काठमाण्डौँ, चैत्र २०
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एएफसीकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् ।
एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको एएफसी इन्टरनेसनल प्लेअर अफ दि विकमा किरणसहित १० खेलाडी मनोनयनमा परेका हुन् ।
यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी समेत बने ।
एएफसीले पछिल्लो भएका भएका खेलहरुमा गरेको प्रदर्शनका आधारमा यो सूची सार्वजनिक गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबार सम्पन्न थ्री नेशन्स कपमा नेपालले उपाधि जित्दा किरण कप्तान थिए ।
उनको कप्तानीमा नेपालले पहिलो उपाधि जितेको थियो । जसमा तीन खेल खेल्दा किरणले दुई क्लिनसिट राखे भने एक गोल मात्र व्यहोरे ।
त्यही प्रदर्शनको आधारमा एएफसीले किरणलाई पनि मनोनयनमा राखेको जनाएको छ ।