जनकपुर, चैत ४ । बारामा पारिवारिक तथा जग्गा सम्बन्धी विवादका कारण १४ वर्षीय बालकको हत्या गरिएको छ । हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ ।
जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुही टोलका १४ वर्षीय बालक शाहिद मंसुरीको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुही टोल बस्ने २५ वर्षीय कियामुद्दिन मंसुरी, सोही स्थानका २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेदिन मियाँ अन्सारी रहको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनका अनुसार उनीहरुले गत फागुन ११ गते बालक मंसुरीको हत्या गरी वडा नम्बर १० बेहरा टोलस्थित खाल्टोमा पुरेको अनुसन्धानबाट खुलेको छ ।
घरबाट बेपत्ता भएका बालक मंसुरीको शव गत फागुन २८ गते फेला परेको थियो ।