Thursday, April 25
Shadow

जस्तोसुकै परिस्थितमा पनि दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ओली


  • -इ
  • इ+

काठमाडौँ , फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितमा पनि आफूहरु दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आयोजना गरेको ‘नेपालको डिजिटल माटो नक्साङ्कन’ उद्घाटन कार्यक्रममा उनले आफूले लिएको जिम्मेवारी पूरा गर्न जहाँ रहे पनि लागिरहने बताएका हुन् । सर्वोच्च अदालतले मङ्लबार गरेको फैसलाका कारण हतास हुनुपर्ने कारण नभएको जनाउँदै उहाँले जिन्दगी नै अनिश्चित भएकाले आफूमा कुनै दम्भ र भ्रम नरहेको स्पष्ट गरे । “को मान्छे कति बेला मर्छ थाहा छैन तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ।” उनको भनाइ थियो ।

आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमा पूर्वाधार र आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री ओलीले बताउँदै उनले कतिपय व्यक्ति सुरुङ र पानीजहाजका कुरा गर्दा पहिले हाँसे पनि अहिले नेपालमा कतै सुरुङ बन्न शुरु भइसकेको र कतै प्रक्रियामा रहेको जनाए । उनले पूर्व–पश्चिम जोड्ने चारवटा राजमार्ग तीव्रताका साथ निर्माण भइरहेको बताउँदै भने, “हामीले पूर्वपश्चिम नै जोड्ने रेलमार्ग निर्माण अघि बढाइरहेका छौँ ।”

आगामी आर्थिक वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताए । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने र सन् २०२२ सम्ममा देशलाई विकासोन्मुख मुलुकमा रुपान्तरण गर्ने लक्ष्य लिइएको उनले उल्लेख गरे । विभिन्न कृषिजन्य उत्पादनको उत्पादकत्व बढिरहेको उनले उल्लेख गरे । उनले भने, “माछा, मासु, तरकारी र दूधको उत्पादन बढिरहेको छ ।”

नेपाल खाद्यबालीमा आत्मनिर्भर भए पनि सौखिन खानाका कारण आयात भइरहेको उनले बताए । ताजा चामल खान छाडेर मेसिनले बनाएको लामो सिता चामल खाने बानीका कारणले विदेशबाट चामल आयात गर्नुपरेको उनले उल्लेख गरे । ग्रामीण भेगमा पहिलो वर्षको अन्न बीउका लागि र दोस्रो वर्षको अन्न खाने र त्योभन्दा पहिलेको अन्न पौष्टिक तत्व कम भएको भन्दै नखाइने उनले बताए । उनले भने, “तर अहिले मेसिनले लामो सिता बनाएपछि पाँच वर्ष पुरानो अन्न पनि खाइएको छ ।”

माटोको अवस्थाबारे तयार पारिएको डिजिटल नक्साका कारण किसानले आफ्नो माटोको अवस्थाका बारेमा बुझेर समस्या भएमा समाधानका उपायका विषयमा विज्ञसँग सल्लाह लिनसक्ने उनले बताए । कृषिमा उपकरणको प्रयोग बढाएर जनशक्ति घटाउनुपर्नेमा उनको जोड छ । अहिले कृषिमा जति जनशक्ति क्रियाशील छ त्यो जनशक्ति अन्यत्र लगाउन सकिने उनको भनाइ छ । उनले भने, “कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदा मात्रै लागत कम गरेर उत्पादन बढाउन सकिन्छ ।”

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले सिङ्गो देशको नै माटोको अवस्थाको नक्सा प्रकाशित गर्ने नेपाल दक्षिण एशियाको पहिलो देश हुनु हामी सबैका लागि गर्वको विषय भएको उल्लेख गरे । अरु देशले सीमित क्षेत्रको मात्रै यस्तो नक्सा प्रकाशित गरेकामा नेपालले देशभरको नक्सा प्रकाशित गरेको उनको भनाइ छ ।

विगतमा कृषिमा काम गर्नेलाई हेयका दृष्टिले हेर्ने गरेको भए पनि अहिले बिस्तारै त्यसमा परिवर्तन आइरहेको उनको भनाइ छ । उनले भने, “यो तीन वर्षमा यो क्षेत्रमा धेरै कुरा बदलिरहेको छ ।”

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares