Tuesday, April 23
Shadow

महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको सङ्ख्या


  • -इ
  • इ+

काठमाडौँ , फागुन २६ । कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ ।

विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको सङ्ख्या पनि अहिलेसम्म करिब १०० मात्र रहेको कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिए ।

विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गर्नुभएको अभिलेख कार्यालयसँग छ । नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गर्नुभएको जनाइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल पनि विगत वर्षमाभन्दा साधुसन्तको सङ्ख्या यसपटक ५० प्रतिशतले नै घटेको बताउछन् । महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तका लागि संस्थानले फाल्गुन कृष्ण एकादशी अर्थात् फागुन २५ गते बेलुकीदेखि भोजन, धुनी र बस्ने व्यवस्था गरिसकेको छ ।

फाल्गुन कृष्ण औँसीसम्म साधुसन्तलाई सत्कार गरेर राखी दक्षिणासहित बिदाइ गर्ने प्राचीनकालदेखि विधि छ । दक्षिणासहित बिदाइ गर्ने दिन साधुसन्तको सङ्ख्या बढ्ने गरेको संस्थानको पशुपति गोश्वारा कार्यालयले जनाएको छ । बिहीबारको महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको कोषले जनाएको छ ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपति आउने भक्तजनका लागि कोषले मास्क अनिवार्य गरेको छ । कोरोनाका जोखिम कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर दर्शनमा आउन आह्वान गरिएको छ । यस वर्ष स्वास्थ्य मापदण्ड पूरा गरेर करिब आठ लाख भक्तजनलाई दर्शन गराउने कोषको तयारी छ ।

 

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares