काठमाडौं, फागुन १८ । सरकारले थप ५० लाख डोज कोरोना खोप ल्याउने भएको छ । यसका लागि प्रक्रिया थालीसकिएको बताएको छ ।
नेपालमा थप ५० लाख डोज खोप ल्याउन लागिएको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले दिएको जानकारी दिएका छन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा थप खोप खरिदका लागि प्रक्रिया सुरु भइसकेको सचिव अर्यालले बताए ।
नेपालले अहिलेसम्म जिटुजी मार्फत २० लाख डोज खोप खरिद गरिसकेको छ । जसअन्तर्गत पहिलो खेप १० लाख डोज नेपालमा ल्याइसकिएको छ । बाँकी १० लाख डोज पनि ल्याउने प्रक्रियामा छ ।
यसअघि भारतले १० लाख डोज र चीनले ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरिसकेका छन् ।
मन्त्रालयका अनुसार ३ लाख डोज खोप यही हप्ता र थप १० लाख खोप १५ दिनभित्र आउनेछ । हाल मन्त्रालयसँग रहेको र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज ल्याएपछि अर्को चरणको खोप कार्यक्रम ल्याइनेछ ।