुरामा उचनीच भयो भने, कुनै पहुचवालाले पोल लगाई दियो भने काटिनु पर्ने वा ठूलो सास्ती खानु पर्ने कोही बोल्न नपाउने निरंकुश स्थिति थियो । जव सानाराज्यहरु सबै मिलाएर एकीकरण भयो त्यसपछि साना राज्यका रैती र सबै जातजातीहरुले स्वतन्त्रता प्राप्त गरेको महसुस् गरेका थिए । राष्ट्रिय एकीकरण पछि कुनै पनि राज्यका जनताले अन्यायमा मर्नृु परेन । ’जग्गा माथि रैतीको अधिकार’ भन्ने पृथ्वीनारायण शाहको नीतिले सबै राज्यहरुमा ठूलो प्रभाव परेको थियो ।
नेपालको एकीकरणपछि सबै राज्यका जातजातिहरुको रीतिथिति, संस्कृति, धर्म, भाषा र भेषभूषालाई नेपालकै साझा सम्पत्तिको रुपमा ग्रहण गराइयो । अनेकौं जातीय भाषाहरुको बीचमा नेपालीभाषा व्यापक भइसकेकाले सबै नेपालीहरुको साझा भाषाको रुपमा राज्यको सरकारी भाषाकोरुपमा स्वतः रुपान्तर हुँदा नेपालको राष्ट्र्यि एकतामा थप बल पुग्न गयो । अंग्रेजहरुले यसक्षेत्रमा कब्जा जमाए भने जनताको कस्तो दुराअवस्था होला भन्ने कुराले उनलाई चिन्तित बनाएको थियो ।
नेपाल एकीकरणको सन्दर्भमा कान्तिपुरका राजाबाट केपुचीन पादरी तथा इसाईहरुलाई राखेकाले कान्तिपुरका जनता जयप्रकाश मल्लसँग सशंकित भएको अवस्था थियो । त्यसअवस्थामा जयप्रकाश मल्ललाई इन्कितगर्दै पृथ्वीनारायण शाहले भनेका थिए –‘गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन् । फिरङ्गी भनेको ब्वासो हो । जयप्रकाशले यो मुलुक खाया पनि मैले खाया पनि उस्तै कुरा हो । तर फिरङ्ग भिनेको अर्कै हो’ भनेर यसक्षेत्रका स–साना राज्यका जनतालाई एकताको सूत्रमा आवद्ध गराएका थिए ।
काठमाण्डौं उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहलबाट केपुचीन पादरी तथा इसाईहरुलाई देश निकाला गर्ने काम भयो । यसरी देश निकाला गर्दा इसाईहरु अत्यन्त क्रोधीत भएर पृथ्वीनारायण शाहलाई वदनाम गर्न अनेकौं झूठा कपोलकल्पित आरोप पनि लगाएका थिए । तर पृथ्वीनारायण शाहले आफूले विजय हासिल गरेका राज्यका जनताको संरक्षण र भलाई गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेका थिए । तर पृथ्वीनारायण शाहले भारतमा हिन्दु धर्म र संस्कृतिको नास गराएर हरक्षेत्रमा इसाई धर्म लाद्ने र फिरङ्गीहरुको अत्याचार फैलिन लागेकोमा यहाँका सबै जनता पृथ्वीनारायण शाह जस्ता कर्मठ संरक्षक पाउदा यहाँका सबै जनता अत्यन्तै आशावादी हुन पुगेका थिए ।
नेपालअधिराज्यको एकीकरणपछि पृथ्वीनारायण शाहका पुरोहित शक्तिवल्लव अर्यालले मुक्तकण्ठले यसक्षेत्रको प्रसन्सा गर्दै लेखेका थिए– ‘जौन नेपालराज्य विषये हिमाल पर्वतका कन्दरादेखि…चारैतिरबाट मुनिजनहरुले सेवा गरिएका कौसिकीका धारा वेगले बहन्छन्, जहाँ प्रख्यात भएका नीलकण्ठ विराजमान भयाका छन्, सोही नेपाल देश हो । जहाँ हिमालपर्वतकी पुत्री गुह्रेकाली विराजमान भयाकी छन्, जहाँ पूण्या भयाकी बागमती छन् जहाँ पशुपतिका प्रत्यक्ष भयाका शिवलिङ्ग छन्, जहाँ चाँगुनारायण छन्, जहाँ सम्पूर्ण भयकन ह¥न्या बज्रयोगिनी छन्,जहाँ पञ्च लिङ्गेश्वर पचली भैरव छन् ।’ दुईसय पचास बर्ष अगाडि यसरी उल्लेखित वाक्यहरुको मनन् गर्दा थाहा हुन्छ साच्चै नैं प्राचीन समयदेखि नैं हिमवतखण्ड नेपाल असली हिन्दुस्थल नैं थियो ।
हिमतखण्डका स–साना पवित्र राज्यहरुको बेलेमा अस्मिता र पहिचान जोगाएर राख्नसक्ने पृथ्वीनारायण शाह एक युगपुरुष हुन् । राष्ट्रका पहिचान जोगाएर देश निर्माणमा सरिक हुनु राजनीति तथा राजनीतिक नेताहरुको कर्तव्य हो । तर नेपालमा २०६३ सालपछि पृथ्वीनारायण शाह र एकीकृत हिन्दु अधिराज्यप्रति वदलाको भावना राखेर भारत लगायत पश्चिमका इसाई राष्ट्रहरुले नेपालका माओवादी? क्ँंग्रेस, एमाले पार्टीका केही गद्दार नेताहरुलाई आर्थिक सजायताकासाथ प्रयोग गरेर पृथ्वीनारायण शाह जस्ता युगपुरुषको अपमानगर्दै नेपालमा नैं जन्मिएका कुलंगारहरुबाट शालीक भत्काए । माओवादीभित्र धेरैजसो क्रिस्चियन भएकाले उनीहरु मार्फत नेपालको अस्मिता तोडन राष्ट्र निर्माताको शालीक भत्काउने, नेपालको राष्ट्रिय दिवस खारेज गर्नमा सरिक गराइयो ।
जनयुद्धकालमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक ढान्न लगाउने र गाउँ–गाउँमा गाई खाट्न लगाएर दशभक्त नेपालीलाई आतंकित बनाउने गोर्खामा नैं जन्मिएका बाबुराम भट्टराईकै निर्देशनमा भएको थियो ।
पृथ्वीनारायण शाहले हिमवतखण्डका थुपै्र स–साना हिन्दु राज्यहरुको अस्मिता बचाउन जुन महान योगदान गरेका थिए त्यसलाई मेटाउन २०६३ सालमा माओवादी सत्तामा आएपछि बाबुराम भट्टराई अर्थमंत्री बनेपछि इन्द्रजात्रामा व्यवस्था गरिएको सरकारी बजेट रोक्का गर्ने काम गरे । यसबाट सारा हिन्दु तथा बौद्धहरु आक्रोशित बनेर सरकारको बिरुद्ध संगठित बनेपछि पछि वाध्य भएर वजेटलाई यथावत कायम गरे । २०६३ सालमा माआोवादी नेता पुष्पकमल दाहाल प्रधानमंत्री भएपछि पशुपतिनाथमा अवैधानिक तरिकाले पूजारी भर्ना गरेर नेपालको सास्कृतिक परिम्परा नैं नष्ट गराउन प्रयन्तशील बने । कहिले पनि नरोकिएको पशुपतिनाथको नित्यपूजा एक हप्तासम्म भएन ।
नेपाल जस्तो हिन्दु तथा बौद्ध परम्परा माथि आक्रमण गरेर इसाईहरुलाई खुसी पार्ने कुकर्म गरियो । अव यस्ता राष्ट्रघाती आपराधीक क्रियाकलापहरु तुरुन्त नियन्त्रण गरेर यसक्षेत्रको गौरवमय सांस्कृतिक परम्परा र एकीकृत नेपालको सार्वभौमसत्ता बचाउनु सक्नुपर्छ । यो हिन्दुस्थललाई समाप्त गर्न २०६३ सालको जनआन्दोलनपछि भारतीय गुप्तचरको इशारामा माओवादी बाबुराम भट्टराईले कै दबाबमा गिरिजाप्रसादको मंत्रिपरिषदले राष्ट्रिय एकता दिवस समेत खारेज गराइएयो जुन देशभक्तहरुको लागि निन्दनीय कुरा हो ।
नेपालको सिर्जना गरेर हामीहरुलाई नेपाली भनेर चिनाउने ती युगपुरुषको सम्मानार्थ पोष २७ गते सार्वजनिक विदा यथावत हुनुपर्छ । पृथ्वीनारायण शाहले एकीकरण गरेर उनले दिव्यउपदेश मार्फत विभिन्न जातजाति, धर्म, भेषभूषमा विभाजित नेपालीहरुलाई एक नेपाली जातिमा परिणत गराएका थिए । त्यसैले त्यसबेलादेखि नेपालको राष्ट्रियता यसरी टपक्क फूलेको छ कि नेपाली संस्कृतिको सुबास विश्वभरी फैलिएकोछ । नेपाल सरहद भित्र अनेकौं जातिहरु मिलेर एक साझा सगोलरुपमा एकीकृत भएका छौं । हाम्रो देश सानो भए पनि यहाँ धेरै थरीका जाति छौं। यहाँ कुनै पनि एक जातिलाई होच्याएर र बिर्सेर नेपालको राष्ट्रियता अधुरो हुन जान्छ । हाम्रो देशमा विभिन्न जातिहरुको संझौताबाट साझा नेपालको सांस्कृतिक राष्ट्रियता बनेको छ ।
नेपाल जस्तो एकीकृत सार्वभौम भूमिलाई धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता जस्ता रोग भित्रयाएर टुक्रयाउन खोज्नु जघन्य अपराध हो । नेपालको इतिहासमा समय काल परिस्थितिले हिमवत्खण्ड नेपाल स(साना राज्यहरुमा विभाजित भएकाले यी साना हिन्दु राज्यहरु दक्षिणतर्फबाट अंग्रेजको घेराबन्दीमा पर्ने अवस्था आइरहेको थियो । त्योबेला यस हिमतखण्डमा धेरै स–साना स्वतन्त्र हिन्दुराज्यहरु थिए । ती अधिकांक्ष ५४ भन्दा धेरै साना हिन्दुराज्यहरुलाई गोर्खाका हिन्दु राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर त्यसबेलादेखि बनेको नेपाल विश्वको नैं एकमात्र अधिराज्यको रुपमा स्थापित भएको हो ।
नेपाल साम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो । यो भूमिलाई एकताको सूत्रमा युगयुगान्तरसम्म अटल राख्न यसक्षेत्रका सम्पूर्ण जातिहरुको बीचमा सम्पर्क भाषा र सरकारी लेखापढीको भाषाकोरुपमा आफ्रनै नेपाली भाषा छ, आफ्रनै मुद्रा, मौलिक विक्रम संवत् छ । प्राकृतिक र सास्कृतिक रुपमा नेपाल एक समृद्धशाली भूमि हो । अमेरिका, जर्मन, इटाली, जापान लगायत यस्ता कैयौं देशहरु अन्धकारमा रहेका अवस्थामा पनि पृथ्वीनारायण शाहको दुरदर्शी नेतृत्वको नेर्तत्वको कारणले बेलायती साम्राज्यले यसक्षेत्रलाई आफ्नो कब्जामा राख्न असफल भएको थियो । चन्द्र–सूर्य अंकित झण्डा फहराएर पृथ्वीनारायण शाहबाट हिमवत्खण्ड नेपालको अस्मिता र मौलिकतालाई जीवन्त राख्नसक्ने युगपुरुष हुन् ।
source:
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares