बाँचेको छु
तिम्रो शहरमा
एक मुठ्ठी श्वास बोकेर
मान्छे भित्र मानव खोज्दै
भौतारिदै र लतारिदै
अभागी जुत्ताको
तलुवा खियाउँदै
बाँचेको छु !
उही तिम्रो शहरमा !
भोक त भूलीसकेछु
प्यास मेटाउने तिर्सनामा
थकान त के भयो र !
पाटी पौवा नै लिलामीमा चढेपछी !
खिस्स दाँत देखाएरै भए पनि
अभाव त झन् छोपेकै छु !
तर पनि म बाँचेको छु
उही तिम्रो शहरमा !
दौरा सुरुवाल लाएर पनि
नाङ्गै देखिने भिडहरुमा
झुत्रो मुत्रो लाएर पनि
लाज त ढाकेकै छु !
शान्तिको धुन बजाउँदै
न्याय कुल्चने शहरमा
आफ्नै लागि कात्रो बोकेर
म बाँचेको छु!
मुर्दा शान्ति छाएको
उही तिम्रो शहरमा !!
उपेन्द्र तिमिल्सिना
कागेश्वरी मनोहरा -५ , काठमाडौं