Friday, April 19
Shadow

हिन्दु धर्मवलम्बीको महान चाड विजया दशमी भोलिबाट सुरु हुदै


  • -इ
  • इ+

काठमाण्डौ, असोज २०
केशब श्रेष्ठ
हिन्दु नेपालिहरुको महान चाड विजया दशमी भोलिबाट सुरु हुदै छ । बडा दशैं अर्थात् विजया दशमी  नेपालीहरूको महान चाडकोे रुपमा लिइन्छ ।

राष्ट्रिय चाडको रुपमा समेत मानिने दशैं हिन्दु धर्मवलम्बीहरूले घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ र दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म मनाउने गर्छन् ।

देश विदेश वा टाढा टाढा भएका आफ्ना परिवार, साथिभाइ र आफन्तजनसँग भेटधाट हुने वातावरण सिर्जना हुने यो समयले आफ्नो सुभचिन्तकहरु सँग खुसी र रमाइलो गर्ने सुनौलो अवसर जुटाइदिन्छ । दशैमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई खास अर्थ र महत्वका रुपमा लिइन्छ ।

आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने खुवाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।

शुक्ल प्रतिपदा अर्थात् धटस्थापनाको दिनबाट नवरात्रि सुरु हुन्छ । नवरात्रि आरम्भ भएको दिन जमरा राख्ने प्रचलन रहेको छ । जमरा राख्दा बालुवा मिसिएको माटोमा जौ छरेर नवरात्रिभरिनै हरेक दिन पुजा अर्चना गरिन्छ । दशैमा जमरा राख्ने चलन मौलिक धरोहरको रुपमा चलिआएको छ । इतिहासलाइ हेर्दा मानवले जंगलीयुगको समाप्तीसंगै ब्यवस्थित रुपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो भन्ने मान्यता रहेको छ ।

नवरात्रिको सातौं दिन फूलपाती हो। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका नयाँ पालुवाहरू घर घरमा भित्र्याइन्छ। यसरी नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहदैनन् भन्ने धार्मिक तथा साँस्कृतिक मान्यता रहिआएको छ।

नवरात्रिको आठौं दिन महाष्टमीमा भद्रकालीको विशेष पूजा-आजा गरिन्छ। पूजापश्चात् मानिसहरू नवदुर्गा ,आ-आफ्ना कुलदेवी, देवतालाई पुजा गरी बोका, कुखुरा, राँगो आदि बलि दिन्छ्न्।

नवरात्रिको नवौ दिन महानवमीमा विशेष गरी सिद्धिधात्री देवीको पूजा-आजा गरिन्छ र यसै दिन हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ।

नवरात्रिको दशौ दिनलाई विजयादशमी भनिन्छ। यो दशैंको खास दिन हो । दशैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरु पनि लुकेका छन। विजया दशमी को दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । यस दिन पिङ खेल्यो या भुइँबाट खुट्टा छोड्यो भने मरेपछि स्वर्ग गइन्छ भन्ने मान्यता समेत रहेको छ।

असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यस कारण यस दशमीलाई विजया दशमी भनिएको हो ।

विजयदशमी भगवान् रामको विजय अथवा दुर्गा पूजाको रूपमा यो शक्ति पूजाको पर्व , शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने उदेश्यले दसैँको उत्सव पर्व सुरु भएको हो। दसैँ पर्वले दश प्रकारका पापहरू( काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ।

चाडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछ। हर्ष, उल्लासका साथ आउने र मनाउँने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक तर्फ परिवर्तन गरिदिन्छ । त्यसैले चाडपर्वहरुलाई विशेष महत्वका साथ मनाइने गरिन्छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares