काठमाडौ,मंसिर २३
विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ मंगलबार दिउँसो सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।
विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।
विभाग स्रोतका अनुसार सगरमाथाको हालको ८ हजार ८ सय ४८ मिटर उचाइ केही बढेको छ । कति बढेको भन्ने अहिले बाहिर ल्याइएको छैन । विभागले दिउँसो १: ३० मा पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने कार्यक्रम तय गरेको विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए ।
सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो । सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।